आँखा झिम्क्याएको क्लीपबाट चर्चित बनेकी अभिनेत्री वारियरलाई भारतको सर्वोच्च अदालतले दियो राहत

  पहिलोपेज

 407 पटक हेरिएको

आँखा झिम्क्याएको भिडियो क्लीपबाट चर्चित बनेकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई भारतको सर्वोच्च अदालतले राहत दिएको छ । उनको आगामी फिल््म ‘ओरु अदार लभ’ लाई लिएर उनीविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दालाई अदालतले खारेज गरिदिएको छ ।

सो फिल्ममा ‘मानिक्य मलाराया पूवी’ बोलको गीतलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै फिल्म निर्माता र नायिका प्रिया प्रकाशमाथि हैदरावादमा केही युवाहरुले एफआईआर दायर गरेका थिए । प्रिया प्रकाशको भिडियो क्लीप भाइरल भएपछि उक्त एफआईआर दायर भएको थियो ।

हैदराबादमा दायर एफआईआरविरुद्ध प्रिया प्रकाशले सर्वोच्च अदालतको ढोका ढक्ढकाएकी थिइन् । मुख्य न्यायधिश दिपक मिश्राले उनको निवेदन स्वीकार गरेका थिए । मिश्राले उजुरीकर्ताहरुको आलोचना गरेका छन् । वकिलमाथि निशाना साँध्दै उनले भने, ‘कसैले फिल्ममा गीत गायो र तपाईं सिकायत गर्न आउनुभो । तपाईंको अरु काम छैन कि क्या हो ?’

प्रियाले सर्वोच्चमा दायर गरेको निवेदनमा भनिएको थियो कि यो सांस्कृतिक गीत उत्तरी केरलाको मालबार क्षेत्रमा मुस्लिमहरुले गाउने गर्छन् । यसलाई उजुरीकर्ताहरुले गलत तरिकाले लिएको उनको गुनासो थियो । फिल्म रिलिज पनि नभएको अवस्थामा गीतविरुद्ध उजुरी गर्नु जायज नभएको पनि उनले बताएकी छन् ।

फेब्रुअरी २०१८ मा ‘ओरु अदार लभ’ को टिजर रिलिज भएको थियो । यसमा प्रियाले आफ्ना को स्टारलाई आँखा झिम्क्याएको दृष्य छ, जुन इन्टरनेटमा भाइरल बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार