नेकपामा जस्तै कांग्रेसमा पनि किचलो, प्रकाशमान सिंहले गरे देउवाको विरोध

  पहिलोपेज

 195 पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको कदमप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र अन्यलाई प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताउनु भयो ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अन्य पार्टीबाट प्रवेश गराउनु राम्रो भए पनि अहिले समय ठीक नभएको बताउनुभयो । कांग्रेसले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई कारबाही गरेको छ भने मंगलबार राप्रपा नेता सुनीलबहादुर थापासहितलाई प्रवेश गराएको छ ।

सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन गर्ने र पद बाँड्ने काम गरेको आरोप सिंहको छ । सिंहले कसैलाई कारबाही गरेर आफूले जे चाहन्छु त्यो गर्न सक्छु भन्ने देखाउन खोजेको बताउनु भयो । देउवाले प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको आरोप सिंहले लगाउनु भयो । ‘प्रजातान्त्रिक पार्टीको सभापति भएर पार्टीको मूल्यमान्यता विपरीत जुन जबर्जस्ती गरिराख्नुभएको छ यो अप्रजातान्त्रिक गति हो । यो ठीक भएन भन्ने कुरा हामीले भनिरहेका छौं’ नेता सिंहले भन्नुभयो ।

२०४६ सालयताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताउनुभयो । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुरावस्थामा पुगेको उहाँको तर्क छ । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य नरहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार