विप्लव माओवादीद्वारा जेठ १३ गते नेपालबन्दको घोषणा, कार्यकर्ताको हत्या गरिएको दावी

  पहिलोपेज

 308 पटक हेरिएको

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गरी यही जेठ १३ गते नेपाल बन्दको घोषणा गरेका छन् । विज्ञप्तिमा युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको दावी गर्दै जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरिएको उल्लेख गरेका छन् ।

संगठनकै कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका युवा संगठनका तीर्थराज घिमिरे (क.राजु)लाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको दावी गर्दै विज्ञप्तिमा त्यसप्रति घोर आपत्ति जनाइएको छ । ‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोशलाई न्युनीकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भिडन्तको झुठो नाटक रची निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहस गरिराखेको छ । उनीहरुले यस्तो दुस्वप्न नदेखे हुन्छ ।

हत्याको सहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ । केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गर्दछ ।’’

‘‘जनघाती, राष्ट्रघाती, भ्रष्टाचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि तपसिलको संघर्षका कार्यक्रम घोषणा गरिएको छ’’, विज्ञप्तिमा उक्त कार्यक्रमलाई सफल पारिदिन सबै पक्षसँग अपील पनि गरिएको छ ।

संघर्षका कार्यक्रमहरु ः
१) १० र ११ गते भण्डाफोर, कोणसभा
२) १२ गते देशव्यापी मसाल जुलुस
३) १३ गते नेपाल बन्द

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार