जिल्लास्तरीय कराँतेमा ८ स्वर्णसहित मिसन डोजो बुटवल च्याम्पियन

  पहिलोपेज

 713 पटक हेरिएको

रुपन्देही, १९ भदौ । रुपन्देहीको सियारी ७ अमवास्थित रोज वर्ड एकेडेमीको प्राङ्गणमा प्रथम पदमबहादुर सिंजाली स्मृति जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जिल्लाभरिका १७ वटा टिमले भाग लिएकोमा ८ स्वर्ण पदकसहित मिसन डोजो बुटवल टिम च्याम्पियन भएको छ ।

प्रतियोगितामा १७ स्वर्ण, ३८ रजत र ७६ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा ८ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित मिसन डोजो बुटवल टिम च्याम्पियन बन्न सफल भएको हो । त्यस्तै, ५ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित रोज वड डोजो दोस्रो च्याम्पियन बन्न सफल रह्यो । प्रतिस्पर्धाको विभिन्न विधाअन्तर्गत महिला उत्कृष्ट खेलाडीको उपाधि मिसन डोजोकी शिवानी बस्नेतले हात पारिन् भने पुरुष उत्कृष्ट खेलाडीको उपाधि रोज वड डोजोका रेशम अर्यालले प्राप्त गर्न सफल भए । उदीयमान खेलाडीको उपाधि भने रोज वड डोजोकै आकाश थापाले प्राप्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा केन्वाकाईका केन्द्रीय उपाध्यक्ष रवि राना, स्व. गुरु पदमबहादुर सिंजालीकी धर्मपत्नी ज्ञानकुमारी सिंजाली रहेका थिए । अतिथिको रुपमा नेपाल कराँते महासंघका केन्द्रीय सदस्य अमिर राई, केन्वाकाईका केन्द्रीय सदस्य एवं ए.के.फ. रेफ्री सन्दीप थापा, कराँते खेलाडी होम गुरुङ, गोजुरियो मिसनका अध्यक्ष काजी राना, केन्वाकाई रुपन्देही जिल्ला सल्लाहकार श्रीप्रसाद थापा, रोज वर्ड एकेडेमीका अध्यक्ष भरत अर्याल, प्राचार्य कृष्ण गौतम, प्रबन्ध निर्देशक हेम खत्री, सह–प्राचार्य अशोक घिमिरे, जनता मा.वि.का शिक्षक अविराम वि.क., त्रिवेणी नि.मा.वि.का प्रधानाध्यापक मथुरा यादव, स्थानीय अभिभावक यमबहादुर मगर र विजेन्द्र अर्याल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सागर थापाले गरेका थिए ।

कार्यक्रममा खेलाडी प्रशिक्षक, अतिथि तथा खेलप्रेमी दर्शकहरु गरी करिब ८ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम आयोजक समितिले जानकारी गराएको छ । कराँतेका प्रशिक्षक स्व. पदम बहादुर सिंजालीको सम्झनामा जापान गोजु रियो कराँते डो केन्वाकाई नेपाल संघ रुपन्देही शाखाले आयोजना गरेको उक्त कार्यक्रम संयोजक मेखबहादुर क्षेत्रीको सभापतित्व तथा सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार