कर्णाली प्रदेश सरकारका संस्थापक सचिवको यसरी गरियो विदाई

  पहिलोपेज

 302 पटक हेरिएको

काठमाडौं, १४ चैत । कर्णाली प्रदेश सरकारका सचिव यज्ञराज बोहराको आज विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रशासन सचिवको रुपमा कार्यरत बोहराको गृह मन्त्रालयमा सरुवा भएपछि आज एक समारोहको आयोजना गरी उनको विदाई गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विदाई कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले माला, अविर तथा मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै प्रमुख सचिव थपलियाले सचिव बोहराको कार्यक्षमताले प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन ठूलो सहयोग पुगेको बताए । प्रमुख सचिव थपलियाले सचिव बोहराको आगामी कार्यक्षेत्र र कार्यकालको शुभकामना व्यक्त गरे ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बोहराले प्रदेश सरकार स्थापनाको शुरुवाती चरणमा भौतिक पूर्वाधार, कर्मचारी, तथा कार्यालय व्यवस्थापन चुनौतिपूर्ण रहेको स्मरण गरे । कर्मचारी र संरचनाको अभावका कारण शुरुमा टिप्पणी लेख्ने कागज र आफू बस्ने टेवलको व्यवस्था समेत आफैले गर्नुपरेको स्मरण गर्दै सचिव बोहराले अहिले सरकारका सबै संरचनाहरु व्यवस्थित बनिसकेको बताए ।

प्रदेश सरकार स्थापनाको अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सचिव बोहराले राजनीतिक परिवर्तनपछि बनेको प्रदेश सरकारको संस्थापक सचिवको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई गौरवको अनुभुति भएको उल्लेख गरे । प्रदेश सरकारका संरचना, कार्यालय तथा जनशक्ति व्यवस्थापनका लागि आफूलाई सहयोग गर्ने प्रदेश सरकारका पदाधिकारी तथा कर्मचारीलाई सचिव बोहराले धन्यवाद दिए ।

यस अघि ९ जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका बोहरालाई चैत्र ४ गतेको संघीय सरकारको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सरल र मृदुभाषी स्वभावका बोहराले निजामति सेवामा विवादरहित कुशल प्रशासकको छवि बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार