दाङ जिल्लास्तरीय बडी विल्डिङ च्याम्पियनसिप हुने

  पहिलोपेज

 566 पटक हेरिएको

दाङ, १६ फागुन । दाङको तुलसीपुरमा प्रथम जिल्लास्तरीय बडी विल्डिङ च्याम्पियनसिप (मिस्टर दाङ) हुने भएको छ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ र फेन्स् फिट्नेस सेन्टर तुलसीपुरको संयुक्त आयोजनामा प्रतियोगिता यही फागुन १८ गते तुलसीपुरस्थित वि.एस.एस. पार्टी प्यालेसमा शनिवार हुनेछ ।

स्वास्थ्य र शारीरिक सौन्दर्यतासँग प्रत्यक्ष जोडिएको शारीरिक सुगठनको खेलको पहुँच अभिवृद्धि गर्ने र स्थानीयस्तरका नव प्रतिभाहरुलाई शारीरिक सुगठन खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापित फिट्नेस सेन्टरहरुबाट ३५ बढी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष खिम जीएमले जानकारी दिएका छन् ।

५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ प्लस गरी ६ वटा तौल समूहमा कडा प्रतिस्पर्धा हुने प्रतियोगितामा मिस्टर दाङ अर्थात अलओभर च्याम्पियन, बेस्ट पोजर, राइजिङ प्लेयर, प्रत्येक तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । सो अवसरमा प्रतियोगिताको थप आर्कषणको रुपमा महिला शारीरिक सुगठनको डेमो प्रदर्शन तथा जुम्बा डान्स प्रदर्शन गरिने छ ।

प्रतियोगिताको मुख्य निर्णायकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रमुख निर्णायक प्रतापकाजी बरिया, सहायक निर्णायकमा अनिललाल श्रेष्ठ र शिवध्वज राई दाङ आउने कार्यक्रम रहेको छ । यसैबीच आयोजक दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष आशीषकुमार श्रेष्ठले यही फागुन १८ गते शनिवार बिहान साढे ११ बजेदेखि सुरु हुने प्रथम जिल्लास्तरीय बडी विल्डिङ च्याम्पियनसिप (मिस्टर दाङ) को उद्घाटन समारोहमा खेलप्रेमी, खेलाडी, उद्योगी, व्यवसायी, पत्रकार लगायत सबैमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार