उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिवबीच न्युयोर्कमा भेटवार्ता

  पहिलोपेज

 252 पटक हेरिएको

काठमाडौं, ११ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सकिने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको थियो ।

मन्त्री पुनले भेटमा नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताएका थिए । उनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै त्यो दिशामा काम अघि बढिसकेको जानकारी गराए ।

न्यूयोर्कमै शुक्रबार भएको राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दिगो विकास लक्ष्य सहित सामाजिक–आर्थिक विकासको बाटोमा मुलुक अगाडि बढेको बताएका थिए ।

उर्जामन्त्री पुनले सफा उर्जाबाट आयातीत पेट्रोलियम पदार्थ घटाउँदै जाने नेपालको लक्ष्य रहेको उल्लेख गरे । उनले अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगति भइरहेको दाबी पनि गरे । उर्जामन्त्री पुनले एसडीजी सेभेनको लक्ष्य महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।

भेटमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठूलो सम्भावना औंल्याएका थिए । उनले संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषद् सहकार्य गर्न इच्छुक रहेको धारणा राखेका थिए । उपमहासचिवले उर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतिको प्रशंसा गरेका थिए । उपमहासचिव झेनमिनले संयुक्त राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको पनि बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार