सिकलसेल विरामीका लागि ‘लावाजुनी’को विशेष प्रदर्शन बैशाख २८ मा

  पहिलोपेज

 288 पटक हेरिएको

दाङ, १५ बैशाख । कमलरी प्रथाको विषयवस्तुमा निर्मित चलचित्र ‘लावाजुनी’को आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ । ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताइन् ।

अध्यक्ष चौधरीका अनुसार बैशाख २८ गते घोराहीको निमा चित्र मन्दिरमा बिहान ८ बजे लावाजुनी प्रदर्शन गरिनेछ । विशेष प्रदर्शनमा विशिष्ट दर्शकहरुको लागि रु. ५ हजार र साधारण दर्शकहरुका लागि रु. १ हजार दरका टिकटको व्यवस्था गरिएको छ ।

सामाजिक एवं मानवसेवाका लागि विशेष प्रदर्शनको आयोजना गरिएको हुँदा सबैलाई सहयोग गरिदिनुहुन अध्यक्ष चौधरीले अनुरोध गरेकी छन् । ‘लावाजुनी एक चेतनामूलक सामाजिक चलचित्र भएको र विशेष प्रदर्शन सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ भएको हुँदा सबैपक्षबाट उत्साहजनक सहयोग हुने कुरामा हामी विश्वस्त छौं’ अध्यक्ष चौधरीले भने ।

दाङमा मात्र सिकलसेलका विरामीहरु १ सय ६९ रहेका छन् । उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा सहयोगका लागि यो प्रदर्शन महत्वपूर्ण हुने सञ्चारकर्मी एवं अभियन्ता सन्तोष अधिकारीले बताए ।

चलचित्र लावाजुनी सञ्चारकर्मी केएल पीडितले निर्माण तथा निर्देशन गरेका हुन् भने कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् । केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्र लावाजुनीका निर्माताहरुमा रिना खड्का बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बिसी रहेका छन् ।

लावाजुनीमा छबिलाल कोपिला, ज्वाला देवकोटा, सुशीला चौधरी, अनिता महतारा, वर्षा लम्साल, सुप्रिया देवकोटा र निश्मा वलीको मुख्य भूमिका रहेको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले स्वर दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार