विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्छ : प्रधानमन्त्री ओली

  पहिलोपेज

 642 पटक हेरिएको

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् ।

विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उनले विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताए ।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, क्रियाशील जनसंख्याबाट सिर्जना हुने अनगिन्ती अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पुर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गरे । यस क्षेत्रका जनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्त गर्नुपर्ने विचार राख्दै उनले भने, ‘‘हामीले विमिस्टेक कार्ययोजनालाई पूर्णरुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले सहस्र्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।’’

आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै प्रधानमन्त्री ओलीले थपे, ‘‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवद्धता अपरिहार्य छ ।”

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उनले हामीले सबैले समृद्ध क्षेत्र, सुखी जनताको अपेक्षा गरेको उल्लेख गरे । कनेक्टिभिटीलाई मजबूत क्षेत्रीय सहयोगको कूँजी बताउँदै कनेक्टिभिटी नै आर्थिक एकीकरणको जग भएको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धन गर्न बुद्धिस्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।

विमिस्टेकलाई यसका कामहरुका आधारमा मूल्यांकन गरिने बताउँदै उनले भने, ‘‘सही नीति, संस्था र स्रोत–साधन अनि दृढ राजनीतिक इच्छाशक्तिले मात्र यसको सफलताको सुनिश्चिता कायम गर्न सक्नेछ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार