नेपाल कोरोनाको उच्च जोखिममा रहेकाले घरभाडामा ५० छुटको माग

  पहिलोपेज

 269 पटक हेरिएको

काठमाडौं । घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउनको लागि सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले कोराना भाइरस (कोभड–१९) को कारण विश्वभरि नै स्वास्थ्य संकटकालको घोषणा गरेकोले नेपाललाई पनि यसको उच्च जोखिममा राखेकोले आफूहरुको माग पूरा गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने महासंघको भनाई छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले कोरोनाका कारण नेपालमा समेत असर परेको उल्लेख गर्दै घरबहालमा बस्नेहरुलाई झनै बढी प्रभाव परेको बताएको हो । महासंघले कोरोनाका सन्त्रासका कारण बजारमा मूल्यबृद्वि आकाशिएको, कालोबजारी मौलाएको र व्यापार तथा व्यवसायमा समेत ठूलो असर परेको उल्लेख गर्दै घर बहालमा बस्नेहरु झनै पीडित भएको निष्कर्ष निकालेको छ ।

अहिलेको अवस्था र आफूहरुले उठाएका जायज मागको सवालमा सरकार गम्भीर हुनुपर्ने पनि महासंघको भनाई छ । घर बहालमा ५० प्रतिशत छुट दिलाउनको लागि सरकारले आवश्यक कदम नचाले र आफूहरुलाई छुट नदिलाए आन्दोलनमा जानेसमेत घरबहाल सरोकार महासंघ नेपालले चेतावनी दिएको छ ।

घरभाडामा ब्रम्हलुट भएको पनि महासंघको दाबी छ । महासंघले कोरोना भाइरसको सन्त्रासबीच घरभाडा न्यूनीकरण गराउन र व्यवसायिकरूपमा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । त्यतिमात्रै नभएर महासंघले कानुन संशोधन गरेर भएपनि घरभाडा नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।

कार्यक्रममा घरबहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यवसाय र घरबहालमा देखापरेका समस्याप्रति सरकारलाई गम्भीररुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार