संविधान र संघीयताविरोधी गतिविधि निष्तेज पार्न सरकार दृढ : मन्त्री बिना मगर

  पहिलोपेज

 324 पटक हेरिएको

कञ्चनपुर, १ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताएकी छन् । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।

खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै लिन नहुने बताउँदै मन्त्री मगरले खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विकासको काम सँगसँगै सरकार खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उनले स्पष्ट पारिन् । मन्त्री मगरले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिए पनि त्यो समस्या छिटै समाधान हुने बताइन् ।

मन्त्री मगरले संविधान विरोधी र संघीयता असफल पार्न खोज्नेहरुका गतिविधि निष्तेज पार्न सरकार दृढ रहेको प्रष्ट पारिन् । उनले भनिन्, “यो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएकाले सरकार त्यसका लागि लागिरहेको छ । सरकारले केही काम नै गरेन भन्ने दुष्प्रचार भइरहेको छ । त्यस्तो होइन, सरकारले कानुन बनाउनुपर्ने, संघीयता कार्यान्वयन गर्नुपर्ने र विकासका कामहरु गर्नुपर्ने भएकाले तत्काल नदेखिएको हुनसक्छ तर सरकारले एक वर्षमा धेरै काम गरेको छ ।’’ मन्त्री मगरले सरकारका कामकारवाही रफ्तारमा अघि बढिरहेको स्पष्ट पारिन् ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताए । बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बेलौरी नगर शुरुवाती चरणमा रहेकाले नगरमा कार्य गर्न धेरै रहेको उल्लेख गरे । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा बेलौरी नगरले चाहेर पनि विकास निर्माणका कार्यहरू गर्न नसकिरहेको नगर प्रमुख चौधरीको भनाई थियो ।

प्रतियोगिता उदघाटन कार्यक्रम शुरु हुनुभन्दा पहिले खानेपानी मन्त्री मगरलाई क्लबद्वारा स्वागत गरिएको थियोे । चैत १ गतेबाट शुरु भएको फुटबल प्रतियोगिता चैत्र ११ गते सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार