रोल्पामा वडा सदस्यको घर विप्लव नेतृत्वको नेकपाको कब्जामा

  पहिलोपेज

 523 पटक हेरिएको

काठमाडौं, १४ भदौ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बिहीबार रोल्पाका एकजना वडा सदस्यको घरमा झण्डा गाडेर कब्जा गरेका छन् । माडी गाउँपालिका– १, पेदीखोलामा रहेको वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले जनाएका छन् ।

नेकपाको माडी गाउँपालिका प्रमुख खड्काका अनुसार घर्तीले भ्रष्टाचार गरेकाले जनताकै मागबमोजिम स्थानीय “जनसरकार”ले कारवाही गरेको हो । यता, वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र त्यस्तो प्रमाणित भए कानूनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ ।

वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई नेकपाका कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताए । आफूलाई अपहरण गर्नेहरुलाई प्रहरीमा नामसहित रिपोर्ट दिने पनि वडा सदस्य घर्तीले बताएका छन् । आफूले कहीँकतै भ्रष्टाचार नगरेको भन्दै आरोप प्रमाणित गर्न नेकपालाई चुनौती दिएका छन् ।

वडा सदस्य घर्तीले आफू असुरक्षित भएको भन्दै सुरक्षाको समेत माग गरेका छन् । हरिप्रसाद घर्तीसँग स्पष्टिकरण लिएको र सत्यतथ्य छानविनको काम चलिरहेको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताएका छन् । राजनीतिक पूर्वाग्रहकै कारण यस्तो आरोप लगाइएको बताउँदै गाउँपालिकाका अध्यक्ष पुनले कानूनभन्दा कोही पनि माथि नभएकाले विधिसम्मत आउन नेकपालाई आग्रह पनि गरे ।

यता, भ्रष्टाचारका विषयमा चर्चा चल्न थालेपछि सत्ताधारी नेकपाले छानविन समिति बनाएको छ । उक्त विषयबारे जाँचबुझ गर्न विजय घर्तीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको नेकपाका गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार