कोरोना पीडित संघर्ष संयुक्त समिति र इनफ इज इनफद्वारा आन्दोलनको चेतावनी

  पहिलोपेज

 277 पटक हेरिएको

काठमाडौँ । कोरोना पीडित संघर्ष संयुक्त समिति र इनफ इज इनफले सरकार कोरोना महामारीबाट पीडितप्रति संवेदनशील बनेर राहतको कदम नचाले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर तत्काल आफूहरुको माग पूरा नगरे आन्दोलनमा जान वाध्य हुने बताएको हो ।

कोरानो पीडित संयुक्त संघर्ष समितिका संयोजक विष्णुजङ्ग बस्नेतले सरकार कोरोना पीडितप्रति संवेदनशील नभएकाले आन्दोलनमा जान वाध्य हुने अवस्था आएको बताउनुभयो । ‘यस्तै अवस्था रहे आन्दोलनमा जानुको विकल्प छैन’, उहाँले भन्नुभयो, ‘सरकार सर्वसाधारणको स्वास्थ्यप्रति गम्भीर छैन ।’ पिसिआरको दायरा बढाउनु पर्नेमा उहाँको जोड थियो । कोरोना महामारीको बेला ३१ वटा संघ÷संस्थाहरु सचेतना अभियानमा अग्रसर रहेको उहाँले बताउनु भयो । कोरोना भाइरस कुनै वर्ग, क्षेत्र, लिङ्गको नभएको कारण सरकारले अत्यावश्यक कदम चाल्नु पर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, ‘हामी सरकार ढाल्न कुनै प्रयत्न गरेको छैनौं । सरकालाई महामारीको बेला सही ट्रयाकमा मात्र ल्याउन खोजेका हौँ ।’

इनफ इज इनफका अभियन्ता बृतान्त खनालले आफूहरुको कडा आन्दोलनमा जानसक्ने बताउनुभयो । सरकार जिम्मेवाररुपमा प्रस्तुत नभएकाले आन्दोलनलाई अझ कडा बनाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभयो । स्वास्थ्य मानिसको मूल धन भएको कारण पिसिआर प्रविधि विस्तारको आवश्यकता पनि औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार बहिरो भएको छ । सरकारलाई एकतर्फी सुन्ने बानी लागेको छ ।’ सरकारले गरेको ओम्नी समूहसँगको सम्झौता प्रभावकारी नदेखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पिसिआर व्यापक मात्रामा होस, भ्रष्टाचार र कालोबजारी अन्त्य होस् साथै विदेशमा रहेको नेपालीको उद्वार गर्न तत्काल पहल होस् ।’ सरकारसंग इनफ इज इनफले गरेको सम्भौतामा बेनिफिट अफ डाउट समेत पेश गरेको उनले जनाए । आफूहरु सरकार ढाल्न कुनै पनि योजना नबनाएको भन्दै उहाँले स्पष्ट पार्नुभयो । इनफ इज इनफले माग गरेको सम्पूर्ण विषय छिट्टै सम्बोधन गर्न आग्रह पनि गर्नुभयो ।

कोरोना पीडित संयुक्त संघर्ष समितिका सल्लाहकार डा. सुरेन्द्र भण्डारीले महामारीका बेला कोरोना पीडित संयुक्त संघर्ष समिति र इनफ इज इनफको संयुक्त साझेदारी भएकोमा बधाई दिनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना महामारी संयुक्त साझेदारीले पीडित बर्गको समस्यालाई समाधान गर्छ भन्ने आशा छ ।’ सहकार्यले समस्यालाई उजागर गर्दै समाधान उन्मुख हुनेमा आफ्नो विश्वास प्रकट गर्नुभयो । कन्ट्याक्ट ट्रेसिङ, पिसिआरका दायरा र क्वारेन्टिनलाई गुणस्तरीय बनाउनुपर्नेमा उहाँको जोड थियो । महामारीबीच सम्पूर्ण समूदाय, वर्ग, म्यानपावर कम्पनी, ट्याक्सी व्यवसाय, होटल व्यवसायलाई पुनः सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्नेमा आवश्यकता पनि औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य सामग्रीमा सरकारले गरेको अनियमितता लज्जास्पद रहेको छ । नागरिकको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।’ महामारी सिर्जना भएदेखि विभिन्न समस्याले गर्दा आत्महत्याको संख्यामा बृद्धि भएकोमा सरकारको ध्यानाकर्षण पनि गर्नुभयो । महामारीले दीर्घकालीन रुपमा आर्थिक संकट निम्त्याउन सक्नेप्रति सरकालाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

कोरानो पीडित संयुक्त संघर्ष समितिका कोषाध्यक्ष सागर खड्काले विपद् अवस्थामा सरकारले आफ्नो जिम्मेवारी बोध गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पिसिआर प्रविधिलाई विस्तार गर्नृपर्ने छ ।’ सरकारले महामारीको बेला पीडित बर्गको विषयमा समेत गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाल वैदेशिक रोजगार संघका उपाध्क्ष कमल तामाङले सरकारसित कुनै पनि रेस्क्यु मेकानिजम नभएकोमा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो ‘महिनौंदेखिको लकडाउनले सामान्य वर्गमा अत्यधिक असर पारेको छ । उनीहरुले पुनः आफ्नोे दैनिकी चलाउन निकै कठिन हुनेछ ।’ विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा सरकारद्वारा त्रुटि भएको बताउँदै निःशुल्क उद्धारमा जोड दिनुपर्ने बताउनुभयो ।

सरकारले कुनै पनि महामारी भएमा पहिलै विदेश जाने मानिससँग रकम वापत १५ सय रुपैयाँ लिने गरेको छ । तर, उद्धार गर्दा मानिस बाध्य भइ रकम तिर्नु परेको लज्जास्पद रहेको उहाँले बताउनुभयो । नेपालमा कोरोनाको सही रुप सरकार लगायत सम्पूर्ण नागरिकले नबुझेको स्पष्ट पार्नुभयो । लकडाउन खुलेपनि संक्रमितको संख्या बढ्दै गएको र आगामी दिनमा संख्यामा व्यापक वृद्वि हुनेमा सरकारलाई सचेत हुन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार