पोलिस सेनालाई तालिम उपलव्ध गराउन नेपाल तयार : रक्षामन्त्री पोख्रेल

  पहिलोपेज

 542 पटक हेरिएको

काठमाडौं । पोल्याण्डको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पोल्याण्डका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका निम्ति संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गरेका छन् । बुधवार भएको दुईपक्षीय भेटवार्ता र छलफलमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले आफ्नो मुलुकले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन इच्छुक रहेको दोहो¥याएका थिए ।

“नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सैन्य छात्रवृत्ति र सामग्री उपलब्ध गराउन हामी इच्छुक छौं”, रक्षामन्त्री व्यास्टाकले भने, “हाम्रो मुलुक तपाईहरूसँग संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्दछ ।” हालसम्म चीन, भारत, अमेरिका, बेलायत र पाकिस्तानलगायतका मुलुकसँग मात्रै नेपाली सेनाले संयुक्त अभ्यास गर्दै आएको छ । यस वर्षदेखि श्रीलंका पनि थपिएको संयुक्त सैन्य अभ्यास गर्ने मुलुकमा थपिएको छ ।

राजनीतिक स्थिरतासँगै अब नेपाल आर्थिक विकास र सम्वृद्धिको बाटोमा लम्कने विश्वास व्यक्त गर्दै त्यसका निम्ति आवश्यक सहयोग गर्न पोल्याण्ड सद्धैव तत्पर रहेको पोल्याण्डका रक्षामन्त्रीले आफ्ना समकक्षी पोखरेलसँग व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सञ्चालन गर्ने स्टाफ कमाण्डो तालिम, माउन्टेन वायरफेर तालिम र प्यारा वेसिक तालिम पोलिस सेनालाई उपलब्ध गराउन नेपाल सरकार र नेपाली सेना तयार रहेको बताएका थिए । भूकम्पको समयमा पोल्याण्डका तर्फबाट नेपाली जनतालाई गरेको सहयोगका निम्ति धन्यवाद व्यक्त गर्दै पोख्रेलले नेपालीहरुका लागि भिषा आवेदन प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए ।

“पोल्याण्ड आउन चाहने नेपालीहरुका लागि भिषा आवेदन दिन भारतको दिल्ली पुग्नुपर्ने अवस्था छ”, उपप्रधानमन्त्री पोखरेलले भने, “नेपालबाटै भिषा सुविधा उपलब्ध गराउन सकियो भने यहाँ आउने नेपालीलाई सहज हुने थियो ।” साथै, उपप्रधानमन्त्री पोखरेलले पोल्याण्ड सरकारले नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि यसअघि पोल्याण्ड सरकारले दिँदै आएको छात्रवृत्ति पुनः सुचारु गर्न आग्रह गरेका थिए । १९९३ भन्दा अघि पोल्याण्डले चिकित्सक अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो ।

प्रत्युत्तरमा पोल्याण्डका रक्षामन्त्री व्यास्टाकले आफूलाई यस विषयमा गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिंदै यी सबै विषयमा छिट्टै पहलकदमी लिने बताए । उनले शिक्षाको क्षेत्रमा केही सहयोग उपलब्ध गराउने बचनबद्धता पनि व्यक्त गरे ।

पोल्याण्ड भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले पोल्याण्डमा आयोजना भइरहेको “डिफेन्स एक्स्पो”को अवलोकन गर्नेछन् । एक्स्पोमा सैन्य सामग्री र प्रविधि निर्माण गरिरहेका विश्वभरिका अग्रपंक्तिका कम्पनीहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार