कोरोनाले रोकिएला त एसइई परीक्षा ?

  पहिलोपेज

 318 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्ध योजना निर्माण तथा पूर्वतयारीका लागि सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरु राजधानीमा आइपुग्नुभएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीहरु राजधानी बोलाउनु भएको हो ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग कोरोना भाइरसको संक्रमण विश्वव्यापी भइरहेको सन्दर्भमा नेपालले देशभर एकरुपताका साथ कसरी पूर्वतयारी गर्ने वा त्यसविरुद्ध लड्ने भन्ने विषयमा योजना बनाउने बताइएको छ । बैठकले सातै प्रदेशमा कोरोना भाइरसविरुद्ध सचेतनाका लागि एकरुपताका साथ कार्यक्रम ल्याउनका लागि पनि छलफल गर्ने बताइएको छ ।

हाल निकै चर्चामा रहेको र मुखैमा आइसकेको एसईई परीक्षालाई रोक्ने वा सञ्चालन गर्ने भन्ने विषयमा पनि उक्त बैठकमा गम्भीरताका साथ छलफल हुने बताइएको छ । यद्यपि, नेपालमा एउटा पनि कोरोना संक्रमित नभेटिएको अवस्थामा एसईई परीक्षा पूर्वनिर्धारित समयमै हुनुपर्ने एउटा पक्षको तर्क छ भने विश्वभर फैलिइरहेको यो संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षाको पूर्वनिर्धारित मिति सार्नुपर्ने तर्क रहँदै आएको छ ।

यद्यपि, हालसम्म शिक्षा मन्त्रालय र रक्षा मन्त्रालय भने अझैसम्म पनि एसईई परीक्षा स्थगित गरिहाल्ने मनस्थितिमा नरहेको स्रोतले बतायो । ‘स्वास्थ्य मन्त्रालयले सारै अप्ठ्यारो स्थिति सिर्जना भएकाले एसईई रोक्ने प्रस्ताव गरेमा वा कोरोना संक्रमण नेपालमै देखिएको अवस्थामा बाहेक एसईई रोकिने सम्भावना छैन’, शिक्षा मन्त्रालय स्रोतले बतायो । यता, रक्षा मन्त्रालय स्रोतले पनि एकजना पनि कोरोना संक्रमित भेटिएको पुष्टि नभएकोले एसईई रोकिहाल्नुपर्ने अवस्था नरहेको बतायो । यद्यपि, अचानक संक्रमण भएकोमा वा परिस्थिति जटिल बनेमा भने तत्काल एसईई स्थगित गर्ने निर्णय हुन पनि सक्ने स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार