सहकारीका सदस्यलाई उत्पादनमा लगाउन मन्त्री अर्यालको आग्रह

  पहिलोपेज

 199 पटक हेरिएको

काठमाडौं, २० चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छन् । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीकर्मीहरुलाई त्यस्तो आग्रह गरेका हुन् ।

व्यवसायिक सहकारीलाई मन्त्रालयले प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरिन् । ‘सहकारीमार्फत हामीले मान्छेको जीवनस्तर सुधार्ने हो । तपाईहरु त्यसतर्फ लाग्नुस् । सहकारीमा आवद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायिक बनाउनुस् । उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस् ।’’

सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताइन् । अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको भन्दै उनले अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको उनको भनाइ थियो ।

मन्त्री अर्यालले अहिले भएका सहकारीको संख्यालाई आधाभन्दा कम गरिने बताइन् । ‘‘सहकारीको संख्या अहिले अत्यधिक छ । यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौ । अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडि बढेको छ ।’’ मन्त्री अर्यालले सहकारीहरु बढीभन्दा बढी गाउँकेन्द्रित हुनुपर्नेमा पनि जोड दिइन् ।

मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने उल्लेख गरिन् । सहकारीलाई उद्योगमा लगेर गरिबी न्यूनीकरणका निम्ति प्रमुख कार्य गरिने भन्दै उनले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताइन् । एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आधार सहकारी नै भएको दावी गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार