पूर्वसभामुख महराको पहलमा पूर्वमाओवादी कलाकार र बच्चाको उद्धार

  पहिलोपेज

 527 पटक हेरिएको

रोल्पा । पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महाराको बिशेष पहलमा रोल्पाको त्रिवेणी गाउँपालिका– ५ जगरकोटकी बिट्टु बिकको उद्धार गरिएको छ ।

मानसिक सन्तुलन गुमाएर केही समययता रोल्पाको जुँगार, त्रिवेणी, तिला र नुवागाउँका सडक र गल्लीहरुमा दूधे बालकलाई च्यापेर अर्धचेत अवस्थामा हिडिरहने बिट्टुको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको नीलसागर सेवाश्रमले उद्धार गरेको छ । पूर्व सभामुख महराले आफ्नो जन्मस्थान रोल्पामा यसरी दूधे बालकलाई काखी च्यापेर मानसिक सन्तुलन गुमाएकी महिला बेबारिसे अवस्थामा हिडिरहेको समाचार पढेपछि आफूलाई निकै दुःख लागेकाले आफू तत्काल उद्धारमा जुटेको बताउनुभयो ।

पूर्व माओवादी कलाकारको यस्तो विजोग, बच्चासँगै सडकमा बास (भिडियोसहित)

समाचारमा आएजस्तै बिट्टु बिक पूर्व माओवादी कलाकार र जनमुक्ति सेनामा भए नभएको आधिकारिक पुष्टि नभए पनि मानवीयताका हिसावले आफूले तत्काल उद्धारका लागि पहल गरेको महराको भनाइ थियो । बिट्टुको बारेमा समाचार सार्वजनिक प्रकाशन भएपछि राजधानी लगायतका बिभिन्न स्थानबाट उनलाई उद्धार गर्न पहल भए पनि मानसिक सन्तुलन गुमाएकी बिट्टुको पालनपोषण र उपचार तथा दूधेबालकको समेत पालणपोषण र पठनपाठन समेत नीलसागरले गर्ने भएपछि बिट्टुका लागि नीलसागर नै उपयुक्त स्थान देखिएकाले त्यहाँ पठाउनु परेको पूर्व सभामुख महराले बताउनुभयो ।

नेपालगञ्जमा केन्द्रीय कार्यालय स्थापना गरी विभिन्न स्थानमा शाखा बिस्तार गरेर मानव सेवामा लागेको नीलसागर सेवाश्रमले बिट्टुको स्वास्थ्य उपचारका साथै उनी र उनको छोरीको पालनपोषण गर्ने संस्थाका केन्द्रीय अध्यक्ष सरिता खनालले बताउनुभयो । विभिन्न कारणले मानसिक सन्तुलन गुमाएर मानिसहरुलाई सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको सेवाश्रममा हाल २५० जना यस्तै बिरामी भए पनि पूर्व सभामुख महराले बिशेष अनुरोध गरेपछि आफूहरुले बिट्टु बिक र उनकी छोरीलाई आश्रममा राख्न राजी भएको उहाँको भनाई थियो ।

मानव सेवाका लागि झण्डै ४ बर्ष अगाडि स्थापना गरिएको सेवाश्रममा हाल दाङ, नेपालगञ्ज, कोहलपुर, बर्दियाको मधुबन र गुलरिया गरी पाँचवटा आश्रमहरु रहेका छन् । नीलसागरले निकट भविष्यमै पाल्पामा पनि आश्रम सञ्चालन गर्न थालेको अध्यक्ष खनालको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार