गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न सभामुख महराको निर्देशन

  राजेन्द्र न्यौपाने

 647 पटक हेरिएको

गोरखा, १३ बैशाख । संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन् । आज बिहान गोरखा दरबारको निरीक्षण गर्दै सभामुख महराले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै काममा कुनै पनि ढिलासुस्ती नगर्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्ति पनि नबिग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सबैको चिन्ता र चासो हुनुपर्ने उनले औंल्याए । गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबै लाग्नुपर्ने उनको भनाई छ ।

यसैबीच सभामुख महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गर्दै पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा सबै लागि पर्नुपर्ने बताए । अवलोकन कार्यक्रममा सभामुख महराका साथ प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, प्रतिनिधि सभा सदस्य हरिराज अधिकारी, संविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गोरखा दरबार, गोरखा संग्रहालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

२०७२ साल बैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा जिल्लाको बारपाकमा आएका सभामुख महरा आज काठमाडौ प्रस्थान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार