टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल

  पहिलोपेज

 507 पटक हेरिएको

काठमाडौ, १६ भदौ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाडौमा भएको साधारण सभाले अरविन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

यसैगरी समितिको निवर्तमान अध्यक्ष प्रा.डा. सोमप्रसाद गौचन, उपाध्यक्षमा प्रा. डा. राजेश गौतम, महासचिवमा डा. मीना आचार्य, कोषाध्यक्षमा सुरेस सत्याल, सदस्यहरुमा बाबुराम आचार्य, प्रा.डा.शोभा पोख्रेल, शान्ता मानवी (पूर्वमन्त्री), रथी नेत्रबिक्रम थापा, रामजीप्रसाद उपाध्याय पोख्रेल, पूर्व महालेखापरिक्षक बद्रीबहादुर कार्की निर्वाचित भएका छन् ।

साधारण सभामा प्रगति विवरण प्रस्तुत, लेखापरीक्षण प्रतिवेदन पारित, आगामी बर्षका कार्यक्रमहरुबारे छलफल पनि गरेको थियो । जिउँदा सहिद समेत रहेका औपचारिक रुपमा चीन भ्रमण गर्ने नेपालका पहिला प्रधानमन्त्रीका रुपमा परिचित पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको २५ औं साधारण सभाले नयाँ समिति चयन गरेको हो ।

कार्यक्रमको अन्त्यमा पुनः निर्वाचित अध्यक्ष रिमालले नवनिर्वाचित सदस्यहरुलाई बधाई दिँदै आगामी दिनमा प्रतिष्ठानलाई अग्रगति दिन सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा निर्वाचित अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन कमिटी संयोजकको रुपमा रहेका सीमाविद बुद्धिनारायण श्रेष्ठले माला लगाएर सम्मान गरेका थिए । महासचिवमा निर्वाचित डा. आचार्य पूर्वप्रधानमन्त्री स्व. आचार्यकी पुत्री हुन् । निजामती अस्पताललाई टंकप्रसाद आचार्य निजामती अस्पताल नामकरण गर्न नेपाल सरकारलाई प्रतिष्ठानका तर्फबाट अनुरोध गर्ने बिशेष प्रस्ताव पनि पारित भएको छ ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित महासचिव डा. आचार्यले प्रतिष्ठानलाई अगाडि बढाउन सबैको महत्वपूर्ण भूमिका हुने हुनाले सबैले प्रतिष्ठानलाई अगाडि बढाउन अझ राम्रो बाटो खोज्नुपर्ने बेला आएको बताएकी थिइन् । उक्त कार्यक्रम सञ्चालन प्रतिष्ठानका कार्यकारी निर्देशक गोबिन्द दुलालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार