दुर्घटनामा ज्यान गुमाएका को–पाइलट सन्तोष रानाको ‘सिर्जना र सम्झना’

  पहिलोपेज

 956 पटक हेरिएको

काठमाडौँ, १ बैशाख । पाइलट तथा गीतकार सन्तोष रानाको गीति एल्बम ‘सिर्जना र सम्झना’ प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलबाट लोकार्पित भएको छ ।

पारिवारिक रूपले आयोजना गरिएको लोकार्पण समारोहको सुरुमा सन्तोष रानाका दाजु तथा एल्बमका निर्माता प्रकाश रानाले स्वागत मन्तव्य राखेका थिए । आफ्नो भाइ केवल भाइको रूपमा मात्र नभएर आफ्नो बाल्यकालदेखिको साथीसमेत रहेको बताउँदै प्रकाश सन्तोषको यादमा निक्कै गम्भीर बनेका थिए । बोल्दाबोल्दै सम्हालिन नसकेका प्रकाशलाई देख्दा दर्शकहरू पनि गम्भीर बनेका थिए ।

त्यसपछि सन्तोषका बुवा प्रतिनिधि सभाका सदस्य तथा निवर्तमान भूमिसुधार मन्त्री दलबहादुर रानाले प्रमुख अतिथि विष्णु पौडेल र अन्य विशिष्ट अतिथिहरूलाई खादाले स्वागत गरेका थिए । स्वागतपछि प्रमुख अतिथि पौडेलले सन्तोष रानाको ‘सिर्जना र सम्झना’ गीतिएल्बम लोकार्पण गरेका थिए ।

लोकार्पणलगत्तै एल्बमको एक नम्बरमा रहेको गीत ‘तिमी हाँसेको देख्दा’को म्युजिक भिडियो प्रमुख अतिथिले नै माउस क्लिक गरेर सार्वजनिक गरेका थिए । सो म्युजिक भिडियोमा सनम कठायत र नतशा ब्लोनको भूमिका रहेको छ । दोस्रो म्युजिक भिडियो ‘धर्तीमा हुँदा’को सार्वजनिकसँगै सबै दर्शकहरू गम्भीर बनेका थिए । सन्तोषका बुवाआमा, आफन्त, विशेष अतिथिलगायत समारोहमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । सन्तोषको जहाज दुर्घटनाको मार्मिक विषय बोकेको यस म्युजिक भिडियोमा सन्तोषकै पिता दलबहादुर राना र आमा यामकुमारी रानाको पनि भूमिका रहेकाले भिडियो झनै मार्मिक बनेको छ । सन्तोषको बाल्यकालको भूमिकामा विमोचन झाँक्रीमगर, दाजु प्रकाश रानाको भूमिकामा सरगम पुन रहेका छन् भने मुख्य भूमिकामा सनम कठायत छन् । क्याप्टेन दिनेश न्यौपानेको भूमिकामा टेकेन्द्र शाह रहेका छन् ।

म्युजिक भिडियोहरूको सार्वजनिकीकरणपछि प्रखुम अतिथि माननीय विष्णु पौडेलले एल्बम र म्युजिक भिडियोसँग जोडिएका सबै कलाकार र प्राविधिकहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए । त्यसपछि मन्तव्य राख्दै पौडेलले आफू राना परिवारसँग धेरै नजिक रहेको र सन्तोषको कला, गीतसङ्गीत र साहित्यप्रतिको लगावले आफूलाई पनि प्रभावित पारेको कुरा राखेका थिए । सन्तोषजस्ता राष्ट्रका असल सपुतहरूका कृतिहरूले देश र समाजलाई मार्गदर्शन गरिरहने कुरा पनि राखेका थिए । पौडेलको मन्तव्यपछि एल्बमका तीनवटा अडियो गीत बजाएर सार्वजनिक गरियो । त्यसबीचमा कार्यक्रम सञ्चालक भावेश भुमरीले सन्तोष र प्रकाशसँगका विगतका सन्दर्भहरू कोट्याए । यस एल्बमका तीनवटा भिडियो निर्देशन गरेका भुमरीले बाँकी तीनवटा भिडियोमा पनि सनम कठायतकै भूमिका रहने कुरा राखेका थिए । यस्तो गर्नुको कारण प्रष्ट्याउँदै भुमरीले भने, ‘सन्तोषको ठाउँमा फरक फरक कलाकार नदेखियोस् ।’ भुमरीले सन्तोषको एउटा अमर कृति बनाउन एल्बमको स्तरमा बढी ध्यान दिएको कुरा पनि प्रष्ट्याए ।

कार्यक्रमको अन्त्यतिर मन्तव्य राख्दै दलबहादुर रानाले छोरा सन्तोषको बाल्यकालदेखि दुर्घटना र त्यसपछि छोराको नाममा गरिँदै आएका परोपकारी कार्यहरूका बारेमा चर्चा गरेका थिए । सन्तोषको नाममा दुईवटा स्कुलमा अक्षयकोषको व्यवस्था गरी गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको जानकारी गराए । सन्तोषलाई पढाउँदाका दुःख र जागिर नपाउँदाका पीडा पनि स्मरण गरे । एक छोरा युके, अर्को छोरा पाइलट कति सुखी परिवार थियो भन्दै विगत सम्झिँदै भावुक बने । अहिले सन्तोषको नाममा सामाजिक र परोपकारी कार्यहरू गर्दा सन्तोषकै सम्झनाले धेरै गाह्रो हुने, नगर्दा सबैले बिर्सेलान् कि भन्ने पीर लाग्ने कुरा पनि राखे ।

कार्यक्रमको अन्तिममा सन्तोष रानाकै रचना ‘तिम्रो उचाइ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । जसमा सनम कठायत र पूजा सिलवालको भूमिका छ । तीनवटै म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

सन्तोष रानाको जन्म वि.सं. २०४४ साल कार्तिक १३ गते दलबहादुर राना र यामकुमारी रानाको कान्छो छोराको रूपमा पाल्पाको रामपुरमा भएको थियो । जनविकास उच्च मावि पाल्पाबाट औपचारिक शिक्षा सुरु गरेका सन्तोषले अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगर, काठमाडौँबाट एसएलसी उत्तीर्ण गरी एनआइएसटी, लैनचौर र रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँबाट उच्च शिक्षा हासिल गरेका थिए । पाइलट बन्ने लक्ष्यका साथ सन्तोषले शिवानी एयर पाइलट तालिम चितवन, वल्र्डसिटी कलेज फिलिपिन्स र अमेरिकाबाट पाइलटसम्बन्धी औपचारिक शिक्षासहित तालिम पनि लिएका थिए । २०६२ साल वैशाखदेखि एयर काष्ठमण्डपको जहाज उडाउन थालेका सन्तोष २०७२ साल फागुन १४ गते शुक्रबार, कालिकोटको चिलखायामा सो एयरको जहाज दुर्घटनामा परी क्याप्टेन दिनेश न्यौपानेसँगै स्वर्गीय भएका थिए । त्यस दुर्घटनामा दिनेश र सन्तोषले बडो साहसका साथ सबै नौजना यात्रुहरूको ज्यान बचाएका थिए । नेपाल सरकारबाट मरणोपरान्त वीरता पदक २०७२ प्राप्त गरेका सन्तोषको यो पहिलो एल्बम प्रकाशन भएको हो ।

तीक्ष्ण बुद्धिका सन्तोष सानैदेखि कला, साहित्य, सङ्गीत र खेलकुदमा रुचि राख्थे । स्कुल पढ्दादेखि नै गितार र मादल बजाएर गीत गाउने सन्तोषको आधुनिक गीत गायनमा रुचि थियो । सन्तोषकै स्वरमा केही पुराना कभर गीत र केही नयाँ खालका गीत पनि युटुबमा हेर्नसुन्न पाइन्छन् । दाजु प्रकाश रानाले एल्बम निकालिदिने कुरा गर्दा आफैँ कमाएर आफ्नो पैसाले निकाल्ने इच्छा राखेका सन्तोषले केही गीत र कविताहरू रचेका थिए । सन्तोषले रचेका तीनवटा र गीतकार भावेश भुमरीले रचेका सन्तोषसम्बन्धी तीनवटा गरी छ वटा गीतको एल्बम हो ‘सिर्जना र सम्झना’ । सन्तोषका तीनवटै गीत मायाप्रेमका विषयमा छन् । ‘तिमी हाँसेको देख्दा’ र ‘तिम्रो उचाइ’ दुई गीतमा वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाले सङ्गीत दिएका छन् भने क्रमशः गायकहरू थुप्देन भुटिया र कर्मग्याल्छेन बम्जनले गाएका छन् । सन्तोषकै रचनाको ‘धिपधिप बत्तीसँग’ गीतमा दार्जिलिङका ख्यातिप्राप्त सङ्गीतकार प्रदीप क्षेत्रीले सङ्गीत भरेका छन् । यस गीतमा निखिता थापाको स्वर रहेको छ ।

सन्तोष रानाकै जीवनको अन्तिम घटनाको विषय बोकेको ‘धर्तीमा हुँदा’ गीतमा पविधन खालिङको सङ्गीत रहेको छ भने यस गीतलाई महेश सेवाले गाएका छन् । बुवाआमाले सन्तोषलाई सम्झेको विषय बोकेको ‘जन्म दिएँ तिमीलाई’ गीतमा रोशनराज गुरुङको सङ्गीत छ भने कृष्णभक्त राई र बानिका प्रधानको स्वर रहेको छ । दाजु प्रकाश रानाले भाइलाई सम्झेको विषय बोकेको ‘तिमीलाई सधैं’ गीतलाई केशव पौडेलले सङ्गीत दिएका छन् भने स्वरूपराज आचार्यले गाएका छन् । नोर्बु शेर्पा, चाँद सिंह, विष्णु अधिकारी र कुमार थापाका सङ्गीत संयोजन रहेका यी गीत ह्वाइट साउन्ड स्टुडियो अनामनगर, काठमाडौँमा रेकर्ड गरिएका हुन् । सबै गीत मनोज परियारले रेकर्ड गरेका हुन् भने मिन बिष्ट र मनोज परियारले सम्पादन गरेका हुन् । अनिल स्थापितले आवरण डिजाइन गरेको यस एल्बमलाई सुरप्रभा गीत सङ्गीत प्रालिले बजार व्यवस्थापन गरेको छ । यस एल्बमका सबै गीतका म्युजिक भिडियोहरु सुरप्रभा गीत सङ्गीत प्रालि युट्युब च्यानलबाटै सार्वजनिक गरिँदै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार