बाटोमै किशोरी बलात्कार गर्ने श्रेष्ठ किन पुगे प्रहरी खोज्दै ?

  पहिलोपेज

 1537 पटक हेरिएको

काठमाडौं, १८ भदौ । श्रृङ्खलावद्ध बलात्कार घटनाहरुमा बलात्कारका आरोपीहरु भाग्दै गरेको र कतिपयलाई प्रहरीले पक्राउ गर्ने र कतिपयको खोजीको क्रम जारी छन् । मोरङको एउटा बलात्कारको घटनामा भने अचम्मै भएको छ । मोरङमा अभियुक्तले नै प्रहरी खोज्दै प्रहरी कार्यालयमा पुगेका छन् ।

बलात्कारका श्रृङ्खलावद्ध घटना भइरहेका बेला मोरङकी एक बालिका बीच बाटोमै बलात्कारको शिकार भएकी छन् । गरिबीको कारण घरको काममा सघाउन भनेर काठमाडौं हिँडेकी मोरङको केराबारी– ९ की एक बालिकालाई काठमाडौं लैजाने व्यक्तिले नै बाटैमा बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो ।

साधरण लेखपढ गर्न मात्र सक्ने बालिकाले ठूलो घरपरिवारमा काम गर्दा राम्रै हुन्छ भन्ने ठानेर उनकी आमाले पनि उनलाई काठमाडौं पठाएका थिए । बालिकाको घरको कमजोर अवस्था भएकै कारण कतै भविष्य बन्छ कि भनेर घर सल्लाहमा काठमाडौ जाँदै गरेकी थिइन् । तर काठमाडौ नपुगी बालिकामाथि बीच बाटैमा बलात्कार भएपछि घरपरिवार र बालिकाको झिनो सपना पनि चकनाचुर भएको छ ।

घटनाअनुसार काठमाडौका राजेन्द्र श्रेष्ठले अभिभावकको सहमतिमै बालिकालाई काठमाडौंमा लैजाँदै थिए । करीव ६० वर्षका श्रेष्ठको श्रीमती दुर्घटनामा परेर काम गर्न नसकेपछि बालिकालाई घरमा काम गर्न काठमाडौ लैजाँदै थिए । मोरङ केराबारी– ९ घंघरुमा श्रेष्ठका आफन्तहरु भएका कारण त्यहाँ आउने जानेक्रममा बालिकाका आमासँग भेट भएको थियो । त्यसपछि श्रेष्ठले बालिकाका परिवारसँग कुराकानी गरेर काठमाडौंस्थित आफ्नो घरमा काम गर्नका लागि बालिकालाई लिएर गएका थिए । बालिकाको आमाले पनि छोरीलाई सोधेर नै श्रेष्ठको जिम्मामा काठमाडौं पठाएका थिए ।

भर्खरै १६ वर्ष लाग्दै गरेको बालिकालाई श्रेष्ठले यही भदौ १३ गते सुन्दरहैंचास्थित उनको माइलो भाइको घरमा राखेका थिए । त्यसको भोलिपल्ट उनले बालिकालाई मोटरसाइकलमा राखेर काठमाडौंतिर लागेका थिए ।

पीडित बालिकाले दिएको बयानअनुसार बालिकालाई इटहरीदेखि पश्चिम लागेपछि श्रेष्ठले यौनजन्य कुराकानी गर्न थालेका थिए । श्रेष्ठले “तिम्रो मिन्स भएको छ÷छैन” जस्ता कुरा सोधेको बालिकाले प्रहरीलाई बताएकी छन् । बर्दिबास पुगेपछि श्रेष्ठले “मेरो छोरीको घर छ” भनेर बालिकालाई बाटैमा राखे । त्यसपछि होटलभित्र छिरेका श्रेष्ठ करिब आधा घण्टापछि आएर आफूलाई होटेलमा लिएर गएको बालिकाले बताएकी छन् । कोठामा लगेपछि श्रेष्ठले जबरजस्ती करणी गरेको बालिकाले बताइन् । बलात्कारपछि श्रेष्ठ कोक किन्न बाहिर निस्केको मौका छोपेर श्रेष्ठकै व्यागमा रहेको करीव ४ हजार नगद निकालेर बालिका बसपार्कतिर भागेकी थिइन् ।

कोठाबाट बालिका भागेपछि अत्तालिएका श्रेष्ठले “मान्छे खोजी गरिपाऊँ” भनेर बालिकाको हुलियासहित प्रहरीमा रिपोर्ट गरे । बालिकालाई गाडी चढ्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले भेट्टाएका थिए । ट्राफिकले बालिकालाई सोधपुछ गर्न थालेपछि आफूलाई खोज्ने मान्छेले बलात्कार गरेको जानकारी गराएपछि घटनाले अर्को मोड लिएको थियो ।

बालिकाको बयान सुनेपछि प्रहरीले नै “तपाईको मान्छे फेला पर्यो” भनी श्रेष्ठलाई फोन गरेर इलाका प्रहरी कार्यालयमा बोलाएका थिए । लगत्तै श्रेष्ठ प्रहरी कार्यालयमा पुगे र पक्राउ परे । इलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार मोरङबाट बालिकाकी आमा पुगेर प्रहरीमा जाहेरी दिएकी छन् । श्रेष्ठ विरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर भएको छ । घटना बर्दीवासमा भएकाले बर्दीवासकै प्रहरीले मुद्दा हेर्ने प्रहरीले बताएको छ । पीडित बालिकालाई ओरेक नेपालले संरक्षण दिने तयारी गरिरहेको ओरेक नेपालकी निर्मला राईले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार