‘म लक्ष्मीप्रसाद देवकोटा, बास पाइन्छ ?’

वनारसको एउटा चिसो साँझको कुरा हो, भट्टराई परिवारका लोग्नेमानिसहरू घरको चोकमा जम्मा भएर आगो तापिरहेका थिए, उनीहरूका सामुन्ने अचानक मैलोमैलो कुर्ता र धोक्रे सुरुवालमाथि पुरानो खाले डबल भेस्ट शैलीमा सिलाइएको कोट लगाएको उन्नत ललाट र अत्यन्त कमनीय आँखा भएको एउटा युवक आएर उभियो ।

Hari-Adhikariआगो तापिरहेका भट्टराई बन्धुहरूका आँखा एकैपटक आगन्तुकतिर उठे । उनीहरूले अनुमान गरेको हुनुपर्दछ, नेपालतिरबाट फेरि अर्को कुनै पाहुना आएको छ । साँझको हलुका अँध्यारो र भर्खरसम्म फलामको ठूलो कराहीमा हुर्हुर बलिरहेको आगोतिर हेरिरहेका उनीहरूका आँखाले त्यो आगन्तुकलाई को हो ? भनेर पहिलो नजरमै ठम्याउन भने सकेनन् ।

‘को हुनुहुन्छ ? कहाँबाट आउनुभएको ?’ माइला भट्टराई नारायणप्रसादले बसेको ठाउँबाट उठेर सोधे ।

आगन्तुक एकछिन बोलेनन् । एकछिन गम खाएझैँ गरेपछि उनले बिस्तारै भने, ‘म लक्ष्मीप्रसाद, काठमाडौंबाट आएको । यो भट्टराईजीहरूको घर होइन ? म यहाँ आश्रय पाइन्छ कि भनेर आएको छु ।’

भट्टराई बन्धुहरू विष्मित भए । नेपाली भाषाको त्यत्रो ठूलो सर्जक अचानक आफ्नो आँगनमा आश्रय खोज्दै आएको सुनेर उनीहरू औधी खुशी पनि भए । सबै भाइको प्रतिनिधित्व गर्दै जेठा दाइ वटुकप्रसाद भट्टराई अगाडि आए र महाकवि लक्ष्मीप्रसाद देवकोटाका दुवै हातलाई चपक्क समाएर उनले बडो स्नेहशिक्त स्वरमा भने, ‘हामीहरूको अहोभाग्य हो यो कविजी ! यो घर तपाईंकै हो, जति दिन मन लाग्छ निशङ्कोच बस्नुहोस् ।’ अनि उनले साहिँला भाइ गोपाललाई अह्राए, ‘ए गोपाल ! कविजीको उपर कमरे में ले जाओ, थके होंगे इनको आराम करने दो, बातें खाने के समय करेंगे ।’

गोपालप्रसादले दाजुको आज्ञा तुरुन्तै पालन गरे । गोपालप्रसादको पछिपछि लागेर घरभित्र पस्दै गरेका महाकवि त्यतिबेला अत्यन्त दयनीय जस्ता देखिए । उनलाई त्यस्तो हालतमा देखेर भट्टराई बन्धुहरूको हृदय विदीर्ण भयो ।

भोलिपल्ट बिहान मात्र कविवर लक्ष्मीप्रसाद देवकोटा भट्टराईहरूको त्यस घरमा बस्न आएको कुरा त्यस घरमा डेरा गरेर बस्ने अरु परिवारहरूले थाहा पाए । महाराज देव शमशेरले बनाएको त्यस घरको अर्को लङमा योगी पूर्णानन्द गोस्वामी बस्दथे भने उनको सेवा टहल गरेर कालक्षेपण गरिरहेका थिए धुरन्धर ज्योतिष पण्डित गोपाल पाण्डेयका छोरा गोकुलानन्द पाण्डेयले । गोकुलानन्द पाण्डेय थिए गुनी मानिस । गणित र ज्योतिष शास्त्रमा उनको ठूलो दखल थियो र यदाकदा कविता पनि गर्ने गर्दथे । साहित्यका पारखी भएका नाताले लक्ष्मीप्रसाद देवकोटाको रचना सामथ्र्यसँग उनी परिचित थिए र देवकोटा एउटै घरमा बस्न आइपुगेको कुराले उनी अत्यन्त हषिर्त भएका थिए । छिटै नै देवकोटा र उनकाबीच गहिरो मित्रता कायम भयो ।

महाकवि देवकोटा भट्टराई परिवारको एउटा सदस्यझैँ सँगै बस्न थालेपछि उनको हृतन्त्री घरमुली सङ्कटाप्रसादकी कान्छी छोरी शान्तिसँग भने अत्यन्त आत्मीय ढङ्गमा गाँसिन पुग्यो । १५-१६ वर्षकी नवयौवना शान्ति सुन्दर, सुशील र त्यस जमानाका हिसाबले सुपठित ब्राह्मणकन्या थिइन्, जसलाई देवकोटाका केही कविता, खासगरी मुनामदनका पङ्क्तिहरू मुखाग्र थिए । देवकोटा आफ्नो घरमा बस्न आएको कुरालाई उनले बडो आनन्द र गर्वका रुपमा लिएर कविजी घरमा आएको दोस्रो दिनदेखि नै उनका लुगा धुने, बिस्तरा मिलाउने, टाइम-टाइममा चिया खान दिनेजस्ता कामहरू गर्ने जिम्मा स्वैच्छाले लिएकी थिइन् । ती चतुर-चपल कन्याले गरेको सेवा टहलबाट महाकवि देवकोटा कृतकृत्य थिए र फुर्सदमा तिमीलाई म अङ्ग्रेजी सिकाउँछु भनिरहन्थे । तर शान्तिलाई भने अङ्ग्रेजी भाषा सिक्नमा कुनै रुचि थिएन । उनी देवकोटासँग बारम्बार भन्थिन्, ‘कविज्यू ! मलाई त तपाईंका कविता पढ्न पाए पुग्छ, ती नेपालीमै लेखिएका छन् । मलाई अङ्ग्रेजीको के काम ?’

देवकोटा अत्यन्त उर्वर प्रतिभा थिए । हातमा चुरोट होस् र एकान्त होस् वा नहोस् उनी धाराप्रवाह लेख्न सक्दथे । त्यसरी आशुलिपिमा लेखिएका भए पनि उनका सबै रचना भाँती मिलेका र वैचारिक रुपले पनि परिपुष्ट हुन्थे । वनारस प्रवासका बेलामा उनले दुई-दुई या चार-चार पैसामा पनि धेरै कविता लेखे । कतिपय प्रकाशकहरू उनलाई कविता लेखाएर थाके । कविजीले थाकका थाक कविता लेखिदिने हुनाले उनीहरू दुई-दुई पैसा या चार-चार पैसा पनि तिर्न नसक्ने भए । वनारस प्रवासका बेलामा उनले यतिधेरै कविता लेखे तिनको उचित संरक्षण हुन सकेको र संग्रहित गरिएको भए उनको आज उपलब्ध समग्र रचनावली दुईगुणा ठूलो हुने थियो भन्ने जानिफकारहरूको अनुमान छ ।

देवकोटा भुलक्कड पनि त्यत्तिकै थिए । कविताको तरानामा हराएका बेलामा खानपानको पनि उनलाई होश रहँदैन थियो । उनकी स्वयम्सेवी परिचारिका शान्तिले ध्यान नदिने हो भने उनी दुईदिनसम्म पनि भोकै रहँदा हुन् । उनको खानपानको तरिका पनि गजवको थियो । मासु असाध्यै मन पराउँथे तर भट्टराईहरूको घरमा भने मासु बिरलै पाक्दथ्यो । त्यसैले कुनै श्रद्धालुले उनलाई कविता लेखाएर राम्रौ मुल्य चुकाएका दिन उनी बाहिरै कुनै पन्जावीको ढावामा मुर्गमुसल्लमको दावत उडाएर पान चपाउँदै र त्यसको रस तल्लो ओठको कुनाबाट चुहाउँदै, मुसुमुसु हाँस्दै घर र्फकन्थे ।

‘आज पनि कुनै तगडा जजमान भेटियो कि क्या हो कविजी !’ शान्ति हाँस्दै व्यङ्गय गर्दथिन् त्यस्तो हरेक अवसरमा । कविजी थोरै हाँस्दथे र भन्दथे, ‘हो नानी ! आज चारवटा कविता बिके नि !’ उनलाई युगवाणी पत्रिकामा काम गरे बापत पारिश्रमिक तोके पनि कहिल्यै दिन नसकेका पत्रिकाका सम्पादक/प्रकाशक वटुकप्रसाद भट्टराई भने लक्ष्मीप्रसादले कविता लेखेर केही रकम आर्जन गरेको कुरालाई राम्रै मान्दथे र आफूले कवुल गरे अनुसार पारिश्रमिक दिन नसकेकोमा ग्लानी अनुभव गर्दथे ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको वनारस बसाइ त्यतिबेला एउटा भयानक अनुभवबाट गुजि्रन पुग्यो जब उनकी अत्यन्त आत्मीय सेविका शान्तिको विषमज्वरको बेथाले निधन भयो । त्यतिबेलासम्म टाइफसका कारणले हुने विषमज्वरको अहिले प्रचलित’माइसिन’ नामको रामवाण औषधी प्रचलनमा आइसकेको थिएन । टाइफाइड कुनै बेलाको यक्ष्माजस्तै घातक रोग थियो त्यस समयसम्म । शान्तिलाई जब टाइफाइड भयो भट्टराई परिवारले पहिले त वनारसका नामुद वैद्यहरूबाट उपचार गराउने प्रयास गरे तर रोग निको हुनुको सट्टा झन्झन् बढ्दै गयो । जब उनी सिकिस्त भइसकेपछि एलियोपेथिक विधिले उपचार गराउने प्रयास गरियो, त्यतिबेलासम्म डाक्टरहरूको विचारमा धेरै ढिलो भइसकेको थियो ।

शान्तिलाई लागेको घातक प्रकारको विषमज्वरलेे गाल्दै लगेपछि उनको शरीरमा त्यसको भयानक असर देखा पर्नथाल्यो । शान्ति चल्न, चट्पटाउन नसक्ने भइन् । रोग देखा परेको दुई हप्ताजति भएपछि उनका दुबै आँखा आफैं फुटे र तिनबाट आँसुको सट्टा रगत निस्किन थाल्यो । त्यसको केही दिनपछि भयानक यन्त्रणाका बीच उनले देह त्याग गरिन् । त्यो पूरा संक्रमणभरि शान्ति संज्ञाशून्य भने कहिल्यै पनि भइनन् । चेतनाका तहमा उनी अन्तिम क्षणसम्म पनि टाठी नै रहिन् । ओछ्यान परेदेखि मृत्यु हुने बेलासम्म उनले महाकवि देवकोटाका कविताको टुक्रो-

‘आज देशको हीन यो दशा, अन्धकारले व्याप्त छन् दिशा

जाग रे सब जाग रे सब, राख देशको अमित गौरव ।’ गुन्गुनाइरहेको सुनिएको थियो ।

शान्तिको त्यस्तो हृदयविदारक अन्त्यले महाकवि देवकोटाको हृदयमा कहिल्यै नमेटिने चोट लागेकोले हुनुपर्छÙ त्यसपछिका दिनहरूमा उनी एकदमै अबोलाजस्ता बन्न पुगे । उनको हंशनै उडेजस्तो भयो । कविता लेख्न पनि छोडिदिए, खाना खान पनि रुचि नदेखाउने भए । गंगाजीमा पौडिन नजान्नेहरूका लागि किनारा नजिक राखिदिएका काठका तख्तीमा घण्टौं बसी शरीरलाई घाँटीसम्म डुबाएर घोरिएर बस्नथाले । र, शान्तिको मृत्यु भएको दुई महिना जतिपछि एकदिन अचानक ‘मेरो वनारसको भागभोग सकियो अब म नेपालै फर्किन्छु’ भनेर भट्टराई परिवारसँग विदावादी भए । त्यतिबेलासम्म उनको परिवारबाट पनि घर फर्किन उनलाई ठूलो दवाव परिरहेको थियो ।

(वरिष्ठ कवि, समीक्षक तथा पत्रकार हरि अधिकारीले नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको समय र जीवनमा आधारित जीवनीपरक उपन्यास ‘एक्लो नायक’ तयार गरेका छन् । सोही पुस्तकबाट यो अंश साभार गरिएको हो ।)

– See more at: http://www.onlinekhabar.com/2016/03/394838/#sthash.ORWeMikt.dpuf

प्रकाशित मिति : बिहिवार, फाल्गुण २७, २०७२ समय : ०:१९:२० 638 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi