चित्लाङको यात्रा र इन्द्रसरोवर तालमा शयर गर्दाको त्यो क्षण

  सम्झना पौडेल

 334 पटक हेरिएको

जिन्दगीका हरेक आरोह–अवरोहमा दृश्यहरू देखिन्छन्, भेटिन्छन् तर सबैलाई कैद गर्न सकिँदैन । कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव उर्जाशील बनाउन मद्दत पु¥याउँदो रहेछ । यात्राको क्रममा कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि कतै यो स्वर्गको टुक्रा नै पो हो कि ? कति कुरालाई आँखाले देखिँदैन जसलाई मनले हेर्नुपर्ने हुन्छ । तर कतिपय यस्ता हुन्छन् जो मनबाट पनि आँखाबाट पनि देख्न सकिन्छ । मैले पनि जीवनमा थोरै ठाउँहरूको यात्रा गर्ने अवसर पाएको छु । त्यसमध्ये एक हो– मेरो गृह जिल्लामा रहेको अर्थात् मकवानपुरको चित्लाङ ।

चित्लाङको नामकरण सम्बन्धमा ‘चित्लाङ अर्थात् सम्राट अशोकले छोरी चारुमतीका नाममा चावहिलमा बौद्ध बिहार निर्माण गर्नुअघि चैत्य बनाएको (२३ सय बीस बर्षपहिले) र दक्षिणबाट राणाकालमा नून (चि) बोकेर काठमाडौँ लगिने मुख्य बाटो (लँ)’ । (प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठको फेसबुकबाट)

काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ । जसअनुसार सबैभन्दा कम दूरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटरमा चित्लाङ पर्छ । दक्षिणकाली फर्पिङ कुलेखानी भएर जाँदा ५२ किलोमिटरको दूरीमा चित्लाङ पुगिन्छ । अर्को अझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट नजिकै, फरक र सुन्दर जसको पनि मन खिच्न सक्ने एउटा टुक्रा हो, चित्लाङ । मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ठाउँ हो चित्लाङ । हामी पनि यही चैत २० गते दिउँसो ३ बजे अफिसबाट कार्यशाला गोष्ठी एवं समीक्षाको लागि चित्लाङ पुग्यौं । चित्लाङमा पहिलो दिन काउन्सिलको यो वर्षको हालसम्मको प्रगति, असारमा मसान्तसम्मको कार्यक्रम र आगामी आ.व.को बजेट÷कार्यक्रम सम्बन्धमा प्रारम्भिक छलफल भयो । दोस्रो दिन माथि पेश भएका प्रगति र कार्यक्रमको रुपमा बुँदागत एवं शाखागत छलफल भई काउन्सिललाई थप प्रभावकारी बनाउन नियमित कार्यक्रम आचारसंहिता जागरण, मिडियाप्रतिको जनगुनासो सुनुवाई, प्रशिक्षण, संवाद तथा अनुसन्धान कार्यक्रमका साथै अभिलेखीकरणका र अनुगमन प्रणालीलाई सुदृढ गर्ने मिडिया डाटा सेन्टर स्थापना गर्ने, मोवाइल एप्स निर्माण गर्ने, थप अनुगमनकर्ता व्यवस्था गर्ने जस्ता विषय प्राथामिकताका साथ अघि सार्ने विषयमा छलफल केन्द्रित भएको थियो । कार्यक्रम माथि उल्लेख भएअनुसार अफिसियल नै थियो र पनि जाने आउने र बचेको समयमा स्थानीय पर्यटकीयस्थलहरुको समेत भ्रमण गर्ने अवसर मिल्यो ।
चित्लाङ भ्रमणको क्रममा मनमोहक एवं यादगार क्षणको रुपमा हामीले बैठक सकिएपछि कुलेखानी गएर इन्द्रसरोवर तालमा बिताइएको पललाई लिन सकिन्छ । जसलाई संक्षेपमा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

पहिलो दिन– लाग्थ्यो हामी हाँस्न, नाच्न र गाउनकै लागि जन्मेका हौं । बाटो साँघुरो थियो । ठूलो बस छिर्न पनि गाह्रो तर हामी त्यही बाटोमा गुडिरहेको बसभित्रै नाच्यौं । विशेषगरी सहकर्मी मदनकृष्ण सिलवाल, सविता ढकाल, कुशल अर्याल, विशाल पौडेल अनि म । लाग्यो बसभित्र हामी यतिमात्रै थियौं । तर हाम्रो त्यो बसमा अन्य सहकर्मी मित्र तथा अग्रज सरहरु पनि सरिक हुनुहुुुन्थ्यो । विशेषगरी हामीलाई प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामशरण बोहराले नेतृत्व तथा अभिभावकत्व भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी अर्का उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, महेन्द्र सिंहलगायत सहयात्रीहरुले मनोरञ्जनमा सघाउ पु¥याउनुभएको थियो । कहिले बजिरहेको गीतसँगै ठूल्ठुला आवाजमा गीत गाउँथ्यौं । कहिले गीतको शब्दसँगै चित्लाङ नै थर्कने गरी हाँस्थ्यौं । कहिले अभिनय र नक्कल गर्दै नाच्यौं । सायद हामीहरूको विशेषता नै त्यही थियो होला ।

बसमा निकै नाच्दै, हाँस्दै र उफ्रँदै हामी ३ घण्टामा चित्लाङ पुग्यौ । विशेषगरी काठमाडौंमा धुलो बढी भएर होला खुल्ला र नीलो आकाश कमै देख्न पाइने तर चित्लाङबाट खुल्ला र नीलो आकाशको सहकर्मी सविता ढकालले निकै मज्जा लागेको कुरा सुनाउनुभयो । जुन मैले पनि भरपूर अनुभूति लिएको थिए । चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी पाइयो । तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन देख्दा आँखाको धित मर्नेगरी हेरेको हेर्यै भयौं । त्यतिमात्रै होइन, हामीले आधी बाटोभरि लालीगुराँस र भर्जिन प्रकृतिसँग रमाउने अवसर प्राप्त गर्यौ ।

बाटोभरि जंगल राताम्ये छ । जंगलै फुलेका लालीगुराँस हेर्न र गुराँससँग सेल्फी खिच्न साथीहरू निकै लालायित देखिन्थे । मनभित्र यस्तो लाग्यो गुराँसमै टासिउँ, सुम्सुम्याउ, टिपूँ र खाऊँ । गुराँसको खानी नै रहेछ भन्दै हामीले पनि बसभित्रैबाट दृश्यहरूलाई कैद गर्यौ ।

करीब ३ घण्टाको यात्रापछि जब हामी बसबाट ओर्लिएर होटलमा पुग्यौ हामीलाई स्वागत गर्न सिस्नुको तातो सुप पाउँदा ‘अथिति देवो भवः’लाई सार्थक पारेको अनुभूत गरियो । हामी बसेको होटल वरिपरि हरियाली घाँसे चउर र नासपातीको घना बगंैचाकै बीचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स–साना कटेजले साच्चै नै जीवनमा कहिल्यै नपाएको आनन्द दिलायो । त्यसपछि रातमा क्याम्प फायरको मज्जा । गर्मी महिनामा पनि चित्लाङमा साँझ परेपछि जाडो हुने भएकाले क्याम्प फायरको मज्जा बेग्लै भयो ।

भोलिपल्ट मनै लोभ्याउने मानव निर्मित इन्द्रसरोवर ताल
बिहानको बे्रकफास्टसँगै हामीले बिहान वरिपरि घुम्यौ । चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर ताल र चन्द्रागिरिसम्म हाइकिङ गर्न सकिने रहेछ । विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ । जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित छ । कुलेखानी अर्थात इन्द्रसरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ । हो, हामी पनि भोलिपल्ट बिहानको खाना र बैठक सकेर काठमाडौं फर्कने क्रममा इन्द्रसरोवर ताल पुग्यौं । मार्खु र कुलेखानीअन्तर्गतका गहिरो खोँचमा बाँध बाँधी नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय इन्द्रसरोवर आफैँमा एक नौलो नमूना हो । करीब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानव निर्मित ताल अवलोकन गर्न हामी एकदमै उत्साहित थियौं । मकवानपुरको मार्खुमा रहेको यस तालमा डुङ्गा शयर र तालको सौन्दर्य नियाल्न ठूलो अवसर थियो । कुलेखानी वरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित बनायो । जब तालमा पुग्यौ तब धैर्यताको बाँध फुट्यो ।

हामीमात्रै होइन त्यहाँ अन्यत्रबाट आउनुभएका पर्यटकहरू उत्साहित देखिन्थे । हामीले पनि डुङ्गा शयर गर्ने भयौं । त्यसको लागि सुरक्षित ज्याकेट लगायौं । हामी ५ वटा डुङ्गामा बसेका थियौं ।

इन्द्रसरोवर तालमा डुङ्गा शयर गर्दा गरिएका रमाइला तथा रोचक कुराकानी
बोल्न मनपर्ने म । सायद कतिपयलाई त झर्को लाग्दो हो । तर के गर्नु रेडियोमा काम गर्नेहरूको विशेषता नै यही हो । जहाँ गयो बोल्नुपर्ने, प्रश्न सोध्नुपर्ने । मोबाइल झिकेर मैले भिडियो गर्दै सबैलाई एक–एक गर्र्दै प्रश्न गर्न थालें । दुईवटा डुङ्गामा शयर हामीहरूबीच दोहोरी पनि चल्यो । केही रमाइला किस्साहरू पनि चल्यो ।

क–कस्लाई कस्तो लाग्यो त ?
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ईश्वरीप्रसाद ओझा
नेपालमा यस्ता धेरै तालहरू छन् । इन्द्रसरोवर तीमध्ये पनि एक महत्वपूर्ण ताल हो । यो तालमा डुङ्गा शयर गर्न पाउँदा मन निकै आनन्दित भएको छ । यो अवसर जुटाएकोमा आयोजकलाई धन्यवाद छ । सबै साथीहरू खुशी हुनुहुन्छ । यहाँ पर्यटनको प्रचूर सम्भावना पनि छ । यो कार्यक्रम पनि एक महत्वपूर्ण हो । धन्यवाद ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी
साथीहरूसँग आज निकै रमाइलो भइरहेको छ । यो मार्खुमा डुङ्गा शयर मेरो जीवनमै पहिलो हो । हिजो बेलुका पनि साथीहरूले पृथ्वीले थाम्ने गरी रमाइलो गर्नुभयो । त्यसको लागि मलाई रमाइलोसँगै स्मरणीय क्षण भयो । यस्ता कार्यक्तमहरू बेला–बेलामा हुनुपर्छ भन्ने मेरो आग्रह हो ।

मुख्य अधिकृत झविन्द्र भुसाल
यहाँको सबै चिज अर्गानिक भन्ने रहेछ । हामी पनि डुङ्गा चढी इन्द्रसरोवर ताल घुम्न आएको, यस्तो सुन्दर ठाउँ आउँदा निकै रमाइलो भएको । सधैं विकासे खान्की खाएर होला, केही साथीहरुलाई अर्गानिक खानाले नसहेर पेट पोलिरहेको छ । यो तालले गर्दा पर्यटकलाई लोभ्याएको छ । यस्ता तालले विद्युत उत्पादनका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दछ ।

लेखा अधिकृत सविता ढकाल
यसको आनन्दको सीमा छैन । कुनै शब्द छैन । यो मेरो फस्ट अनुभव हो । यस्तो बृहत ताल घुमेको पहिलोपटक हो । मन एकदम चञ्चल भएको छ । दुःखपीर सबै यहीं छाडेर जानेछु ।

लेखा सहायक विष्णु लम्साल
निकै आनन्द भइरहेको छ । यो खुशीको कुनै सीमा छैन । निकै नतमस्तक छु ।

मिडिया अनुगमनकर्ता मदनकृष्ण सिलवाल
यो तालको नाम सुनेको थिएँ । देखेको थिएन । यो निकै आनन्ददायी लाग्यो । कञ्चन नदीले मन पनि कञ्चन गराइदिने विश्वास लिएको छु ।

मिडिया अनुगमनकर्ता कुशल अर्याल
लौ के भन्ने हो र ? यस्तो अन्त कहाँ पाइन्छ हजुर ? निकै खुशी छु । यतै बसौंजस्तो पो लाग्यो त । जेहोस मकवानपुर सुन्दर रहेछ । नआउनु हुनेहरूलाई एकपटक आउनै पर्छ भन्न चाहन्छु । अरु त हास्याँ छ, नाच्या छ, रमाइलो गरिया’छ यही त हो नि !

मिडिया अनुगमनकर्ता विनय बजगाईं
यहाँ सबै कुराहरू अर्गानिक छन् । एक यो पानी अर्गानिक हो । यो डुङ्गा पनि यहीको काठबाट बनेको हो । अन्य हामीले खाएको खाने कुहराहरू पनि अर्गानिक हो ।

मिडिया अनुगमनकर्ता प्रेमचन्द बडु
निकै रमाइलो भइरहेको छ । आनन्दित छु । यही हो ।

सवारी चालक शिव खड्का
यसरी डुङ्गा चढ्दा धेरै आनन्द आइरहेको छ । जीवनमा पहिलोपटक चढेको हो । आफूले गाडी चलाउनुभन्दा अरुले डुङ्गा चलाउँदा चढ्न मज्जा आयो । मैले आज सडक बिर्सेको छु । ट्राफिक पनि छैन । मापसे नि पर्दैन हा हा हा……….

डुङ्गा चालक सुरेन्द्र बलामी
हामीले पालैपालो प्रश्न गर्यौ ।
० कति वर्षको हुनुभयो ?
– २१ वर्ष ।
० यो व्यवस्था राम्रो छ ?
– एकदमै राम्रो छ । रोजगारीको अवसर सिर्जना भएको छ । हामी ४० जना चालक छौं ।
० यसमा महिलाहरू कति छन् नि ?
– धेरै छैन ।
० सुरुसुरुमा कस्तो भयो ? घरबाट दिनुभयो ?
– घरबाट त मान्नु भएको थिएन । जबरजस्ती यो काम गरेको हुँ । माच्छा मार्न पौडी खेल्न आइन्थ्यो । त्यसरी नै सिकियो नि ।
० ठूलो हावा लाग्यो भने के गर्ने ?
– केही नगर्ने । यहीं रोकेर राख्ने नचलाइकन ।
० तपाईंको बुवाहरूले पनि गर्नुभयो ?
– गर्नुभयो नि ।
० बिहे गर्नुभयो ?
– छैन नि ।
० लभ परेको छ कि नाई ?
– मलाई थाहा छैन त्यस्तो, रुखलाई किस गरेर भएन ।
० यहाँले अलिकति चिटिङ गर्नुभयो । अघि लभ नबुझ्ने फेरि ‘किस’ बुझ्नुभयो । यसरी डुङ्गा–शयर गर्दा कुनै युवती आउनुभएन ? यहाँको डुङ्गा चलाई पनि मान्छे पनि मनपर्यो भन्ने ?
– कति आउँछन्, आउँछन् नि आउन त ।
० भन्नाले यहाँलाई मन परेन ?
– हजुर, त्यस्तै भन्नुपर्यो ।
लौ अर्कोपटक आउँदा मेरो त बिहे नि भयो, बालबच्चा सबै भनेको देख्न सुन्न पाऊँ हजुर ।….
डुंगा शयर गर्दा हामीहरूबीच भएका रमाइला किस्साहरू ः
लौ यो त भालेपोथी डुङ्गा पो रहेछ ….हाहाहा
डुङ्गाको भालेपोथी कसरी ?
खालि जुध्छ त हाहाहा……..
लौ डुङ्गाको पनि भालेपोथी हँुदो रहेछ ।
हाहा त्यस्तो होइन ……
कति हाँसेको कुकुरको पुच्छर बाङ्गो देख्दा’ नि हाँस्ने ।
धेरै अर्गानिक भएछ कि के हो पेट पोलेको छ ।
सधैँ विकासे खाने गरेको भएर होला ।
मकवानपुरका मान्छे लोकल हुन् कि बोइलर
लोल हाहाहा……..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार