पत्रकार महासंघ भारत शाखाको अध्यक्षमा पुनः आर्यन

  देवेन्द्र केसी

 367 पटक हेरिएको

नयाँ दिल्ली, २४ चैत । नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । महासंघकै कार्यालय हल तीस हजारी दिल्लीमा सम्पन्न अधिवेशनबाट लोकेश शाह ‘आर्यन’ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका छन् ।

भारतमा कार्यरत राजनीतिक, कुटनीतिक तथा सामाजिक संस्थाहरु, नेपाली राजदूतावास, वित्तीय संस्था, नेपाल एयरलाइन्सका प्रतिनिधिहरुको उपस्थितिमा महासंघ भारत शाखाले नयाँ कार्यसमिति पाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले भारतबाट सुरु भएको नेपाली पत्रकारिताले आज भारतमै नेपाली पत्रकारहरुको सञ्जाल खोल्ने र ऐक्यबद्घ हुने गौरव हासिल गरेको बताए । अध्यक्ष आचार्यले भारत शाखा नेपाली नागरिकमैत्री र इन्डो–नेपाली पत्रकारहरुबीच पुलको रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

घोषणासभामा बोल्दै नेपाली दूतावासका सांस्कृतिक काउन्सलर होमप्रसाद लुइँटेलले राजदूत नीलाम्बर आचार्यद्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित पदाधिकारीहरुको कार्य सफलताको शुभकामना दिएका थिए ।

को को चुनिए शाखामा ?
हिजो पहाडगन्जस्थित होटल स्वीसटोनमा भएको बन्दसत्रले ब्यापक छलफल गरी महासंघ केन्द्रीय समिति अध्यक्ष गोबिन्द आचार्यको रोहवर र लोकेश शाह ‘आर्यन’को अध्यक्षतामा सर्वसहमतिमा कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष देवेन्द्र कुँवर र महासचिव अर्जुन खनाल चुनिएका छन् । त्यस्तै खुल्ला सचिव देवेन्द्र केसी, समानुपातिक सचिवमा धनवीर पुन, कोषाध्यक्ष धनबहादुर बिक चुनिएका छन् । सदस्यहरुमा क्रमशः बाबु रोका ‘मगर’, इन्द्रकमल जैरु, भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चुनिएका छन् । प्रथम कार्यसमिति बैठकले प्रवक्ता र प्रान्तीय संयोजकहरुको टुंगो लगाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार