रुस्लान डिपिएलः धनगढीको तेस्रो हार, प्ले अफ सम्भावना कमजोर [फोटोफिचर]

काठमाडौं पनि दुई जितपछि अंकतालिकाको दोस्रो स्थानमा, महेन्द्रनगर पनि समस्यामा

  पहिलोपेज

 479 पटक हेरिएको

धनगढी, २ फागुन । धनगढी स्टार्सले रुस्लान तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा विराटनगर किंग्ससंग २१ रनले पराजित हुँदै धनगढीले तेस्रो हार व्यहोरको हो । यो हारपछि धनगढकीको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । अहिलेसम्म धनगढी अंक विहीन हुँदै अंक तालिकाको पुछारमा रहेको छ । अव धनगढी स्टार्सले दुई खेल खेल्न बाँकी छ ।

फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०३ रन बनायो । विराटनगरका अभिनास यादवले सर्वाधिक २७ रन जोड्दा कप्तान करण केसीले २१ रन बनाए । यस्तै आसिफ शेखले १२ रन जोड्दा संसद शेख ११ रनमा आउट भए । धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले ३-३ विकेट लिए । सोमपालले ३ ओभरमा ८ रन खर्चिए भने विपिनले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिए । रोवीन क्षेत्रीले २ विकेट लिए ।

१०४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको सोमपाल कामीको धनगढी १९ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । धनगढीका लागि सन्दीप रजालीले सर्वाधिक ३४ तथा राजु रिजालले १५ रन जोडे । अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । धनगढीलाई सस्तैमा समेट्न विराटनगरका अभिनास यादवले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । यस्तै कप्तान करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए । सुसन भारीको नाममा २ विकेट रह्यो ।

यो हारसंगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा काठमाडौं र दोस्रोमा अत्तरियासंग पराजित धनगढी पुछारमा रहेको छ । अब धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ । यस्तै अन्य खेलको नतिजामा समेत भर पर्नु पर्ने भएको छ । विराटनगरको भने यो पहिलो जित हो । जितसंगै विराटनगरले २ खेलबाट २ अंक जोडेको छ । विराटनगर चौथो स्थानमा छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसंग ५ विकेटले पराजित भएको थियो ।

यस्तै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराएर काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनायो । काठमाडौंको उच्च स्कोरमा अंकित दबासले अविजित रहदै ६५ रनको अर्धशतकीय पारी खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै योगेन्द्र सिंह कार्की २२ रनमा अविजित रहे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा महेबुब आलमले १३ रन जोडे । सोनु तामाङ र गौरव तमोर १÷१ रनमा पेभेलियन फर्कदा अनिल कुमार साहले ६ रन बनाए । महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १÷१ विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको शरद भेषावकरको महेन्द्रनगरले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै कप्तान शरद भेषवाकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । आनन्द सुब्रमन्यु १५ र रोहित कुमार पौडेलले १० रन बनाएर आउट भए । काठमाडौंका राशिद खानले ३ तथा अंकित दवासले २ विकेट लिए ।

जितसंगै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो । महेन्द्रनगरको भने यो लगातार दोस्रो हार हो । महेन्द्रनगर पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससंग २ रनले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेपछि महेन्द्रनगरलाई प्ले अफमा पुग्न बाँकी खेल जित्नै पर्ने दबाब बढेको छ । अंक विहीन महेन्द्रनगर पाँचौ स्थानमा छ ।

लिग अन्र्तगत भोलि पनि दुई खेल हुनेछन । पहिलो खेलमा प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछन् । यो प्रस्तावित ड्रिम फाप्ला अन्तराष्ट्रिय मैदान हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार