१६ वर्षदेखि हराएको छोरालाई ७७ वर्षीया बृद्ध आमाको यस्तो भावुक पत्र

  पहिलोपेज

 998 पटक हेरिएको

छोरा सूर्य,

तिम्रो नाम सम्झिदा मात्र पनि यो मुटु भक्कानिएर आउँछ । आँखाहरु आँसुको पोखरीमा डुब्न थाल्छन् । तर यो आँसु मैले कहाँ पोखुँ ? पोख्ने ठाउँ पनि कतै छैन बाबु !

यसरी तिम्रो सम्झनामा आँसु पिउँदै बस्न थालेको पनि आज १६ वर्ष लागेछ । यो १५ वर्षका हरेक दिन, हरेक पल मेरो मनले तिमीलाई नै खोजिरहेको हुन्थ्यो र खोजिरहेको छ । आँखाहरुले तिम्रै बाटो हेरिरहन्थे र अझै हेरिरहेका छन् । तर पनि तिमीलाई देख्न पाउँदैन । तिमी आउने बाटो हेर्दाहेर्दा आँखा पहेंला भइसके ।

तिमीलाई हामीले आफ्नो बलबुता र बर्कतले भ्याएसम्म हरेक ठाउँमा खोज्यौं । तर कहीँकतै फेला पार्न नसकेपछि आज यसरी सामाजिक सञ्जाल प्रयोग गरी पत्र पठाउँदैछु छोरा ।

बाबु सूर्य, तिम्रो कुनै खबर नपाउँदा प्रत्येक दिन छटपटीमा बित्ने गर्छ मेरो । प्राण धान्नका लागि कुटो कोदालो गर्नै पर्ने बाध्यता एकातर्फ छँदैछ । अर्कोतर्फ मनभरि तिम्रै चिन्ता सल्बलाइरहेको हुन्छ ।

‘हजुर आमा, हजुर आमा हाम्रो बाबा कहिले आउनु हुन्छ ?’ बोली फुट्न लागेदेखि नै गोरेले मलाई प्रत्येक दिन यही प्रश्न सोधिरहेको हुन्छ । तिमी घरबाट जाँदा ऊ २ वर्षमा अझ टेकिसकेको थिएन । अहिले त ऊ पनि १७ वर्षको लक्का जवान भइसकेको छ । उही तिम्रो छोरा समीरलाई हामीले घरमा बोलाउँदा गोरे भन्ने गरेका छौं । विचरा उसले अहिलेसम्म आफ्नो बुबाको मुख पनि देख्न पाएको छैन । तिमीलाई देख्न मेरो मन जसरी तडपिइरहेको छ, गोरेलाई देख्न पनि तिम्रो मन त्यसरी नै तड्पिरहेको होला भन्ने मैले ठानेकी छु बाबु । बुहारी कमलाका आँखाहरु पनि कहिल्यै ओभानो हुन पाएका छैनन् । तिम्रै पर्खाइमा सधैं रसाइरहेका हुन्छन् उनका आँखाहरु पनि । उनी अझैं पनि तिम्रै बाटो कुरेर बसिरहेकी छिन । हामी सबैलाई यसरी तड्पाएर तिमी कहाँ छौं छोरा सूर्य ? जहाँ भए पनि छिट्टै घर फर्केर आऊ है ।

छोरा सूर्य, आमाबाबालाई आफ्ना सन्तानको माया बिछट्टैको हुँदोरहेछ । पुत्र शोकले तड्पिएर बस्नु पर्दाका दिनहरु निकै कष्टदायी हुँदारहेछन् । दुर्घटनामा परेर तिम्रो बाबाले ज्यान गुमाएपछि दुःख, सुख गरेर तिमीहरुलाई हुर्काउँदै आएँ । तर अहिले ७७ वर्षको यो बुढेशकालमा छोराबाट माया र स्याहारसुसार पाउनुको साटो उल्टै छोराको सम्झनामा छटपटाउँदै बाँच्नु परिरहेको छ । कस्तो अभागी आमा रहेछु म ? सम्झेर ल्याउँदा त कहिलेकाहीँ आफैलाई धिक्कार पनि लाग्छ छोरा ।

अब मलाई अरु केही चाहिँदैन छोरा । बस् तिम्रो मुहार एकपटक देख्न पाएमा यो एक मुठी प्राण सजिलरी जान्थ्यो कि भन्ने लागेर पल्तिरका डम्मर बाबुलाई भनेर यो पत्र लेखाएकी छु । तिमी जहाँ जस्तो अवस्थामा भए पनि तिम्रा हरेक गल्तीलाई माफी दिन हामी सबै तयार छौं बाबु । तिमी घर आऊ । अब जीवनमा मेरो एउटै मात्र इच्छा छ– मर्ने बेलामा तिम्रो हातले दिएको एक घुट्को पानी पिएर प्राण त्याग्न पाऊँ ।

मेरो तिमीलाई यही बिन्ती छ मेरो छोरा– मेरो त्यो अन्तिम इच्छा पूरा गर्नका लागि भए पनि तिमी एकपटक घर फर्क है ।

तिमी आउने बाटो हेरेर बसिरहेकी उही तिम्री आमा

द्रौपदी गिरी
कावासोती– १६, डण्डा, प्रिपेनी, नवलपुर

(नोटः मेरो यो सन्देश छोरा सूर्य गिरीसमक्ष पुराउन र उनलाई घरमा फर्काउन सहयोग गरिदिनु हुन सामाजिक सञ्जाल प्रयोगकर्ता सम्पूर्ण नेपाली छोराछोरीहरुमा मेरो विन्रम अनुरोध छ । छोरा सूर्यलाई कहिँकतै कसैले देख्नु भएमा मोबाइल नम्बर ९८६७०३९१२० (डमर भण्डारी) वा ९८५७०४०४१९ (खिमबहादुर गिरी)मा सम्पर्क गरिदिनु हुन समेत विशेष अनुरोध गर्दछु ।– आमा द्रौपदी गिरी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार