प्रधानमन्त्रीले किन दिए कार्यकर्ताहरुलाई पानी बन्न सुझाव ?

  पहिलोपेज

 396 पटक हेरिएको

काठमाडौं, १४ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट उपगुट नचल्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेकपाको ३ नं प्रदेश कमिटीका पदाधिकारीहरुको शपथग्रहण तथा प्रथम बैठकलाई आज सम्बोधन गदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेतृत्वले कसैलाई पनि काखा र पाखा नगर्ने स्पष्ट पारे । “दुई पार्टीको एकताको अर्थ यो हो कि हामीमा गुट उपगुट छैनन्”, प्रधानमन्त्री ओलीले भने, “हामी वैचारिक रुपमा स्पष्ट र सांगठनिक रुपमा बलियो पार्टी हौं । त्यसैले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नु हुँदैन । पार्टी कमजोर हुँदा नेताहरु कोही जेलमा थियौं, कोही भूमिगत अवस्थामा थियौं तर सबल हुँदा हामी सरकारमा छौं । त्यसकारण पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्दछ ।”

प्रधानमन्त्री ओलीले नेकपाको एकता भवितव्य नभएको बताए । उनले लामो बहस, छलफल र देशप्रतिको जिम्मेवारीका कारण पार्टी एकता सम्भव भएको बताए । “नेकपा भवितव्य भएर ठूलो पार्टी भएको होइन, पानी बर्षे जसरी बहुमत बर्षेको होइन”, प्रधानमन्त्री ओलीले थपे, “यसमा जनताको विश्वास, पार्टीको दृष्टिकोण र देश बनाउने प्रतिवद्धतालाई जनताले अनुमोदन गरेका हुन् ।”

वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको मात्र नभई कम्युनिष्ट पार्टीको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “विगतमा हामीले कम्युनिष्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं तर अहिले नेतत्व मात्र होइन सरकार नै कम्युनिष्ट पार्टीको छ । त्यस कारण हामीले चुनावमा गरेको प्रतिवद्धताअनुसार जनताको पक्षमा काम गर्छौं ।”


प्रधानमन्त्री ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान कार्यकर्ताहरुले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाव दिए । “पार्टी एकताका कारण कतिपय सक्षम नेता कार्यकर्ताहरुलाई पनि जिम्मेवारी दिन सकिएको छैन”, प्रधानमन्त्री ओलीले भने “पानीले आफ्नो आकार आफैं ग्रहण गरेजस्तै सक्षम कार्यकर्ताहरुले पार्टीमा आफ्नो स्थान आफैं बनाउनुहुनेछ । निराश नहुनुहोस् । कामलाई निरन्तरता दिनुहोस ।”

प्रधानमन्त्री ओलीले पार्टी एकताको काममा केही ढिलाइ भए पनि अब प्रतिक्षाको घडी सकिएको बताए । “पार्टी एकताका लागि केही बिलम्ब भएकै हो”, प्रधानमन्त्री ओलीले भने, “तर अब प्रतिक्षाको घडी सकिएको छ । चाँडै तल्ला तहका कमिटीको एकताले पनि पूर्णता पाउनेछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार