तुलसीपुर उपमहानगर मेयरका के छन् ३ प्राथमिकता ?

पहिलोपेज

दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा लोकप्रिय मतमा साथमा विजयी भएका घनश्याम पाण्डे लामो समय वातावरण, शिक्षा, सहकारी र कृषि क्षेत्रका विभिन्न तहमा रहेर अनुभवप्राप्त व्यक्ति हुन् । नेपालमा रहेको सामुदायिक वनको नमूना बोकेर ५० भन्दा बढी देश घुमिसकेका पाण्डेसँग जनअपेक्षा धेरै छन् । तुलसीपुर उपमहानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिएका पाण्डे अहिले चुनौतिको चाङमा उभिएका छन् । “चुनौतिभित्र अवसर हुन्छ” भन्ने सोच राख्ने उनले पहिलो बैठकबाट गरेको सुत्केरी महिलाहरुलाई पाँच हजार प्रोत्साहन भत्ता दिने घोषणा अहिले निकै लोकप्रिय बनेको छ । साझा जनप्रतिनिधिका रुपमा काम गरेर देखाउने प्रतिवद्धता गरेका पाण्डेसँग हामीले तीन प्रश्न सोधेका छौ ।
१) तपाईका मुख्य तीन काम के के हुन् ? यी काम पहिलो प्राथमिकतामा पर्नुको कारण के हो ?

तुलसीपुर उप महानगरपालिका घोषणाले मात्रै उपमहानगरपालिका हुँदैन । यसका लागि केही पूर्वाधारहरु बनाउनु आवश्यक छ । मैले गर्ने पहिलो काम भनेको यस उपमहानगरका हरेक गाउँलाई सडक सञ्जालले जोड्नु पनि हो । अहिले पनि यसै उपमहानगरका बासिन्दाहरु सामान्य कामका लागि पनि घन्टौं हिड्नुपर्ने वाध्यताको अन्त्य हुनेछ । अर्को कुरा भनेको नगरलाई हरित उपमहानगरका रुपमा विकास गर्नु हो । हरेक शहरको पहिचान भनेको सुन्दरता नै हो । तुलसीपुर उपमहानगरलाई पनि सुन्दर र वासनादार शहरका रुपमा विकास गर्नका लागि म कटिवद्ध भएर लाग्नेछु । मुख्य कुरा फोहोरको व्यवस्थापन र हरेक घरघरमा फूलका गमलाहरुमा लटरम्म फूलहरु राख्ने बानीको विकास गर्न सकियो भने यो काम सम्भव पनि छ । अर्को कुरा हो, स्मार्ट सिटी । अहिले पनि विश्वका देशहरु कहाँ कहाँ पुगिसके ? हामी भने उही परम्परागत बानी र व्यवहारमा अल्झिएका छौ । जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने गरेर हामीले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा जोड दिनेछौं । तुलसीपुर उपमहानगरपालिका कार्यालयलाई एक वर्षभित्रै “पेपरलेस” कार्यालय बनाउने छौं ।

२) यहाँको समृद्धिका लागि कस्तो खालको योजना बनाउनु भएको छ ?

स्थानीय सरकारका रुपमा हामीले अब केही जनमुखि कामहरु गर्नुपर्नेछ । तथापि स्थानीय तह सञ्चालनका लागि बनेको कानुनले पूर्णता नपाउँदा अवश्य पनि केही कार्यगत जटिलताहरु छन् नै तर पनि १५ वर्षसम्म जनप्रतिनिधिविहीन रहेका स्थानीय सरकारप्रति जनताको अपेक्षाहरु निकै अब्बल छन् । हामीले त्यसलाई न्यायोचित सम्बोधन गर्नु आवश्यक छ । समृद्धिको मुख्य आधार भनेको आर्थिक पक्षसँग पनि जोडिएको हुन्छ । यसका साथै जनताको विकासप्रतिको उत्तरदायित्व पनि यसका लागि उत्तिकै आवश्यक छ । विशेष गरेर हामीले अधिकतम जनसहभागिताका माध्यमबाट विकासका कार्यक्रमहरुलाई अगाडि बढाउने छौं । युवाहरुलाई स्वरोजगार बनाउनुका साथै एक घर एक उद्यम जस्ता कार्यक्रमहरु अगाडि सारेका छौ भने फोहोरलाई अभिशाप होइन वरदानका रुपमा रुपान्तरण गर्न फोहोरलाई मोहोर कार्यक्रम सञ्चालन गर्नेछौं । ग्रामीण विद्युतिकरणका साथै कृषिलाई आधुनिकीकरण गर्दै सिचाँइका लागि हाइड्याम निर्माणलाई प्राथमिकता दिनेछौं । मुख्य गरेर जनताका सामान्य आवश्यकतालाई पूरा गरेर मात्रै हामी महत्वाकाक्षीजस्ता लाग्ने योजनातर्फ केन्द्रीत हुनेछौ ।

३) स्थानीय तहमा आएका अधिकार जनतालाई प्रदान गर्न चुनौतिहरु के के छन् ?
सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गरेर अवश्य पनि धेरै जिम्मेवारी दिएको छ । तथापि कानुनको पूर्ण पालना नहुनुका साथै जनप्रतिनिधिविहीन अवस्थामा काम गरेका कर्मचारीहरुलाई सही बाटोमा ल्याएर काम गराउनु केही जटिल पनि छन् । अर्को कुरा स्थानीय स्रोत साधनबाटै विकासका लागि काम गर्नुपर्ने भएकाले करको दायरा फराकिलो बनाउनु पर्नेछ । यसले जनतामा पक्कै पनि केही नकारात्मक प्रभाव पार्न सक्ला तर पनि हामीले जनताको करलाई विकासमा पारदर्शी ढँगले लगाउनु आवश्यक छ । हामीकहाँ बजेट नभएर भन्दा पनि बजेटको सही सदुपयोग हुन नसक्दा विकासले आशातीत फड्को मार्न नसकेको हो । यस पक्षलाई पनि मैले निकै गहिरो ढँगले हेरेको छु । कानुनले पूर्णता नपाउँदै काम गर्नका लागि अगाडि बढ्नुपर्ने केही विषमताहरु पक्कै पनि छन् तथापि यस्ता सबैपक्षलाई गोलवद्ध गरेर समावेशी विकासका लागि जनताको मन जितेर काम गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

प्रकाशित मिति : सोमवार, साउन ०९, २०७४ समय : १२:५२:५४ 5146 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi