सञ्चालनमा आयो तुलसीपुरमा झण्डै २ करोड लागतमा मह प्रशोधन उद्योग

  नारायण भण्डारी

 892 पटक हेरिएको

दाङ, १५ भदौ । दाङको तुलसीपुरमा निर्माण भएको मह प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । तुलसीपुर ६ बनकट्टामा निर्माण भएको उक्त मह प्रशोधन केन्द्रको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम एफपी) को पुरक अनुदानमा स्वर्गद्धारी वि. कन्सर्नले निर्माण गरेको मह प्रशोधन उद्योगको उद्घाटन गरिएको हो । उद्योगको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले दाङ मह उत्पादनका दृष्टिले उत्कृष्ट जिल्ला भएको बताएका थिए ।

कार्यक्रममा रिजमका कार्यक्रम निर्देशक गोकर्ण अर्यालले नेपाली महलाई अन्तराष्ट्रिय बजारको माग अनुसारको गुणस्तरीय बनाउन उद्योगमा लगानी गरिएको बताए । उनले उत्पादन बढाउन कृषक र जिल्ला कृषि विकास कार्यालयले प्रयास गर्दै आएपनि रिजमले गुणस्तर बढाउन लगानी गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि अर्यालले महको शुद्घता कायम राख्ने दायित्व कृषकको र मुनाफाको समुचित वितरण गर्ने काम उद्योगको भएको भन्दै दुबै पक्षलाई आफ्नो दायित्व बहन गर्न आग्रह गरे । उनले कुरा ठूला गर्ने तर काम नगर्ने बानीको अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा साविक जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दीपककुमार शर्माले महको गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि शर्माले हिजोको दिनमा मह भए पुग्ने गरेपनि आजका उपभोक्ताले गुणस्तरमा ख्याल राख्ने हुँदा उच्च गुणस्तर कायम राख्न सुझाव दिए । नेपाली मह गुणस्तरीय र अग्र्यानिक हुन सके विदेश निर्यात गर्न सकिनेमा उनले जोड दिए । उद्योगका प्रबन्धक विनोद हमालको अध्यक्षतामा भएको कार्यक्रममा रिजमका जिल्ला अनुगमन अधिकृत हरिप्रसाद शर्मा, माहुरी व्यवसायीहरु माधव केसी, मनिकर्ण न्यौपाने, हरिप्रसाद शर्मा, दीपेन्द्र जोशी लगायतले बोलेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन रामहरि शर्माले गरेका थिए भने स्वागत हरिबहादुर बहकरीले गरेका थिए ।

रिजमको ९४ लाख ४८ हजार ६ सय ८८ रुपैयाँ अनुदान र ९८ लाख ७३ हजार १७ रुपैयाँ उद्यमीको गरी १ करोढ ९३ लाख २१ हजारको लागतमा उक्त उद्योग स्थापना भएको हो । उद्योगले बार्षिक १ सय ९ मेट्रिक टन मह संकलन, प्रशोधन र बजारीकरण गर्ने लक्ष्य राखेको सञ्चालक मोती हमालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार