पत्रकारिता : ऐनाअगाडि उभिएर

  उदय जीएम

 395 पटक हेरिएको

उर्लेर आउँदा गण्डकीको भेलले
यी ढुङ्गे बगर कहाँ लाने हो ?

माथिका दुई हरफहरु चर्चित जनवादी गायक जीवन शर्माका हुन् । फरक प्रसङ्गमा गीतिनाटक ‘ठूली’का लागि जीवन शर्माले लेखेको यो गीत यतिबेला नेपाली पत्रकारिता जगतका लागि पनि उत्तिकै सान्दर्भिक देखिएको छ । प्रविधिको उच्चतम विकास, न्यू मिडियाको आगमन, अनलाइन र तालिम तथा प्रशिक्षणबिनाका अपरिपक्व अनलाइन पत्रकारहरुको बाढीले पत्रकारिता यतिबेला ‘काम्लामा मुछेको सातु’जस्तै भएको छ । ‘अनिकालमा बीउ जोगाउनू, हुलमुलमा जिउ जोगाउनू’ भनेजस्तै नेपाली पत्रकारितालाई स्वस्थ, व्यवसायिक, मर्यादित र आम नागरिकको विश्वासिलो र भरोसायोग्य बनाउने हो भने हामीले ऐनाअगाडि उभिएर आफ्नै अनुहार हेर्न आवश्यक छ । ऐनामा देखिएका हाम्रा अनुहारका दागहरु, विकृति, विसङ्गति र नकारात्मक पक्षलाई धोइपखाली गरेर सर्लक्कै हटाउन सक्यौं भने पक्कै पनि हामीमाथि उठेका औंलाहरु, अविश्वास र संशयहरु समाप्त भएर जानेछन् । र, हामीले दृढ अठोट गर्यौं भने त्यो सम्भव छ र त्यसको बुटी पनि हामीसँगै छ ।

अलिकति पछाडि फर्किएर
नेपाली पत्रकारिताको इतिहासमा नेपालमै छापिएको पहिलो पत्रिका ‘सुधासागर’ हो । यसको पहिलो प्रकाशन वि.सं. १९५५ साउनमा भएको देखिन्छ । नेपाली पत्रपत्रिकाहरुमा माइलो तर समाचारपत्रको रुपमा जेठो पत्रिका हो, गोरखापत्र । ‘सुधासागर’ निस्केको करीव २ वर्ष १० महिनापछि सम्वत १९५८ सालको जेठमा गोरखापत्र प्रकाशन हुन थालेको पाइन्छ । प्रारम्भमा प्रत्येक हप्ता सोमबार प्रकाशित हुने ‘गोरखापत्र’ ४२ वर्षपछि हप्ताको दुईपटक, ४५ वर्षपछि हप्ताको ३ पटक र ५९ वर्षपछि दैनिकरुपमा प्रकाशित भएको इतिहासकारहरुले उल्लेख गरेका छन् । नेपालको जेठो समाचारपत्र ‘गोरखापत्र’ अद्यावधि पनि प्रकाशित हुँदै आएको छ, समयानुकूल परिवर्तनसँगै । तत्कालीन श्री ३ देवशमशेरको पालामा प्रारम्भ भएको ‘गोरखापत्र’ अहिले रङ्गीन र आकर्षक पारिएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षदेखि चल्दै आएको जहानियाँ राणाशासनको अन्त्य भयो । त्यसपछिका दिनहरुमा पत्रपत्रिका प्रकाशनमा केही तीव्रता आयो । २००७ फागुन ४ गतेदेखि हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा नेपाली भाषाको ‘जागरण’ साप्ताहिक प्रकाशित हुन थाल्यो । त्यसको ४ दिन अर्थात २००७ फागुन ८ गतेदेखि सिद्धिचरण श्रेष्ठको सम्पादनमा नेपाली भाषाकै ‘आवाज’ दैनिक प्रकाशित भयो । त्यसपछि मणिराज उपाध्यायको सम्पादनमा ‘समाज’ दैनिक प्रकाशन हुन थाल्यो । त्यस्तै, २०१३ सालदेखि दाताराम शर्माको सम्पादनमा ‘हालखबर’ दैनिक प्रकाशन हुन थाल्यो । तर, यी सबै पत्रिकाहरु आर्थिक अभावका कारण केही समयपछि बन्द भएका देखिन्छन् । यसपछिका दिनहरुमा नेपालीका अतिरिक्त नेवारी, हिन्दी, अंग्रेजी आदि भाषाका पनि पत्रपत्रिकाहरु प्रकाशित भएका देखिन्छन् । त्यस्ता पत्रपत्रिकाहरुमा दैनिक समाचार, सत्याग्रह, नेपाल समाचार, समय, हालखबर, सही सन्देश, दियालो, गोरेटो, भूगोलपार्क, कल्पना, फिलिङ्गो, लोकमञ्च, दैनिक समाचार, नयाँ जमाना, देश सेवा, ममता, सही बाटो, हाम्रो देश, मातृभूमि, समीक्षा, जन्मभूमि, प्रवक्ता, नयाँ नेपाल, घटना, निर्माण, जनजीवन, तरङ्ग, जनमत, मदरल्याण्ड, कमनर, एभरेष्ट न्यूज, नयाँ समाज, डेली मिरर, राइजिङ नेपाल आदि हुन् ।

नेपालको पत्रपत्रिकाको इतिहासमा यी पत्रपत्रिकाहरुको उल्लेखनीय योगदान रहेको पाइन्छ । वरिष्ठ पत्रकार स्व. गोपालदास श्रेष्ठको सम्पादनमा २०१२ सालदेखि ‘दि कमनर’ दैनिक प्रकाशन हुन थाल्यो । यसले नै नेपालबाट प्रकाशित अंग्रेजी भाषाको दैनिक पत्रिकाहरुमा जेठो हुने श्रेय पाएको छ । यो बीचमा ‘पासा पाक्षिक’, ‘नेपाल भाषा’ र ‘पासा दैनिक’हरु प्रकाशित भए । र, यी तीनवटै नेवारी भाषाका थिए । त्यस्तै, हिन्दी भाषाको ‘तरङ्ग’, ‘जय नेपाल’, नेपाल टाइम्स, नेपाली, जयतु संस्कृतम् आदि पत्रपत्रिकाहरु प्रकाशित हुँदै नेपाली पत्रकारिताको इतिहासमा इँटा थप्दै गरेको पाइन्छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय विकास भएको छ । कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, दि राइजिङ नेपाल, दि काठमाण्डुपोष्ट, दि हिमालयन टाइम्स, अन्नपूर्णपोष्ट दैनिक जस्ता ठूला आकारका पत्रपत्रिकाहरु निरन्तर प्रकाशित भइरहेका छन् । यस्तै, हिमाल र नेपाल पाक्षिक विविध विषयवस्तुलाई समेटेर आकर्षक साजसज्जामा प्रकाशित भइरहेका छन् ।

२०६२÷०६३ को जनआन्दोलनको सफलतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात पत्रकारिता धेरै मौलाएको छ । यो अवधिमा ब्रोडसिट दैनिकहरुको आगमन खासै हुन नसके पनि म्यागेजिन र विषयगत÷विधागत पत्रकारिता मौलाएको छ । त्यतिमात्र होइन, व्यवस्था परिवर्तनसँगै प्रविधिको उच्चतम विकास र इन्टरनेटको सहज पहुँचका कारण अनलाइन पत्रकारिता ह्वात्तै मौलायो । मैदानमा मेलो पसिसकेपछि अनलाइन चलाउन त्यति सजिलो भने पक्कै छैन । यद्यपि, झट्ट हेर्दा यो साह्रै सजिलो लाग्छ । केही सय रुपैयाँमा डोमेन रजिष्ट्रेशन गर्यो, केही हजारमा अनलाइनको डिजाइन गरायो अनि शुरु भयो, अनलाइन पत्रकारिता । त्यसपछि शुरु हुन्छ, ‘‘एकै क्लिकमा संसारभर’’ भन्ने नारासहित अनलाइनमा समाचार सम्प्रेषणको काम । शुरुवातमा देखिएको यही सजिलो र छरितोपनकै कारण अनलाइनको बाढी नै आएको छ । यही बाढीले जीवन शर्माको गीतको हरफले भनेको ‘‘उर्लेर आउँदा गण्डकीको भेलले, यी ढुङ्गे बगर कहाँ लाने हो ?’’ भएको छ ।

प्रेस काउन्सिल नेपालको तथ्याङ्कअनुसार सूचीकरणका लागि प्राप्त भएका अनलाइनका निवेदनहरुमात्रै १ हजार ५ सय ४० रहेका छन् । सूचीकरणका लागि नआएका र विदेशबाट सञ्चालित अनलाइनहरुको त कुनै हिसाव नै छैन । लगानी, दक्ष जनशक्ति र व्यवस्थापनको कुनै पनि पक्षलाई आत्मसात नगरी लहड र रहरको भरमा हचुवामा अनलाइन खोलिहाल्ने प्रवृत्ति ह्वात्तै बढेको छ । झट्ट हेर्दा सानो लगानीमा अनलाइन स्थापना गर्न सकिने देखिने भएकाले एउटा अनलाइन खोल्यो अनि पत्रकार भइहाल्न्छि नि भन्ने मानसिकताले झण्डै झण्डै अव्यवस्था र अराजकताकै स्थिति सिर्जना भएको छ । पत्रकारिताको आधारभूत तालिमसम्म नलिएका शिकारुहरु नै अनलाइनको सञ्चालक, प्रकाशक, सम्पादक र रिपोर्टर भएपछि के चाहियो ? छ्यापछ्याप्ती खुलेका यस्ता अनलाइनहरुकै कारण समग्र नेपाली पत्रकारिताको अनुहार वा छवि त्यति राम्रो छैन । जे पनि समाचार, जो पनि पत्रकार, जस्तो पनि पत्रकारिता ! यस्तो प्रवृत्तिले सिङ्गो पत्रकारिता जगत नै बदनाम बनेको देखिन्छ ।

एकातिर बग्रेल्ती खुलेका अनलाइनहरुको काँचो जनशक्ति र अर्कोतिर ब्रेकिङ न्यूज दिने होडबाजी, र्याङ्किङ बढाउने लोभ र भिजिटरको आधारमा फेसबुकले दिने इन्स्ट्याण्ट आर्टिकलको डलर प्राप्त गर्ने लालचमा मिर्च मसाला भरेर शीर्षक राख्ने प्रवृत्तिले त पत्रकारिताको गरिमालाई धूलिसात नै बनाइदिएको छ । यही चक्करमा केही अनलाइनहरुले देशकै प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको शीर्षक राखेर समेत समाचार प्रकाशित गर्न भ्याए । कहींकतैं दुर्घटनामा चर्चित व्यक्तित्वको नामसँग मिल्ने कुनै व्यक्तिको मृत्यु भएमा उक्त नामसँग मिल्ने चर्चित व्यक्तिकै मृत्यु भएको हो कि भन्ने आभास दिनेगरी समाचार सम्प्रेषण गरिदिने प्रवृत्ति पनि उत्तिकै छ । यसले गर्दा कानुनी कारवाहीको दायरामा तानिने त पक्कापक्की नै छ, त्यसले सिङ्गो पत्रकारिता जगतको मुहारमा हिलो छ्याप्ने काम गरिरहेको छ र हाम्रा सञ्चारमाध्यमहरुको विश्वसनीयता खर्लप्पै सकिएको छ । यद्यपि केही अनलाइनहरु पत्रकारिताका सिद्धान्त, मूल्यमान्यतालाई आत्मसात गर्दै जिम्मेवाररुपमा प्रस्तुत हुँदा पनि ती ओझेलमा परेका छन् र उनीहरु हुलमुलमा थिचिएका छन् । जब सञ्चारमाध्यमको विश्वसनीयता समाप्त हुन्छ, कुनै सञ्चारकर्मी वा सञ्चारमाध्यमका लागि योभन्दा दुःखद कुरा अरु के हुन सक्छ ? के यो सञ्चारकर्मी वा सञ्चारमाध्यमको मृत्यु वा अवसान होइन ?

के हामी आफ्नै मृत्यु रोज्न तयार छौं ? के हामी आफ्नै अवसान रोज्न तयार छौं ? मृत्यु वा अवसान रोज्न तयार छैनौं भने समाधानको बुटी पनि हामीसँगै छ । ऐनाअगाडि उभिएर आफ्नै अनुहारलाई नियाल्ने र फोहर देखिए धोइपखाली गरेर सुन्दर बनाउने कर्तव्य पनि हाम्रै हो । त्यसका लागि त्यति ठूलो लगानी वा त्याग पनि गर्नै पर्दैन । सामान्यभन्दा सामान्य कुराहरुमा सचेत भए पुग्छ ।

‘‘देर आए दुरुस्त आए’’
ब्रेकिङ समाचार दिने, भिजिटर बढाउने, र्याङ्किङ बढाउने, इन्स्ट्याण्ट आर्टिकलबाट डलर कमाउने लोभमा धेरैजसो अनलाइन सञ्चालकहरु परेका हुन्छन् । यसले गर्दा चिप्लिने सम्भावना अत्यधिक रहन्छ । ब्रेकिङ समाचार दिने नाउँमा गल्ती गरेर धेरै तनाव दिने, सत्य नबुझेर कसैलाई लाञ्छित गर्ने, बदनाम गर्ने भन्दा ‘देर आए दुरुस्त आए’ भन्ने नीतिलाई आत्मसात गरेमा कहींकतै चुक्ने सम्भावना रहन्न वा कम हुन्छ । यसले गर्दा हाम्रो सञ्चारमाध्यमको विश्वसनीयता बढ्नेछ र अन्यत्र पढेका समाचारमा विश्वास नलागे पाठकले हाम्रो सञ्चारमाध्यम खोज्ने दिन पक्कै आउने छ र त्यसले दीर्घकालीनरुपमा हाम्रो सञ्चारमाध्यमको भिजिटर र र्याङ्किङलाई पनि फाइदा नै पुग्नेछ । यसले अन्ततः हाम्रो पत्रकारिताको अनुहार सङ्लो बनाउन पनि उत्तिकै भूमिका खेल्ने छ ।

सत्य/तथ्यको चेकजाँच
कुनै पनि घटनाको सत्य÷तथ्य चेकजाँच गर्ने प्रवृत्ति छँदै छैन भन्दा पनि हुन्छ । अधिकांश अनलाइनहरु कहींकतै केही देख्यो कि ब्रेकिङ हान्ने सुरमा हुन्छन् । कम्तिमा एकपटक सम्बन्धित स्रोतसँग बुझेर सत्य÷तथ्य चेकजाँच गर्ने हो भने हाम्रा सञ्चारमाध्यमहरुको विश्वसनीयता फर्काउन सफल हुने थियौं । यसबाट अनावश्यकरुपमा कानुनी झण्झटमा फस्ने, तनाव झेल्ने र धम्की र खप्की खानुपर्ने अवस्थाबाट मुक्ति पनि मिल्नेछ ।

आचारसंहिताको कडाईपूर्वक पालना
आचारसंहिताको कडाईपूर्वक पालना हामीले हाम्रो अनुहार सङ्लो र सफा बनाउने अचुक बुटी हो भन्दा अत्युक्ति नहोला । हामी आफैले आफ्ना लागि बनाएको आचारसंहिताको अक्षरशः पालना गर्नसकेमा सुनमा सुगन्ध हुनेछ । आचार भन्नाले कुनै नियम, सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रुप बुझिन्छ । त्यसै आधारमा गरिने व्यवहार, रीति वा प्रथा, चालचलन, बानीबेहोरा, चरित्र नै आचार हो । आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्यालाई हामी आचारसंहिता भन्छौं । यही आधारमै प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुका लागि ‘आचारसंहिता’ जारी गरेका हुन् ।

पत्रकार आचारसंहिता– २०७३ मा पत्रकार वा सञ्चारमाध्यमहरुले के गर्ने, के नगर्ने ? भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको छ । पत्रकार र सञ्चारमाध्यमहरुले पालना गर्नुपर्ने कर्तव्यमा १५ बुँदा र पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कुरामा १५ बुँदा समेटिएका छन् । १. प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन, २. मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, ३. पेशागत मर्यादा तथा व्यवहार, ४. सामाजिक दायित्व, ५. सम्पादकीय स्वतन्त्रताको सम्मान, ६. सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण, ७. समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण, ८. गोप्य स्रोतको संरक्षण, ९. गोपनीयताको हकको सम्मान, १०. भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता, ११. राष्ट्रिय विपद्मा संयम, १२. मत सर्भेक्षणमा सतर्कता, १३. अन्तर्वार्तामा सजगता, १४. अनलाइन सञ्चारमाध्यमको जिम्मेवारी र १५. गल्ती सच्याउने तत्परता गरी १५ बुँदामा हाम्रा कर्तव्यहरु के हुने भनेर स्पष्ट गरिएका छन् । त्यस्तै, (१) सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, २. भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, ३. हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने, ४. पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण, ५. घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख, ६. बीभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण, ७. फोटो तथा दृश्यको गलत प्रयोग, ८. विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुति, ९. पोस्ट डिलिट, १०. अनुचित दवाब वा सम्बन्ध, ११. प्रविधिको अदृश्य प्रयोग, १२. न्याय निरूपणमा प्रभाव, १३. पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण, १४. मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर, १५. जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना जस्ता १५ बुँदामा पत्रकार र सञ्चारमाध्यमहरुले गर्न नहुने काम भनेर स्पष्ट व्याख्या गरिएको छ । र, यो आचारसंहिता अलिकति प्रयास गर्ने हो पनि सजिलै प्राप्त गर्न सकिन्छ ।

निष्कर्ष
समाचारको अङ्ग पूरा गर्नुपर्छ र त्यसका लागि समाचारसँग सम्बन्धित स्रोत तथा आधिकारिक व्यक्ति÷निकायबाट पुष्टि गराउनु जरुरी छ । त्यसपछि दोहोरो जाँच गरियो र हामीले नै हाम्रा लागि बनाएको ‘पत्रकार आचारसंहिता’लाई अक्षरशः पालना गरियो भने धेरै हदसम्म हामी सही ठाउँमा उभिएका हुनेछौं । विद्युतीय वा छापा सञ्चारमाध्यम तथा तिनमा कार्यरत पत्रकारहरुले आफ्नै आचारसंहितामा उल्लिखित बुँदाहरुलाई मात्रै अक्षरशः पालना गरेको अवस्थामा अनावश्यकरुपमा कानुनी उल्झनमा फस्ने, असन्तुलित समाचारका कारण अर्को पक्षबाट हुनसक्ने दवाव, धम्की वा भौतिक आक्रमणका घटना नहुने र समग्रमा आलोचनात्मक चेतसहितको जिम्मेवार, गरिमायुक्त, स्वस्थ, मर्यादित र व्यवसायिक पत्रकारिताको अभ्यासमा हामी हुनेछौं । त्यसका लागि ऐनाअगाडि उभिएर हामीले आफ्नै अनुहार हेर्न आवश्यक छ । आफ्नो कामको समीक्षा गर्न जरुरी छ । त्यसो भएमा सधैंभरि अरुलाई प्रश्न गरिरहने हामीतिर प्रश्न सोझिने छैनन् । प्रश्न गरिरहने हाम्रो हैसियतमाथि नै प्रश्न सोझियो भने वा हाम्रो कर्मप्रतिको जनविश्वास गुम्यो भने मान्नुस् हाम्रो पत्रकारिता र हाम्रो कर्म मर्नेछ । के हामी मर्न तयार छौं ? होइन भने आफ्नो पेशाप्रति गौरवबोध गर्ने वातावरण बनाउने अचुक बुटी वा जिम्मेवारी पनि तपाईहाम्रै हातमा छ ।

[email protected]

साभार:  पत्रकारिता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार