जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले

  पहिलोपेज

 603 पटक हेरिएको

काठमाडौं, १४ भदौ । जनमतको अपमान हुनुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पा पुगेर मतदाताको राय बुझेका छन् । भारी मतले विजयी भएका बुढालाई राजीनामा गराउने र उपनिर्वाचन गराएर बर्दियाबाट पराजित वामदेव गौतमलाई उम्मेदवार बनाउने पक्षमा नेपाल कम्युनिष्ट पार्टी पुगेपछि उनले गृहजिल्लामा पुगेर मतदाताको राय बुझेका हुन् ।

जनमतको अपमान गर्दै भारी मतले विजयी बुढालाई राजीनामा गराउने सम्भावना बढेपछि गृहजिल्ला पुगेर नेकपाका वरिष्ठ नेता वामदेव गौतमलाई भोट मागेर राजधानी फर्किएका छन् । राजीनामा दिने या नदिने दोधारमा परेका बुढाले डोल्पाबाट वामदेव गौतमका लागि भोट मागेरै फर्किएको बताइएको छ । यद्यपि, मतदाताहरुले भने उनलाई राजीनामा दिनुको कारण मागेका थिए । राज्यमन्त्री बुढाले पनि राजीनामा दिने चित्तबुझ्दो जवाफ दिन नसकेको बताइएको छ ।

राज्यमन्त्री बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड”ले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि बिम्स्टेकमा भाग लिन उनी राजधानी फर्किएका छन् ।

सबै स्थानीय तहमा विशेष कार्यक्रम गर्ने योजना बीचमै छाडेर राज्यमन्त्री बुढा बिम्स्टेक बैठकमा सहभागी हुन बिहीबार काठमाडौं फर्किएका हुन् । जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफू राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।

“केन्द्रको निर्णय र मतदाताको रायअनुसार राजीनामा दिनेछुु”, राज्यमन्त्री बुढाले भनेका छन् । राज्यमन्त्री बुढाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको दाबीमेत गरेका छन् । “हामीले वामदेव गौतमलाई जितायौं भने जिल्लाको मुहार फेरिनेछ । ढुक्क हुनुहोस्, पार्टीले घात गर्ने छैन” उनले मतदातालाई फकाउँदै भनेका छन् । मतदाताहरुमाझ उनले भनेका छन्, “मैले राजीनामा दिएँ भने मन्त्री र राष्ट्रियसभाको शर्त राखेको छु । तपाईँहरुको मतको कदर गर्छौं ।”

यद्यपि डोल्पाली मतदाताले भने कुन शर्तमा राजीनामा गर्न लागेको भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् । अधिकांश कार्यकर्ता र मतदाताको प्रश्न यसैमा केन्द्रित भएको बताइएको छ । मतदाताहरुको प्रश्नको जवाफमा राज्यमन्त्री बुढाले केन्द्रले आधिकारिक निर्णय गरिनसकेको र मतदाताको राय सुझावअनुसार राजीनामा दिने उत्तर दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार