युएईमा अलपत्र नेपालीबारे पत्रकार महासंघ र दूतावासको आरोपप्रत्यारोप

पहिलोपेज

दुबई । नेपाली दूताबास युएइले यहाँ अलपत्र परेका १९ जना नेपालीबारे लेखिएको समाचारलाई खण्डन गरेको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वाग्रह राखेर पत्रकारले समाचार लेखेको आरोप लगाएको छ भने नेपाल पत्रकार महासंघको युएई शाखाले त्यसको प्रतिवाद गरेको छ ।

अवैध मानिने भिजिट भिसामा युएई आई अलपत्र पर्ने तथ्य सही नभएको र रोजगारीका लागि आउने भए वैदेशिक रोजगार ऐनले ब्यबस्था गरेअनुसार अन्य प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर मात्रै आउनु पर्ने विज्ञप्तिमा उल्लेख छ । दूतावासले दिएको समयमा एजेन्ट र ट्राभल्सले समस्या समाधान नगरेको भन्दै कानूनी कारबाहीका लागि परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयमा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका कर्मचारीसँग परिचय पनि नभएका ट्राभल्सका कर्मचारीसँग उठबस गरेको, मिलिमतो गरेको भनी समाचार प्रकाशन हुनु दूतावासको सेवाप्रति पत्रकार पूर्वाग्राही बनेको दूतावासको आरोप छ । काठमाडौंको ठमेलस्थित अर्थलाइन ट्राभल्सले ४ लाख रुपैयाँसम्म लिएर युएईमा काम लगाइदिने भन्दै कतिपयको श्रम स्वीकृति समेत लिएर पठाएको थियो । काममा लगाउने भन्दै ल्याएको तर महिनौ बित्दा समेत काम लगाउनुको सट्टा युएईमा रहेका एजेन्ट प्रेम भनिने चितवनका साजन पाण्डेले उल्टै कुटपिट गर्ने तथा मारेर बालुवामा गाडी दिने धम्की दिने गरेका थिए ।

दलालले आफूहरुबाट यूएईमा पनि एक हजार डलर लिएको र अहिलेसम्म काम नदिएको, एउटै कोठामा १९ जना राखेको र यातना दिने गरेको भन्दै नेपाली दूतावासमा निवेदन दिएका थिए । दूतावासले एजेन्ट समेतलाई बोलाएर छलफल पनि गरेको थियो । एजेन्टले आफूले पैसा लिएको स्वीकारेका थिए । दूतावासले समस्या समाधान गर्न एजेन्टलाई १ हप्ताको समय दिएको थियो । तीन हप्ता बिते पनि न्याय नपाएको, दूतावासले सहयोग नगरेको र कुरा फेरेर कारबाही गर्न नसक्ने भनेपछि दूतावास दलालकै पक्षमा लागेको आरोप पीडितहरुले लगाएका थिए ।

दूतावासले लगाएको आरोपको प्रतिवाद गर्दै नेपाल पत्रकार महासंघ युएई शाखाले विज्ञप्ति निकालेको छ । पीडितको पक्षमा दूतावास नबोलेर पीडकको पक्षमा दूतावासले वकालत गरेको महासंघले आरोप लगाएको छ । पत्रकार कोही कसैसँग पूर्वाग्राही नभएको र पीडितको आरोपलाई दूतावासका प्रतिनिधिको भनाइसहित समाचार प्रकाशन गर्नु पत्रकारको धर्म भएको महासंघले स्पष्ट पारेको छ । भिजिट भिसाको कारोबार गर्ने र नेपालीलाई ठग्ने दलाललाई दूतावासले र नेपालमा सञ्चालित ट्राभल्सलाई सरकारले कारबाही गर्नुपर्ने माग समेत महासंघले गरेको छ ।

प्रकाशित मिति : मङ्गलवार, साउन १०, २०७४ समय : १४:३४:५५ 390 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi