गाईबाट लाहुरिज्ममा शिफ्ट भएको मेरा पूर्वजको अर्थशास्त्र

  बलबहादुर घर्तीमगर

 601 पटक हेरिएको

दाङरा खाने भाङरा लाउने

म आज बहुल समाजको जिम्मेबार सदस्य हूँ । म र मेरो समुदायले गर्ने कर्मले बृहत्तर नेपाली समाजको पर्यावरणमा केही न केही प्रभाव पार्छ । त्यसैले मेरो समुदायमा हजारौँ वर्षदेखि चलिआएका कतिपय व्यवहारहरु म खुलेर बताउँदैन । त्यसका पछाडी धेरै कारण छन् । कतिपय ती व्यवहारहरु उजागर गर्दा राज्यबाट दण्डित हुनु पर्छ । यस्तै कतिपय अर्को समाज वा समुदायबाट हेपिनु, लज्जित वा अलग्गिनु पर्छ । आज नेपालको संविधान २०७५ मा राष्ट्रको परिभाषाभित्र म र मेरो समुदाय पनि अटाएको छ । त्यसैले म र मेरो समुदायले परम्परादेखि नै अनुसरण गर्दै आएका केही व्यवहारहरु उजागर गर्ने आँट गरेको छु । सत्य तीतो हुन्छ । मेरै समुदायको कसैलाई मुख छोप्नु पर्ने अवस्था पनि आउन सक्छ तर सत्य लुकाएर इतिहास कति दिन छुपाउनु । राज्यलाई पनि ज्ञान हुनुपर्छ मुलुकको एउटा समुदाय बाँचेको अर्थव्यवस्था बारे । यो लेखको उदेश्य कोही व्यक्ति, समुदाय वा धर्मको आस्था वा मान्यतामा खलल गर्ने नभई मेरो उत्पत्तिसँग जोडिएको यथार्थ वर्णन मात्र हो ।

गाईको छालाबाट बनेको दमाहा ।

 

‘दाङरा खाने भाङरा लाउने’ उक्ति यहाँले कतै सुन्नु भाको छकि छैन? सुन्नु भा छ भने नेपाली समाजले मलाई हेप्नलाई मेरा पूर्वजहरुको पालामा तयार पारेको उक्ति हो । आज मलाई यो उक्तिमा पनि गौरब लाग्न थालेको छ । समय अन्तरालमा कतिपय शब्दका भावार्थ पनि सन्दर्भले फेर्दो रहेछ । आजको सन्दर्भ स्वाधिन अर्थ व्यवस्थाको खोजी हो । स्वाधिन अर्थतन्त्रको पर्याय हो माथिको उक्ति । जसले माथिको उक्ति बुझ्नु भएको छैन म यसको बेलिविस्तार गर्छु । दाङरा भनेको गाईको मासु हो अनि भाङरा भनेको भाङ अर्थात गाँजाको फाइबरबाट बनेको लुगा हो । यी दुई पदार्थको उपभोग गर्ने समुदायलाई हेप्न र गाली गर्नलाई माथिको उक्ति निर्माण भएको थियो । कोइलाबासको नुन बोक्न झरेका मेरा समुदायका हटारुले सधै यै उक्ति सुनेको भन्थे ।

 

मेरो पुर्वजको अर्थशास्त्र जोडिएको गाई र भाङ आज मेरो पुस्तासम्म आउँदा खोसिएको छ । म आज किन लाहुरे हुनु पर्यो ? यसको सिधा जवाफ छ मेरो अर्थाशास्त्र फेरिएको छ । मेरो अर्थशास्त्र अब लाहुरिज्ममा शिफ्ट भएको छ । म बाँच्न राज्यले मलाई दिएको लालपुर्जाको जमिनले पुग्दैन । मेरो जमिन, गाई र भाङ सबै उत्पादनका उपयुक्त साधन नै रहेनन् । मसँग रहेको विकल्प मेरो पाखुरा मात्र हो जसलाई म मेरो नयाँ पुस्ता हुर्काउन बेच्नु पर्छ । आज म त्यही गरिरहेको छु ।

गाईको छालाबाट बनेको चाल्नो ।

मेरो अर्को पहिचान पनि छ, त्यो राज्यको प्रशासनिक इकाईसँग जोडिएको राजनैतिक सीमाना हो । ‘काला शेष’ यो शब्द पनि नौलो होइन किनभने नेपाली समाजले मलाई हेप्नलाई अर्को उक्ति पनि तयार पारेको थियो । ‘कालाशेष मान्छे खाने देश ।‘  विक्रम सम्बत १९६८ मा नेपालको पहिलो जनगणना भयो त्यो जनगणनामा मेरो समुदाय समावेश भएन । माथिकै उक्तिले गर्दा तत्कालिन सरकारले खटाएका गणकहरु कालाशेषमा आउँदै आएनन् । त्यसै छोडियो । यहाँ खटिने अधिकारीहरु दाङरा मनोविज्ञानबाट त्रसित थिए । गाई मार्नेलाई मान्छे मारे सरह मृत्यु दण्ड दिने घोषणा रणबहादुर शाहकै पालामा विक्रम सम्बत १८६२ मै भै सकेको थियो । त्यही बेलादेखि नै राज्यले गाई र मान्छे दुवैलाई बाँच्नका लागि समान संरक्षण प्रदान गरेको थियो । तर त्यो प्रावधान मेरो समुदायसम्म आएर लागु हुन करिब डेढ सय बर्ष लाग्यो ।

गाईको छालाबाट बाँधिएको नाङ्लो ।

दाङरा खाने र भाङरा लाउने नेपालको कानुनमा दण्डनीय रैछ । कानुनले प्रतिवन्ध गरेको चिज नै जीविकाको मुख्य आधार भएपछि के गर्नु ? छाती नाप्न जानै पर्यो । म पनि जवानी बेच्न भालुबाङ बजारको डिलमा कात्तिके घाममा दिनभरि सेकिए तर फापेन । गल्लाको आँखामा पर्न नसकेपछि जवानीका आरम्भिक दिनहरुनै बैराग्य भए । मेरो समुदाय लाहुरिज्मको जबजस्त प्रभावमा छ जसले सामाजिक प्रतिष्ठा, आर्थिक उन्नयन अनि एक्सपोजर सबथोक प्रदान गर्छ ।

 

मेरो पूर्वजको अर्थशास्त्रमा गाई

म एक कक्षामा भर्ती भएपछि स्कुल जाँदा तुषारोबाट मेरा कलिला पैतला बचाउन मेरी बज्यूले मेरो लागि लटरा सिउने कुरा सुनाउनु भयो । भोलिपल्ट मलाई बोकेर बेलौटी धारामा रहेको सार्की बाजेको छाला उध्योगमा लिएर जानु भयो । दुई पाथी धानमा लटरा अर्डर दिनु भयो । म लटरा लगाउने भएपछि मख्ख थिएँ । त्यो लटराले मेरा आधा दर्जन हिउँदहरु झेल्यो । पछि आफैलाई दिक्क लागेर फालिदिएँ ।

तान

त्यति बलियो लटरा कुन जनावरको छालाबाट बन्दो रहेछ भनेर आज बुझ्दा पो थाहा लाग्यो त्यो त गाईको छालाबाट बन्दो रहेछ । लटरा गाईको छालाबाट बुनिएको घरेलु चप्पल हो । मेरो घरमा आज पनि छालाबाट बनेका थुप्रै घरेलु सामग्री छन् । बुझ्दै जाँदा त ती सबै गाईको छालाबाट बनेका रहेछन् । परम्परागत बाजा दमाह, खुकुरीको दाब, तरबारको म्यान, हसियाँको विँड कभर,  हलो र जुवामा प्रयोग हुने नारा, भारी बोक्न प्रयोग हुने नाम्लो, सुपा र नाङलोको लेस्, विसुन चाल्ने चाल्ना, विसुन राख्न प्रयोग हुने घोनका ढकन, घैँटोको बाहिरी कभर, ढुंगो बोक्न प्रयोग हुने डोको आदि अनगितन्ती घरेलु सामाग्रीहरु गाईको छालाबाट नै तयार पारिदो रैछ ।

 

त्यतिमात्र कहाँ होर गाईका खुर, सिङ र हड्डीबाट बनेका थुप्रै सामग्रीहरु आज पनि मेरो घरमा छन् । धागो काट्ने रिउ, भाङरा बुन्ने तानका औजारहरु तथा सियोको काम गर्ने खाप जस्ता टेक्नोलोजी समेत धुइसीले रंगीएका छन् । प्लाष्टिकका घरेलु सामग्री बहुराष्ट्रिय कम्पनीले घरछेउको दोकानमा ल्याइदिएपछि ती अर्गानिक सामग्री हरेक घरको संग्राहलयमा थुनिन पुगे । यी सामग्री देख्ने वित्तिकै थाहा हुन्छ मेरो पूर्वजको स्वाधिन अर्थव्यवस्था ।

 

मेरा बराजू बा तपनाङका कहलिएका दारिमबोटे साहू थिए । उनका पालामा खोलाबाङका फराकिला कम्दमा १६ हल एकै चोटी चलाउँदा मानिसहरु रमाईलो मान्दै हेर्थे रे । गाई र बल्दलाई अलग अलग बनाएर छोराहरुलाई स्याहार्ने जिम्मा दिएका थिए रे । ४ भाई छोराहरु जेठो माइलो नभएर उनीहरुको जिम्मामा परेको चौपायाका आधारमा उनीहरुलाई चिनिन्थ्यो रे । मेरा कान्छा बाजेको भागमा बल्द हेर्ने भएपछि उनको पहिचान नै पछिसम्म बल्दग्वाले भन्ने थियो र हामी पनि त्यसरी नै चिन्थ्यौँ ।

 

मेरा बराजू बा दारिमबोटे साहू हुनुको मुख्य मानक अरु केही नभएर सोह्र हल गोरु, दर्जनौँ दुहूना अनि सयौँ गाईहरु नै हुन् । हाम्रो पर्यावरणीय अवस्थितिमा स्थानीय गाई निकै फस्टाउने चौपाया हो । त्यहाँको चरण र हावा पानीले गर्दा हरेक घरमा हूलका हूल गाई थिए । प्युठान, सल्यान, बाइसखुवा अनि रोल्पाकै अन्य भेगतिर बल्द निर्यात गर्ने कोर जोन कालाशेष नै थियो । हरेक वर्ष हलका हल बल्द बेचेर नगद भित्रिन्थ्यो ।

 

बाजेको लोभलाग्दो गाई पालन र त्यसले पैदा गरेको आर्थिक अवसरहरुको मोहले मेरो माईलाबालाई अझैसम्म छोडेको छैन । २०५३ सालमा भारतीय सेनाबाट निवृत भएपछि बाजेकै जस्तो गाई पाल्ने शोख राख्नु भयो तर सफल हुनु भएन । आज पनि उहाँ पल्टनको कहानी होइन बरु बाजेकै रवाफिलो गाई पालनको कथा सुनाउनु हुन्छ । किन हो कुन्नी पेन्सन थापेर ल्याएको पैसाले गाई नै किन्नु हुन्छ तर फाप्दैन ।

 

सयौँ गाईबाट प्राप्त गोठे मल अनि तपनाङको जमिन जसले धान्नै नसकिने गरी मकै, धान, गहुँ, कोदो उत्पादन हुन्थ्यो । बजारका लागि टाढा जानु पर्दैन थियो । धन्सारमै बेसाहा आइपुग्थे । त्यतिबेला गाईबाट अर्थोपार्जनको फराकिलो आयाम थियो । गाईले गोठे मल उत्पादन गर्थ्यो । बाच्छो जन्माउथ्यो अनि त्यो बल्द बनाएर मशल पावर प्रयोगमा आउँथ्यो । कृषि कर्ममा बल्दको भूमिका अहिले पनि अतुलनीय छ । दु:ध घिउ मोही जस्ता दुग्ध पदार्थ प्राप्त हुन्थ्यो । भारतीय सीमा कोइलाबासको हाट बजारमा घिउको माग थियो । गाग्रोको गाग्रो भरेर त्यतै लगेर बेचिन्थ्यो ।

 

थारो गाई वा काममा नआउने बल्दबाट पनि आम्दानी नै थियो । कुखुरा वा अनाजका आधारमा मुल्य निर्धारण गरी विक्री हुन्थ्यो । दाङरा मगर भाषाका दुई शब्दहरु दाङ+रा मिलेर बनेको गाईको मासु जनाउने संज्ञा हो । दाङ भनेको निशुल्क र रा भनेको प्राप्त हुने भन्ने अर्थ हुन्छ । नगद तिर्नु नपर्ने र एक चल्लोले एक काछो दाङरा खरिद गर्न सकिन्थ्यो । कहिलेकाँही ओइचो पैचोमा पनि चल्ने गर्दथ्यो । कतिपयले दाङरा सिनो भनी अर्थ्याउन खोज्छन् तर त्यो यथार्थ होइन । पछिल्लो समयमा दाङरा भीरबाट लडेको, बाघले मारेको र चट्केले मरेको गाईबाट प्राप्त हुन थालेपछि मानिसहरुमा गलत बुझाइ हुन गएको हो । दाङराको एक भागलाई काछो भनिन्छ । दाङरालाई धार्नी विसौलीमा भन्दा पनि काछोको एकाईमा मापन गरिन्छ । यो मेरो समुदायमा दाङराको मात्र तौल मापन गर्ने प्रचलित प्राचीन एकाई हो र यो ३ केजीको हाराहारी हुन्छ । यस्तै छालाबाट अनगिन्ती घरेलु सामग्री तयार पारिन्थ्यो । छाला पनि विक्री हुन्थ्यो । खुर र सिङ् अनि हड्डी सबै विक्री हुन्थे ।

 

भाङरा बुन्ने काम महिलाहरुको थियो । यसले लुगा आयात गर्नु पर्दैन थियो । धेरै परिमाण उत्पादन गरेर भाङरा र भाङको फल कोइलाबासको हाटमा बेच्न लगिन्थ्यो । चिउरीबाट उत्पादित बनस्पती घिउ घर मै उत्पादन हुने भएपछि नुन बाहेक आयात गर्नु पर्ने चिज कुनै रहेन ।

 

मलदेखि छाला अनि मासुदेखि हड्डी र मशल पावरसम्म प्रयोग गरिदै आएको घरायशी अर्थतन्त्रको आधार गाई नेपालको राष्ट्रिय जनावर रहेछ भन्ने कुरा म पनि ४ क्लाशमा पुगेपछि बल्ल थाहा पाएँ । मेरी आमा झन् यसबारे अझैसम्म बेखबर हुनुहुन्छ । मेरी आमा मात्र होइन मेरो समुदायको धेरै जनालाई गाई नेपालको राष्ट्रिय जनावर हो भन्ने थाहा छैन । गाईलाई अझै पनि पशुधनकै रुपमा बुझ्ने मान्यता आज पनि कायम छ । मेरा बराजु बाले उपयोग गरेझै गाईबाट बहुआयामिक लाभ उठाउन नसके पनि मेरो समुदायले अझै पनि गाईलाई अर्थशास्त्रकै दृष्टिले हेर्ने गर्दछ ।

गाईको छालाबाट बनेको ढोको- सौजन्य अमर जीएम

अब ??

संघीय गणतन्त्र नेपालमा गाई राष्ट्रिय जनावरमा सूचिकृत भएको मेरी आमालाई थाहा छैन । गाई मारेपछि जेल जानु पर्छ भन्ने पनि थाहा छैन । अनि उता हिन्दुहरुले गाईलाई आमाको मान्यता दिन्छन् । दाङरा खायो भने उनीहरुको आस्थामा आघात हुन्छ भन्ने पनि थाहा छैन । मेरी आमाले पूर्वजहरुबाट जे सिक्नु भयो त्यै सत्य हो भन्ठान्नुहुन्छ । दाङरा खाने र भाङरा लाउने नै हाम्रो अर्थशास्त्र हो भनेर बुझ्नु भएको छ मेरी आमाले तर त्यो २ सय वर्ष पहिल्यै खोसिएको कुरा पत्तो छैन ।

 

म नोकरी खान काठमाण्डौँ आएपछि आमाले भन्नु भयो, ‘नोकरी पनि गाउँतिरै खान पर्च नि । कि घरमै यताउता गर्याभा हुन्थ्यो । क्यार्न खान आको इती टाढा ? यो ता लाहुर गया जस्तै भइयो नि ।’ अब म चिन्तामा छु कि कसरी बुझाउने होला मेरी आमालाई, हाम्रो अर्थशास्त्रको प्याराडाइम् लाहुरिज्ममा शिफ्ट भइसक्यो भनेर ? अनि भन्नुछ आमालाई अब गाई धन होइन राष्ट्रिय एकताको प्रतिक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार