पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर

  पहिलोपेज

 319 पटक हेरिएको

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

विश्व पानी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनुपर्ने आवश्यकता औंल्याइन् । सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् ।

‘‘अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानवजीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं’’, मन्त्री मगरले भनिन्, ‘‘प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।’’

खानेपानीमा आम जनताको पहुँच पुराउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पुराउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भइरहेको जानकारी उनले दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन् ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता गणेश शाहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिँदा प्राथमिकतामा नपरेको उल्लेख गरे । ठूलाठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्वमन्त्री शाहले मानवजीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो पोखे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरुयोजनाहरु बनाउन सरकारलाई सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार