कविताः शहिद बेनोजको पीएचडी थेसिस

मदन प्रभात

हातमा प्रयोगशालाका ट्युब र केमिकलहरु बोकेर
शहिदहरुका फोटा अंकित फ्रेमबाट
फुत्त निस्कन्छन शहिद बेनोज अधिकारी
ठिङ्ग उभिएर मेरै सामुन्ने
नियालेर मलाई नै
बोल्छन् – ओ प्रभात जी !
Madan-Pravatकसरी अगाडी बढ्दैछ हँ जनवादी शिक्षा ?
बन्द ढोका भित्र शहिद बेनोज अधिकारी !
त्यो पनि स-स्वर र स-शरीर !!
झल्याँस्स हुन्छु म
नबुझेर टोलाउछु एकछिन
प्रश्नवाचक नजरले नियाल्छु एकछिन
 
‘हो हो म बेनोज अधिकारी
नियाल्न आएको छु तपाँइको जनवादी शिक्षा
तयार गर्नुछ एउटा पि.एच.डी थेसिस
लौ झट्टै देखाउनुस मलाई
जनवादी शिक्षा खेलेको जिउदो प्रयोगशाला ।’
 
‘सबैले मानेका, आफ्नो ठानेका
तपाँई त महान शहिद,
किन कुदिरा मुखाकुती बिगारेर चोक र गल्लिहरुमा
भैगो छाड्नुस जनवादी शिक्षाका कुरा
बरु सजाएर राखौंला छुट्टै सुनौलो फ्रेममा तस्विर तपाँईको
चाडै बनाउँला सालिक बागबजारमा
अनि नियाल्नु होला चोक र गल्लीहरु
अहिले सम्म त हामिले चढाएकै छौं हरेक बर्ष
कार्यक्रम नै गरेर केही पिन्ट रगत, फुलमाला र अबिर ।’
डराउदै बोलें म
शहिद बेनोजको गरिमामय उपस्थितीमा ।
 
‘हैन हैन, कुरा सालिकको हैन
रक्तदान र श्रद्धाञ्जलीको बाषिर्क श्राद्धको पनि हैन
कुरा त मेरो सपनाको हो, तिनको प्रतिबद्धताको हो
कुरा त जनमुखी नीतिको हो्, निर्णय र व्यबहारको हो
लौ भन्नुस कहा पढाउदैछन् कृष्णध्वज र देबेन्द्रहरु ?
किन निदाका हुन लेखनाथ, खोई तिनको प्रयोगशाला ?
खोई जनताको पाठ्यक्रम, खोई जनशिक्षा माला ?
सधै अलमल अलमल गर्छन, कहा हराएका छन् हिमाल शर्मा ?
खोज्दा खोज्दा हैरान परें म त
भो अब बहस पैरबी नगरौं प्रभात जी !
लौ झट्टै देखाउनुस मलाई
जनवादी शिक्षा हाँसेको एउटा जिउदो प्रयोगशाला’
अवाक हुन्छु म
चिम्लिएर आँखा सोच्छु एक छिन
र,डोहोर्याउछु बेनोजलाई लाजिम्पाट तिर
 
‘के यही हो जनवादी प्रयोगशाला ?’
मुख खुम्च्याउदै बोल्छन बेनोज
‘हो, यहीस् हो हाम्रो प्रयोगशाला
अर्थात लाजिम्पाट प्रयोगशाला
हरेक दिन यहा गरिन्छ नयाँ नयाँ प्रयोग
यहीँ बाट दिइन्छ नियुक्ति
जनमुखी कार्यान्वयन गर्ने थुप्रै ‘मान’ र ‘राज’हरुलाई
शिक्षा, स्वास्थ्य र अर्थनीतिको
यहीँ बनाइन्छ नयाँ नयाँ योजना
र, लागु गरिन्छ कुनै अज्ञात स्थलमा
आँखा चिम्लिएर हामी लगाउछौं ल्याप्चे दशै औंलाको
‘सफल प्रयोग’को ट्यागमा’
बेनोज डुल्छन् चारैतिर नियाल्छन त्यो भव्य प्रयोगशाला
र, बोल्छन इसारा गर्दै मलाई-
‘निस्कौं, छिटो निस्किहालौं यहाँवाट
बरु देखाउनुस अर्को कुनै प्रयोगशाला
जहा जनमुखी नीति नाचेका हुन
मेरा सङ्गीहरु हाँसेका हुन ।’
 
‘लौ जानुस भित्र
यो हो अर्को प्रयोगशाला अर्थात केन्द्रीय प्रयोगशाला
यहीँ हुन्छन् ठुलाठुला बैठक र बहसहरु
कार्यान्वयन नगरिने गरिन्छन निर्णयहरु
नाचेको छ कि छैन जनमुखी नीति यहाँ म भन्न सक्दिन
हाँसेका छन् कि छैनन् तपाँइका सङ्गीहरु म गन्न सक्दिन
तर ठोकुवा गर्न सक्छु
यहीँ उमि्रन्छन् जनमुखी नीतिका सिङ र पुच्छरहरु
यहीँवाट दिईन्छ क्रान्तिको ठेक्का
सत्प्रतिशत ओभरहेड दिएर भ्रष्ट ठेकेदारहरुलाई
नपत्याए भित्र जानुस र नियाल्नुस
माइन्युटका एक एक निर्णयहरु
सोध्नुस हरेक घटनाका साक्षी बसेका भित्ताहरुलाई
भित्तामा टांगिएका हसिँया र हथौडाहरुलाई’

घन्टौ पछि निन्याउरो अनुहार लगाएर
निस्कन्छन् शहिद बनोज अधिकारी
केन्द्रीय प्रयोगशालावाट
फलामे ढोकै छेउमा ठिङ्ग उभिएको
नवनिर्मित शहिद वेपत्ता स्तम्भ नियालेर
रुन्छन आँखाभरी हिक्क हिक्क
केन्द्रीय प्रयोगशालाको गम्भिर प्रभाब
शहिद बनोजको शोकाकुल आकृतिले बताइरहेछ
थकित र मलिन चेहराले
पिडाग्र्रस्त अशान्त मनलाई ऐना देखाइरहेछ

गेट बाहिरवाट एकनास नियाल्दै केन्द्रीय प्रयोगशालालाई
टोलाईरहेछन् शहिद बनोज अधिकारी
सम्4lरहेछन् हिजो मुट्ठी उठाएर खाएको बाचा कसम
आँखा नचिम्लिईकनै देखेको साम्यवादी सपना
‘भो प्रभात जी जाउँ
अब हेर्नु छैन मलाई अरु प्रयोगशालाहरु
यत्तिले नै निस्कन्छ मेरो पि.एच.डी. थेसिसको निष्कर्ष’
यत्ति भन्दै उनी
लम्किन्छन् लमक लमक कोटेश्वर तिर
र, झुण्डीन्छन वागवजार जाने बसमा
चुपचाप उनलाई पछ्याउछु म पनि उसै गरी

पहिले झै वागवजारको भित्तोमा
फ्रेमभित्र खुम्चिएर आजकाल
संकलन गरिरहेछन् शहिद वेनोज अधिकारी
विगतको क्रान्तियत्नलाई सराप्नेको पछि लाम लागिरहेका
हिजोका योद्धाका तथ्यहरु
हरेक दिन एयरबसहरुमा बाहिरिरहेका र कफिनमा पोकोपरी भित्रिइरहेका
स्वप्निल आँखाका संख्याहरु
निराश निराश भई कूल्चिएर आफैलाई
अंध्यारो अङ्गालिरहेका श्रमजीविका व्यथाहरु
हो, आजकाल
आफ्नो पि.एच.डी. थेसिसलाई तथ्याङ्कले सजाउन
शहिद वेनोज अधिकारी
हर दिन, हर निमेष टिपोट गरिरहेछन
नेपाली क्रान्तिको प्रगति विवरण
उन्मुक्त हाँसो कोरल्ने आँखाको साँख्यिक विवरण

रचना मितिः २०७१ फागुन २४

– See more at: http://www.onlinekhabar.com/2016/03/397822/#sthash.4ECrt9Gw.dpuf

प्रकाशित मिति : बुधवार, फाल्गुण २६, २०७२ समय : १७:३२:३४ 399 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi