राष्ट्रिय पूँजीको विकास नगरी समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री शाही

  पहिलोपेज

 255 पटक हेरिएको

सुर्खेत, ११ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् । सुर्खेतमा संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गरे ।

‘‘हामी अहिलेसम्म आयातमा निर्भर छौं’‘, मुख्यमन्त्री शाहीले भने, ‘‘अब निर्यातलाई बृद्धि गर्न उत्पादन बृद्धिको योजना ल्याउन जरुरी छ ।’’ कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको बताउँदै मुख्यमन्त्री शाहीले संघीय सरकारको आगामी बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले सडक र विद्युतको अवस्थाका कारण कर्णालीमा ठूला उद्योग तथा विकास निर्माणको काममा प्रभाव परिरहेको बताए । मुख्यमन्त्री शाहीले तत्काल कोहलपुर–सुर्खेत सडकलाई स्तरोन्नति गरी चार लेनको बनाउनेतर्फ संघीय सरकारको ध्यान जानुपर्ने बताए ।

त्यसैगरी अर्थसमितिका सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत बन्न लागेको ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशले पाउनुपर्ने बताए । ‘‘यो तपाईहरुको अधिकार हो’’ पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘‘विद्युत आयोजनाको निर्माण कार्य संघीय सरकारले सम्पन्न गरेर उपहार योजनाका रुपमा कर्णालीलाई हस्तान्तरण गर्नुपर्छ ।’’

विद्युत आयोजना पाउनुपर्ने कर्णालीको माग न्यायिक रहेको भन्दै पाण्डेले विद्युत आयोजना निर्माण गरी हस्तातरण गर्ने मोडालिटी तयार गर्न संघीय सरकारका उर्जामन्त्री र अर्थमन्त्रीलाई बोलाएर निर्देशन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वअर्थमन्त्री पाण्डेले बजेटको अवस्था, जनशक्ति र आन्तरिक क्षमतालाई विश्लेषण गरेर मात्रै योजना निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेशसभा अर्थ समितिका सभापति अमरसिंह थापा लगायतले कर्णालीको विकास योजनाको प्राथमिकताका बारेमा आआफनो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार