भारतको भूमिकाले सार्क मरणासन्न, विकल्पमा बिम्स्टेक : मोहनविक्रम सिंह

  पहिलोपेज

 563 पटक हेरिएको

काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतीय विस्तारवादको भूमिकाकै कारण दक्षिण एशियाली सहयोग संगठन (सार्क) मरणासन्न अवस्थामा पुगेको बताएका छन् । महामन्त्री सिंहले प्रेस विज्ञप्ति जारी गरी भारतले सार्कको विकल्पमा बिम्स्टेक अगाडि सारेको आरोप लगाएका छन् ।

भर्खरै १८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको बिम्स्टेक शिखर सम्मेलनबारे पार्टीको धारणा सार्वजनिक गर्न जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “उक्त सम्मेलनको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण र विचारणीय प्रश्न यो हो कि भारतले सार्कलाई निस्क्रिय बनाउनका लागि प्रयत्न गरिरहेको छ र त्यसको विकल्पका रुपमा बिम्स्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको छ ।” सार्कको स्थापनाको बेलामा आफ्नो पार्टीले भारतीय विस्तारवादले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गर्ने बताएको तर एकातिर, पाकिस्तान, अर्कातिर, चीनका कारणले सार्कमाथि आफ्नो प्रभूत्व कायम गर्नु वा त्यसद्वारा आफ्ना विस्तारवादी उद्देश्य पूरा गर्नु भारतलाई सम्भव नभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ,“त्यसैले त्यसले तत्काल हुने भनिएको सार्कको सम्मेलनलाई हुन दिएन र त्यसको ठाउँमा बिम्स्टेकलाई अगाडि बढाउने प्रयत्न गरिरहेको छ । त्यसमा भारतसित प्रतिस्पर्धा गर्नसक्ने पाकिस्तान वा चीन जस्ता कुनै देश छैनन् । त्यसैले त्यसले बिम्स्टेकसित सम्बन्धित देशहरुमा आफ्नो प्रभाव बनाउन सक्ने छ भन्ने आशा गरेको देखिन्छ ।”

विज्ञप्तिको बाँकी पाठ
“काठमाडौंमा सम्पन्न बिम्स्टेकको सम्मेलनमा नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले बिम्स्टेक सार्कको विकल्प नभएको, तर दुबै एक अर्काको पुरक भएको बताएका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि उनको त्यस प्रकारको अभिव्यक्तिले भारतीय विस्तारवादी दृष्टिकोणसित मेल खान्न । तैपनि ओलीले त्यस प्रकारको विचार प्रकट गरेर एउटा प्रशंसनीय कार्य गरेका छन् । त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि अहिले नेपाल नै सार्कको अध्यक्ष छ । त्यो अवस्थामा ओली पाकिस्तानमा हुने भनिएको सार्कको सम्मेलन बनाउन असमर्थ हुन्छन् र उनको नेतृत्वको कालमा नै त्यसको (सार्कको) विघटन हुन्छ भने त्यो नेपालको कुटनीतिको असफलता नै हुनेछ । तर त्यसका लागि मुख्य दोष नेपालको नभएर भारतको नै हुनेछ । किनभने भारतले सार्कको सम्मेलनबारे अपनाएको गलत दृष्टिकोणका कारणले नै त्यसको सम्मेलन हुन सकेको छैन र त्यसको भविष्य पनि अनिश्चित भएको छ ।

बिम्स्टेकको घोषणापत्रको एक नम्बर बुँदामा नै त्यसका सबै सदस्य देशहरुले एकअर्काप्रति अहस्तक्षेपको नीति अपनाउने भनिएको छ । तर स्वयं भारत नै त्यस प्रकारको नीतिका विरुद्ध भएको कुरा इतिहासले बताउँदै आएको छ । सबभन्दा पहिले त त्यसले नेपालमाथि नाकाबन्दीसहित नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा लगातार हस्तक्षेप गर्दै आएको छ । नेपालको संविधानबारे त्यसले अपनाएको नीति, नेपालको संविधानका विरुद्ध त्यसले चलाएको अन्तर्राष्ट्रिय अभियान, नेपालको तराईलाई विखण्डन गर्नका लागि त्यसले गरिरहेको प्रयत्न सहित दर्जनांै कुराहरुले विमिस्टेकको सम्मेलनको घोषणापत्रमा उल्लेख गरिएको अहस्तक्षेपको नीतिले त्यसका लागि कुनै अर्थ राख्दैन भन्ने प्रष्ट छ । नेपाल बाहेक भारतको भूटान, सिक्किमको नीतिबाट पनि त्यो कुरामा कुनै शंका रहन्न । श्रीलंकामा तामिल बहुल क्षेत्रलाई श्रीलंकाबाट स्वतन्त्र बनाउन गरेको प्रयत्न, कस्मिरमा स्वयं आफू सामेल भएको त्रिपक्षीय सम्झौता अनुसार जनमत संग्रह गराउन त्यसको अस्वीकृति आदिले पनि भारतका लागि अहस्तक्षेपको नीतिले कुनै अर्थ नराख्ने कुरा प्रष्ट छ ।

उक्त घोषणापत्रमा विभिन्न रचनात्मक र विकास कार्यहरुको पनि उल्लेख गरिएको छ । तर त्यसको स्थापना भएको दुई दशकभन्दा बढीको अवधिमा पनि त्यसले त्यस प्रकारका कुनै कार्यहरु गर्न सकेको छैन । त्यस प्रकारको पृष्ठभूमिमा अहिले त्यो घोषणापत्रमा विभिन्न रचनात्मक र विकास कार्यहरु गर्ने जुन प्रतिवद्धता प्रकट गरिएको छ, त्यस प्रकारको प्रतिवद्धता पूरा हुन सक्ने कुरामा शंका गर्ने ठाउ“ छ ।
अहिलेको विमिस्टेक सम्मेलनले बौद्ध सर्कटको अवधारणा पनि अगाडि ल्याएको छ । बिम्स्टेकका धेरैजसो देशहरु बौद्ध धर्मावलम्बी नै छन् । बौद्ध धर्मको केन्द्र नेपाल नै हो । त्यसकारण त्यस प्रकारको अवधारणाबाट यी देशहरुमा पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुग्ने आशा गर्न सकिन्छ । त्यसबाट नेपालको विकासमा पनि धेरै नै मद्दत पुग्ने छ । तर त्यो अवधारणाले पनि कहाँसम्म व्यवहारिक रुप लिन सक्ने छ त्यो विचारणीय प्रश्न हो ।

भारतीय विस्तारवादको भूमिकाका कारणले नै सार्क मरणासन्न अवस्थामा पुगेको छ । भारतले यो कोशिस गर्ने छ बिम्स्टेकका देशहरुले पनि त्यसको प्रभूत्वलाई स्वीकार गरुन् । उनीहरुको त्यस प्रकारको प्रवृत्तिलाई मान्न अस्वीकार गरेमा त्यसको अवस्था पनि सार्कको जस्तै हुने कुराको अनुमान गर्न सकिन्छ । त्यो कुरा जे भएपनि भारतीय विस्तारवाद नै यो क्षेत्रको मुख्य समस्या हो । त्यसैले यो क्षेत्रका सबै देशहरुले त्यसप्रति स्पष्ट दृष्टिकोण अपनाउन सकेमा नै यो क्षेत्रमा वास्तविक शान्ति र स्थिरता कायम हुन वा विकास हुन सक्नेछ । त्यसको विपरीत त्यसप्रति (भारतीय विस्तारवादप्रति) अपनाइने कुनै पनि प्रकारको ढुलमुल र अवसरवादी नीतिले यो क्षेत्रका देशहरुलाई तात्कालिक रुपले मात्र होइन, दीर्घकालीन रुपले पनि नोक्सान नै पु¥याउने छ ।

मिति : २०७५ भाद्र १६ गते

मोहनविक्रम सिंह
महामन्त्री”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार