मानबहादुर बुढामगर

संरक्षक । फेसबुक

क्याप्टेन मानबहादुर बुढामगर
क्याप्टेन मानबहादुर बुढामगर

क्याप्टेन मानबहादुर बुढामगर बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्छ । उहाँ सन् १९७४ देखि १९९६ सालसम्म ब्रिटिश सेनामा कार्यरत रही क्याप्टेन ओहदाबाट सेवानिवृत्त हुनुभयो । उहाँले ब्रिटिश सेनामा रहँदा १८ महिनासम्म ब्रिटिश फोर्सेस ब्रोडकास्टिङ सर्भिसेज (बिएफबिएस)को हङकङ–ब्रुनाई शाखाको नेपाली शाखामा प्रमुख निर्देशक तथा कार्यक्रम संयोजकको भूमिका निर्वाह गरिसक्नु भएको छ । क्याप्टेन बुढामगर ब्रिटिश सेनाबाट निवृत्त भएपछि पनि गोरखा एफएमको निर्देशक तथा टेलिभिजन कार्यक्रम “गोरखा अभियान” र “गोरखाली गाथा”को निर्देशक एवं सञ्चालकको रुपमा ४ वर्ष काम गरेको अनुभव छ उहाँसँग । पछिल्लो चरणमा दाङको घोराहीस्थित रेडियो मध्यपश्चिमको सल्लाहकारको रुपमा समेत उहाँले भूमिका निर्वाह गर्नुभयो ।

रोल्पाको अतिविकट मानिने जेदवाङ गाउँ विकास समिति– ९ दिसुन्धारामा २०१३ कार्तिक २१ गते जन्मिनु भएका बुढामगर हाल ललितपुर जिल्लाको ललितपुर उप–महानगरपालिका–१३, कुसुन्ती टोलमा स्थायी बसोबास गर्नुहुन्छ । गोरखबहादुर बुढामगर र वदीमा बुढामगरको कोखमा जन्मिनुभएका उहाँ २०७२ असोज १६ गते मगर समाज सेवा केन्द्र ललितपुरको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले “मगरदीप” पत्रिकाको सहसम्पादक तथा प्रकाशकको भूमिका पनि निभाइसक्नु भएको छ ।

ब्रिटिश सेनामा भर्ती हुनुअघिदेखि नै गाउँघरमा समाजसेवाका काम थालेका बुढामगर सेवानिवृत्त भएपछि पनि नेपाल फर्केर यहाँको शिक्षा, स्वास्थ्य, मगर समुदाय र समग्र समाजको सेवामा समर्पित रहनुभएको छ । सन् १९९६ मा सेवानिवृत्त भएलगत्तै नेपाल फर्केर उहाँले सुविधासम्पन्न र गुणस्तरीय तथा वैज्ञानिक शिक्षा दिने विद्यालयको सपना देख्नुभयो, परिकल्पना गर्नुभयो । त्यसलाई मूर्तरुप दिने क्रममा सन् १९९८ मा दाङमा “गोरखा इन्टरनेशनल पव्लिक उच्च माध्यमिक विद्यालय”को स्थापना गर्नुभयो । उहाँ गोरखा स्कूलको स्थापनाकालदेखि हालसम्म अध्यक्षको रुपमा क्रियाशील हुनुहुन्छ । यसक्रममा गोरखा हायर सेकेण्डरी स्कूल तुलसीपुरको स्थापना गरी कुशल नेतृत्व प्रदान गरिरहनुभएको छ । उहाँकै नेतृत्वमा दाङमै “भिक्टोरिया इन्टरनेशनल कलेज” सञ्चालन भइरहेको छ र त्यसमा बीबीए प्रोगाम चलिरहेको छ । त्यस्तै, गोरखा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेर त्यसको अध्यक्षको हैसियतले बैंकिङ क्षेत्रमा पनि संलग्न हुनुहुन्छ उहाँ । दाङमै गोरखा पव्लिक अस्पतालको स्थापना गरेर अध्यक्षको जिम्मेवारीसहित जनताको स्वास्थ्य सेवामा पनि सरिक हुनुभएको छ । यो अस्पताल जिल्लाको नामी अस्पतालको रुपमा परिचित छ ।

राप्ती अञ्चलमै पहिलो “स्कल कम्प्युटर इन्स्टिच्युट, घोराही”को स्थापना गरी यस क्षेत्रमा कम्प्युटर शिक्षा प्रदान गर्दै आउनुभएको छ । गोर्खा यूनिट सेक्युरिटी सर्भिसेज प्रालिको स्थापना गरेर विभिन्न कार्यालय, राजदूतावास, बैकिङ सेक्टरमा समेत सेक्यूरिटी सेवा प्रदान गरिरहनु भएको छ । गोरखा मल्टी स्किल प्रालिको स्थापना गरेर वैदेशिक रोजगारी क्षेत्रमा नेपालीहरुलाई पठाउनुअघि तालिम प्रदान गर्ने कार्य पनि गर्दै आउनु भएको छ । नेपालीहरुलाई वैदेशिक रोजगारी प्रदान गरी आर्थिक विकास गर्ने गराउने हेतुले स्थापित ब्रिटिश गोरखा ओभरसिज सर्भिसेज प्रालि नामक प्रतिष्ठित कम्पनीमार्फत पानीजहाजमा पठाएर नेपाललाई रेमिट्यान्स आउने ढोका पनि उहाँले खोल्नुभएको छ । सान इन्स्टिच्यूट अफ नर्सिङ”को स्थापना गरी बिएससी नर्सिङतर्फ थुप्रै दक्ष जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा समेत सहयोग गरिरहनु भएको छ ।

क्याप्टेन मानबहादुर बुढामगर रोटरी इन्टरनेशनलमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ र यस संस्थाको मुख्य दाता पनि हुनुहुन्छ । त्यतिमात्र होइन, उहाँ आफू जन्मिएको रोल्पाको दिसुन्धारा र छिमेकी गाउँलाई नमूना गाउँ बनाउने अभियानमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । त्यस क्रममा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन एवं वितरण, सिचाई एवं पिउने पानीको सुव्यवस्थापन, चर्पीको उचित व्यवस्थापन गर्दै समुदायको चौतर्फी विकास गर्ने गराउने काममा लागिरहनु भएको छ ।

कामको सिलसिलामा अमेरिका, संयुक्त अधिराज्य बेलायत, फ्रान्स, स्वीडेन, नर्बे, साइप्रस, दुबई, कतार, साउदी अरेबिया, श्रीलंका, बंगलादेश, भारत, चीन, मकाउ, मलेसिया, सिंगापुर, बर्मा, थाइल्याण्ड, अष्टे«लिया, न्युजरलैण्ड आदि देशहरुको भ्रमण पनि गरिसक्नु भएको छ ।

सधैंभरि सपना देखिरहने र नयाँ नयाँ काममा लागिरहने स्वप्नशील व्यक्तित्व क्याप्टेन मानबहादुर बुढामगर आफ्ना सबै साथीसङ्गीहरु विदेशतिर दगुरिरहेको समयमा पनि आफू जन्मेको माटोमै केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्प लिएर उभिनु भएको छ । बेलायत जाने सुगम र फराकिलो बाटोलाई त्यागेर पनि उहाँले आफू जन्मेको माटो र आफू हिडेको साँघुरो बाटो रोज्नुभएको छ । यस्ता बहुप्रतिभाशाली, स्वप्नशील व्यक्तित्वलाई पहिलोपेज डटकमले संरक्षकको रुपमा पाएकोमा हामी गौरवान्वित छौं । उहाँको मार्गदर्शनलाई शिरोपर गर्दै माया र सद्भाव प्राप्त गरिरहने आशा पहिलोपेज डटकमले गरेको छ ।