आठ पटकसम्म स्थगित भएको धरहरा पुनः निर्माणको ठेक्का आज खुला गरिएको छ

  पहिलोपेज

 312 पटक हेरिएको

काठमाडौँ । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित भएपछि आज खुला गरिएको छ । धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायी संस्थाले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायी मात्र पास भएको थियो ।

पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति आठ पटकसम्म रोकिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ ।

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टिमेट तयार भएको थियो । यसअघि नेपाल टेलिकमलाई धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनः निर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताए ।

हुलाकलाई भवन खाली गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने प्राधिकरणका सहसचिव मानन्धरले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार