कर्णालीका मुख्यमन्त्री : ढुङ्गा बोक्दै गारो लगाउँदै, मन्त्री र सचिवहरुको ताल पनि उस्तै

  पहिलोपेज

 596 पटक हेरिएको

काठमाडौं, १५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुलुकका बाँकी ६ प्रदेशका मुख्यमन्त्रीहरुभन्दा भिन्न देखिएका छन् । उनले बाँकी ६ प्रदेशका मुख्यमन्त्री, सरकार र मन्त्रीहरुसामु एउटा उदाहरण समेत प्रस्तुत गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हरेक महिनाको १ र १५ गते जनश्रमदानको रुपमा “श्रम दिन” घोषणा गरेका छन् । यी दिनहरुमा मुख्यमन्त्री शाही आफै जनताको काममा डट्छन् र सरकारका मन्त्री र सचिवहरु पनि त्यसैगरी जनताको काममा सरिक हुन्छन् ।

सरकारले हरेक महिनाको १ र १५ गतेलाइ श्रमदिनका रूपमा घोषणा गरेबमोजिम आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थित सरस्वती टोलमा मुख्यमन्त्री शाही अन्य मन्त्रीहरु र सचिवसहित जनताको काममा डटेको भेटिए । मुख्यमन्त्री शाहीले त्यहाँको बाल विकास केन्द्रको निर्माण कार्य शुरू गरे । मुख्यमन्त्री शाही आफैले ढुङ्गा बोक्दै गारो लगाउँदै गरे भने मन्त्री र सचिवहरुले पनि त्यसै गरेका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरस्वती बालविकास केन्द्रको १ कोठे भवनको शिलायान्यास गरे । २०७० सालको बाढीले बाल विकास केन्द्रको भवनसहित उक्त टोलका सबै घर पूर्णरूपमा बगाएको थियो । केही समयअघि पुनस्र्थापित उक्त टोलमा बजेट अभावका कारण बालविकास केन्द्रको भवन बन्न सकिरहेको थिएन । बालविकास केन्द्रको भवन निर्माणसँगै तटबन्ध निर्माण कार्यको पनि शुरूवात गरिएको छ ।

श्रमदिनका अवसरमा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका थिए । मुख्यमन्त्री शाहीले बाढीपीडित समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसँग महशुस गरेको र स्थायी समाधानका लागि आवश्यक पहल अगाडि बढाइसकेको पनि स्थानीय समुदायलाइ जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार