कमल थापाले गर्जिदै भने, हिन्दू राष्ट्र पुनःस्थापना हुन्छ, हुन्छ

  पहिलोपेज

 527 पटक हेरिएको

काठमाडौं, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल हिजो पनि हिन्दू राष्ट्र थियो, आज पनि छ र भोलि पनि रहनेछ भन्दै हिन्दूराष्ट्र पुनःस्थापना हुने ठोकुवा गरेका छन् ।

प्रदेश नं. १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएको आरोप लगाए । उनले केही नेताको स्वार्थसिद्धिका लागि नेपाललाई धर्म निरपेक्ष बनाएको उल्लेख गर्दै राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दू राष्ट्रको एजेण्डा बोकेको बताए ।

हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएकोले नेपाली बीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको उललेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट सुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश, जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताए । वैदिक मूल्य र मान्यताअनुसार राज्य चल्नुपर्दछ भन्ने मान्यताका साथ राप्रपाले विदेशी वादको सट्टा राष्ट्रवाद र सम्बर्धनवादलाई दर्शन मानेर नै हिन्दूराष्ट्र पुनःस्थापनाको आन्दोलन सुरु गरेको बताउँदै अध्यक्ष थापाले यो आन्दोलनलाई साथ दिएर सफल बनाउन सम्पूर्ण नेपालीहरुमा आग्रह गरे ।

हिन्दू धर्मको उद्गमस्थल रहेको नेपाललाई अमुक व्यक्तिहरुको स्वार्थसिद्धिकै कारण मुलुकको पहिचान गुम्न नदिन देशमा विद्यमान राजनीतिक पार्टीहरुमध्ये राप्रपाले मात्र हिन्दूराष्ट्रको एजेण्डा बोकेको स्पष्ट पारे । उनले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र पुनःस्थापना गराइछाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख तथा सांसद राजेन्द्र लिङदेनले सदियौंदेखि नेपालको पहिचानको रुपमा रहेको हिन्दूराष्ट्र पुनःस्थापना गर्न पार्टीले सुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गर्दै जनताको साथ र सहयोगले संवैधानिक बाटोबाट नै हिन्दूराष्ट्र पुनःस्थापित हुने बताए । पार्टीका प्रदेश नं. १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उक्त प्रदेशका पार्टीका जिल्ला अध्यक्षहरु, प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय सदस्यहरु, धार्मिक गुरुहरुलगायत हिन्दूराष्ट्र समर्थक जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार