नारायणपुरमा पनि महोत्सव आयोजना गर्न छलफल

नववर्ष २०७३ सालको अवसर पारी नारायणपुरमा व्यापारिक तथा कृषि पर्यटन महोत्सव आयोजना गर्नका लागि बिहीवार छलफल कार्यक्रम सम्पन्न भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफल कार्यक्रममा त्रिपुर क्षेत्रका सरोकारवाला, राजनीतिक दल एवं व्यापारीहरुको रहेको थियो ।

कार्यक्रमबारे बोल्दै संघका अध्यक्ष गोपालप्रसाद लम्सालले त्रिपुरको अवधारणालाई जनस्तरसम्म पुराउन तथा यहाँको धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र कृषिजन्य उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको जानकारी दिए । उनले गुर्जे खोलामा सुबिधासम्मपन्न शवदाह गृह निर्माण गर्ने मुख्य उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएकाले सहयोग गर्न सबैलाई आग्रह गरे ।

छलफलमा सहभागी सबैले महोत्सवको अवधारणा र उद्देश्य उत्तम भएकाले सबैलाई समेटर स्थानीय व्यापारी तथा विद्यालयलाई प्रभाव नपर्ने हिसाबले महोत्सवको आयोजना गर्न उद्योग वाणिज्य संघलाई सल्लाह दिएका थिए । त्यस्तै नारायणपुरका फैन्सी व्यवसायीले नयाँ वर्ष व्यबसायीका लागि राम्रो मौसम भएकाले आगामी माघमा महोत्सवको आयोजना गर्न आग्रह गरेका थिए ।

संघका अध्यक्ष गोपालप्रसाद लम्सालको अध्यक्षता तथा त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका सुधन केसी, एनेकपा माओवादीका भक्तिराम शर्मा, नेकपा माओवादीका रमेश वली, नारायणपुर नगर विकास समितिका अध्यक्ष प्रकाशकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी उद्योग वाणिज्य संघ नारायणपुरका संस्थापक अध्यक्ष बलदेव शर्मा, निवर्तमान अध्यक्ष चित्रबहादुर डाँगी “निर्मल”, निवर्तमान सचिव तथा फैन्सी व्यबसायी महेन्द्र दाहाल, समाजसेवी माधव पाण्डे, उमावि नारायणपुरका शिक्षक तीर्थराज न्यौपाने, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे “श्रवण”, पशुपति विद्याश्रम उमाविका प्राचार्य केशव थापा, ग्रेटबुद्ध बोर्डिङका प्रिन्सिपल निर्मल आचार्य, पत्रकार आर.के.शितल बामदेव देवकोटा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

छलफलमा आएका सुझावलाई मनन गर्दै महोत्सवको आयोजना गर्ने र महोत्सव लगाउने मितिको टुङ्गो लगाउने लगायतका अन्य विविध कुराको लागि पुनः छिटै छलफलको आयोजना गर्ने वाणिज्य संघले जानकारी दिएको छ । कार्यक्रमको सहजीकरण संघका सचिव धनेश्वर आचार्यले गरेका थिए ।

प्रकाशित मिति : बिहिवार, चैत्र ०४, २०७२ समय : २०:२५:१३ 468 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi