गृहमन्त्री बादल र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

  पहिलोपेज

 111 पटक हेरिएको

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकोमा उहाँलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार