ग्रामीण विकास र ग्रामीण पर्यटन

  सुवास जीसी

 513 पटक हेरिएको

विकास खाली कुनै क्षेत्रको भौतिक परिवर्तनसङ्ग सम्बन्धित छैन । विकास कुनै पनि क्षेत्र वा पक्षको भौतिकसङ्गै आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक तथा मानवीय चेतनाका सम्पूर्ण अवयवहरुको विकासलाई बुझ्नुपर्दछ । हामीले भौतिक विकासलाई मात्र विकास बुझ्ने गल्ती गर्नु हुँदैन । कुनै पनि पक्षको स्थितिमा भएको सकारात्मक परिवर्तन वा रुपान्तरण विकास हो ।

हामीले विकासको कुरा गर्दा वा त्यसप्रकारका नीतिहरुको निर्माण गर्ने सन्दर्भमा खाली भौतिक विकासमा मात्र जोड दिइरहेका हुन्छौं वा भौतिक विकास नै विकास हो भन्ने बुझाइ रहेको हुन्छ । त्यसरी हामीले प्राथमिकताको निर्धारण गरेका हुन्छौं । यसो गर्दा विकास एकांकी प्रकारको हुन्छ । त्यसकारण हाम्रो ध्यान विकासका सबै पक्षमाथि केन्द्रित हुनुपर्दछ ।

अहिले विकाससम्बन्धी कैयौं नयाँ धारणा, सिद्धान्त, विचार र दृष्टिकोणहरुको विकास भएका छन् । ती सबै सिद्धान्त र दृष्टिकोणको प्रयोग सबै ठाउँमा एउटै रुपमा हुन सक्दैन । फरक भूगोल र फरक सम्भावनामा आफ्नो अनुकूल सिद्धान्तहरुको आधारमा नै विकास सूत्रको प्रयोग गर्नुपर्दछ । अर्थात आवश्यकताका आधारमा अनुकूल विकास नीतिको निर्माण र प्रयोगमा नै हामीले जोड दिनुपर्दछ ।

नेपाल अधिकांश भूभाग गाउँ नै गाउँले भरिएको देश हो । यो देशको विकास गाउँको विकाससङ्ग सम्बन्धित छ । अर्थात् गाउँहरुको विकासबिना देश विकासको सम्भावना छैन । त्यसकारण देशको विकास गर्नु भनेको गाउँको विकास गर्नु हो वा गाउँहरुको विकास भनेको देशको विकास हो । यसरी हामीले हाम्रो देशको विकासको लागि गाउँ विकास नीति अर्थात् ग्रामीण विकास नीतिको अवलम्बन गर्नुपर्दछ ।

नेपालका गाउँहरु सुन्दर छन् । तर ती निकै अविकसित र पिछडिएका छन् । अबको हाम्रो आवश्यकता भनेको ती गाउँहरुको विकास हो । हाम्रा गाउँहरुको विकासको लागि सबैभन्दा उत्तम, सजिलो र छिटो विकास गर्न सकिने भनेको ग्रामीण पर्यटन नै हो । ग्रामीण पर्यटन अर्थात गाउँ पर्यटन । यो गाउँमा पर्यटक लैजाने र त्यसकै माध्यमबाट आयआर्जन गर्ने क्रियाकलाप हो । गाउँको सुन्दर दृश्य, खुल्ला वातावरण, स्वच्छ हावापानी, एकान्त स्थान, परम्परागत समाज र जीवनपद्धति, गाउँहरुको परम्परागत सँस्कृति, साँस्कृतिक बाहुल्यता, प्राकृतिक संशाधन, गाउँलेसङ्गको सम्बन्ध । यी सबै गाउँ पर्यटनका पूर्वाधार हुन् । ती कुराहरुको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन, विकास र परिचालनबाट नै गाउँमा मनग्य आम्दानी हुन सक्दछ ।

गाउँ पर्यटनको लागि हाम्रा गाउँहरु तम्तयार छन् । हरेक गाउँहरुले पर्यटकको स्वागत गर्नको लागि कुरेर बसिरहेका छन् । उनीहरुको लागि अब राज्यको पर्यटन नीतिको आवश्यकता छ । राज्यतहबाट ती गाउँहरुको प्रवद्र्धन र प्रचार गरिनुपर्दछ । राज्यले धेरै लगानी र ठूलो मात्रामा पुर्वधारको निर्माण गर्नुपर्दैन । थोरै लगानीबाट नै गाउँमा धेरै पर्यटक भित्राउन सकिन्छ । गाउँहरु आज जुन अवस्थामा छन्, त्यही अवस्थाबाट नै हामीले गाउँ पर्यटनको सुरुवात गर्नुपर्दछ ।

हाम्रा हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेषभुसा, भाषा, चाडपर्वहरु छन् । ती सबै मौलिक प्रकृतिका छन् । यसरी हरेक गाउँको आफ्नै महत्व र विशेष पहिचान छ । हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछन् । त्यसकारण राज्यले ती सबै गाउँको स्थितिअनुरुपको प्रबद्र्धन योजना बनाउनुपर्दछ र सोही हिसाबले प्रचारप्रसार गर्नुपर्दछ । यो जरुरी छैन कि ती स्थानको परिवर्तन गरियोस् वा त्यहाँका चालचलनहरु नै बदलियोस् । हामीले गाउँका थोरै बानीहरुमा भने परिवर्तन गर्नुपर्छ । हरेक ठाउँमा सफा हुने बानीको मात्र विकास गर्न सक्यौं भने अरु स्थिति आफैमा सुन्दर छ । जस्तै गाउँको सरसफाइ, हिड्ने बाटो, बस्ने ठाउँ, घर वरपर, कोठा, सुत्ने बेड, ट्वाइलेट, प्रयोग गर्ने भाँडा यति मात्रैमा ध्यान दिइयो भने बाँकी कुरा भइरहेको स्थिति नै अद्भूत छ । त्यतिले मात्र गाउँ पर्यटनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । यसको लागि ठूलो लगानी र खर्चको आवश्यकता पर्दैन । राज्यको इच्छाशक्ति र पर्यबटन प्रबद्र्धनको योजना र कार्यक्रम मात्र भए पुग्छ । त्यसलाई लागु गर्नको लागि सरकारी संयन्त्र, ग्रामीण पर्यटन विकास समितिहरु सक्रिय हुन आवश्यक छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा भनेका थिए पर्यटन एउटा त्यस्तो उद्योग हो, जहाँ एउटा चिया पसलेदेखि ठूला उद्योगहरुसम्मले फाइदा लिन सक्छन् । यो पर्यटनको सन्दर्भमा निकै सान्दर्भिक भनाई हो । सानो लगानीका चिया पसल, घरेलु उत्पादनका उद्योगदेखि ठूला गार्मेन्ट उद्योगहरु, अर्गानिक उत्पादनका कारखानाहरु, अन्य दैनिक उपभोग्य समानको उत्पादनदेखि हवाई उद्योगसम्म पर्यटन उद्योगमा पर्दछ । ती सबै क्षेत्रमा लगानी गर्न सकिन्छ र ग्रामीण पर्यटनलाई एउटा ठूलो उद्योगको रुपमा विकास गर्न सकिन्छ ।

आज विश्व यति धेरै व्यस्त र बोरिङ भइसकेको छ कि आफ्नो कामको लागि मान्छे दिनरात मेसिनजस्तै पिसिएको छ । तनाव र चिन्तामा मान्छे कुदिरहेको हुन्छ । यही सिलसिलामा मानिसहरु आफ्नो कार्यक्षेत्र छोडेर केही समय आफूलाई फ्रेस बनाउनको लागि अलि टाढाको अर्को ठाउँ निस्कन चाहन्छ । विश्वको लागि नेपाल र नेपालीको लागि देशभित्रको फरक भूगोल त्यो नै आनन्दको स्वर्ग हो र एउटा फाइनल डेस्टिनेशन । जहाँ रमाउनको लागि सयौं कुरा छ, आनन्द लिनको लागि हजारौं कुरा छ । हाम्रो गाउँले परिवेशले मान्छेको मनलाई रोमाञ्चित बनाउँछ, भावुक बानाउँछ र मान्छेले आफ्नो पीडा भुल्छ, आनन्द प्राप्त गर्दछ ।

होमस्टे अर्थात घर बास । हाम्रो पुरानो चलन छ, साँझमा घरमा बास बस्न आएको बटुवालाई बास दिने । घरमा पाकेको कुरा खान दिने र कतै सुत्न दिने । अहिलेको होमस्टे त्यसकै विकसित रुप हो । पाहुना घरमा आउँछन् घरमै पाकेको खाना खान दिने ढिंडो, फापरको परिकार, गुन्द्रुक, भटमास, हरियो सागपात, सिस्नो, टिमुर, पुदिना, धनियाजस्ता खाना सहितको गाउँले परिकारले स्वागत गर्ने । घरको एउटा सफा कोठाको सफा बिस्तारामा सुत्न दिने । घरको परिवारको सदस्य जस्तै व्यवहार गर्ने । घरले गर्ने यत्ति हो । बाँकी कुरा आउने पर्यटकले मजा लिने हो । एउटा विदेशीले महंगा र ठूला होटलबाट गाउँको सानो घरमा त्यसरी खानु बस्नुमा बेग्लै आनन्द प्राप्त गर्दछ । त्यो घर, परिवार र समाजको संस्कारसङ्ग परिचित हुन्छ । ऊ त्यो घरका हरेक क्रियाकलापप्रति यति धेरै आशक्त हुन्छ कि सबै कुरा र व्यवहार अनौठा र लोभलाग्दा पाउँछ । यसरी कुनै पर्यटन एक दुई दिन, कुनै एक हप्ता त कति महिनौं दिनसम्म पनि गाउँमै बस्छन् । बसे बापतको निश्चित रकम घरले पाउँछ । यही नै हो ग्रामीण पर्यटन । यसले गाउँको विकासमा धेरै सकारात्मक परिवर्तनहरु गरिदिन्छ । पूर्वाधारको विकास हुन्छ, आफ्ना संस्कार र संस्कृतिप्रति माया र सद्भावको विकास हुन्छ, चेतना र ज्ञानको क्षेत्रमा बृद्धि हुन्छ, आर्थिक उपार्जनले स्वावलम्बी बानीहरुको निर्माण हुन्छ । यसरी ग्रामीण जनताको जीवनस्तरको परिवर्तनमा ग्रामीण पर्यटनको धेरै नै महत्व छ ।

ग्रामीण पर्यटनका अन्य कयौं कार्यक्रमहरु छन् । हामीले स्थान र परिवेशअनुसार पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्दछ । गाउँमा चल्दै आएका, हामीले प्रयोग गर्दै गरेका विभिन्न क्रियाकलापहरु पर्यटनका पक्षहरु बन्न सक्दछन् । ती विषयमा अबका स्थानीय निकायहरुले सुक्ष्म अध्यन अनुसन्धान गर्नुपर्छ । आफ्नो निकायमा संचालन गर्न सकिने सम्भाव्य पर्यटन कार्यक्रमहरुको प्राथमिकताका आधारमा संचालन गर्नुपर्दछ । यसको लागि राज्यले देशभरका गाउँहरुको वर्गीकरण गरी पहिचान खुलाउन सक्नुपर्छ र ती ठाउँहरुको प्रचार प्रसार र प्रबद्र्धनमा ठूलो सहयोग गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार