पोल्याण्डका नेपालीहरुका ४० समस्या रक्षामन्त्री पोख्रेलको हातमा

  पहिलोपेज

 300 पटक हेरिएको

काठमाडौं, २३ भदौ । पोल्याण्डको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई त्यहाँ बसोबास गर्दै आएका गैरआवासीय नेपालीहरूले पोल्याण्डसँग श्रम सम्झौता गर्ने माग गरेका छन् । शुक्रबार नेपाली समुदायले गरेको अन्तक्र्रियामा त्यहाँ रहेका नेपाली समुदायका अगुवाहरुले नेपाल सरकारसँग श्रम सम्झौता नभएकाले ठूलो नेपाली समुदायलाई विभिन्न समस्या परेको गुनासो गरेका थिए ।

नेपाली समुदायका अगुवाहरुले दुई देशबीच श्रम सम्झौता नभएकाले आकर्षक पारिश्रमिकबाट बन्चित भएको भन्दै उनीहरुले नेपाल आवतजावतमा समेत कठिनाइ भइरहेको गुनासो गरेका थिए । गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष डा. एलिना पोखरेल सुवेदीले पोल्याण्डसँग नेपालको श्रम सम्झौता नभएकोले नेपाल आवतजावत गर्ने कठिन भएको भन्दै परिवार ल्याउन समेत कठिनाई भएको बताएकी थिइन् । उनले उपप्रधानमन्त्री पोखरेलको भ्रमण नेपालको तर्फबाट अहिलेसम्मकै उच्च तहको भ्रमण भएकोले यसमा उचित पहलकदमी हुने विश्वास समेत व्यक्त गरेकी थिइन् ।

अन्तक्र्रिया कार्यक्रममा नेपाली समुदायले भोग्नु परेका समस्या समेटिएको ४० बुँदे ज्ञापनपत्र उपप्रधानमन्त्री पोखरेललाई बुझाएका थिए । नेपालीहरु पोल्याण्ड जानु पर्दा भिषा आवेदन गर्न दिल्ली जानुपर्ने समस्या छ । यसबारेमा उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड सरकारसँग औपचारिक रुपमै पहल र प्रयत्नप्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पोल्याण्डमा रहेका नेपालीहरुका समस्याको समाधानका निम्ति सरकारले तत्कालै पहल र प्रयत्न अघि बढाउने बताए । पोख्रेलले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएको बताउँदैं अबको सरकारको लक्ष्य आर्थिक विकास र समृद्धि मात्रै रहेकोले त्यसमा सहयोग गर्न नेपाली समुदायलाई आव्हान पनि गरेका थिए ।

“राजनीतिक लडाईको अभिभारा पूरा गरेर हामी मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढाउने कुरा गरिरहँदा निश्चय पनि तपाईहरुको साथ र सहयोगको अपेक्षा हामीले गरेका छौं”, पोखरेलले भने, “तपाईहरुको लगानी र सीप आफ्नै मुलुकमा प्रयोग गर्नुस र त्यसमा सरकारले त्यसमा तपाईहरुलाई सम्पूर्ण रुपमा सहयोग गर्ने तयार छ ।” रक्षामन्त्री पोख्रेलले सरकारले अघि सारेको “सुखी नेपाली ः समृद्ध नेपाल”को अभियानमा सहयोगी भूमिका खेलिदिन त्यहाँका नेपाली समुदायलाई आव्हान पनि गरे । विदेशमा रहेका नेपालीहरुलाई पार्टी र सिद्धान्तको नाममा विभाजित नभई एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरे ।

साताव्यापी कार्यक्रमका निम्ति लेवनान हुँदै पोल्याण्ड पुगेका पोखरेल शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार