सम्झनामा माघ १९

  विष्णु निष्ठुरी

 389 पटक हेरिएको

तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को शाही कूपछि तैं चूप, मै चूपको स्थिति सिर्जना भयो । नेपाल पत्रकार महासंघ त्यस्तो संस्था थियो जसले पहिलोपटक ज्ञानेन्द्रको कदमलाई शाही कूको संज्ञा दिँदै त्यसका विरुद्ध सडकमा ओर्लियो । कतिपयले ७ राजनीतिक दलपछि महासंघलाई आठौं दल पनि भनेका थिए । महासंघका तत्कालीन महासचिव विष्णु निष्ठुरीलाई सेनाले पक्राउ गरी २२ दिन थुनेको थियो । उनलाई ठूलो दवावले गर्दा २२ दिनपछि थुनामुक्त गरेको थियो । प्रस्तुत छ, उनै तत्कालीन महासचिव विष्णु निष्ठुरीको संस्मरण । हामीले यो आलेख नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको मुखपत्र पत्रकारिताबाट साभार गरेका हौं ।

तत्कालीन राजा ज्ञानेन्द्रले नागरिक अधिकारविरुद्ध ‘कू’ गरे १९ माघ २०६१ मा । यसअघि असोज १८ पछि पाँच दलले प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखी जारी राखेको विरोध कार्यक्रमहरु पनि रोकियो । नेताहरु कोही नजरबन्दमा परे, कोही भने भूमिगत भए । शाही ‘कू’को विरोध गर्ने कोही भएनन् ।

त्यसपछि पेशागत संगठनहरुमा नेपाल पत्रकार महासंघले नै जोखिम उठायो र प्रेसविरुद्ध लगाइएका सबै बन्देज हटाउन माग गर्दै विरोध कार्यक्रमहरु सुरु गर्यो । वातावरण सकारात्मक बन्दै गएपछि बिस्तारै अरु क्षेत्र र निकै पछि राजनीतिक दलहरु पनि आन्दोलनमा सहभागी भए । अन्ततः
आन्दोलनको नेतृत्व दलहरुले गरे, सफल पनि भयो, परिणाम हामीसमक्ष छँदैछ । २०६२÷६३ को जनआन्दोलन हुँदा म नेपाल पत्रकार महासंघको सभापति थिएँ । ‘कू’ भएका बेला म महासंघको
महासचिव थिएँ ।

आन्दोलनका क्रममा कतिपयले आमसञ्चारकर्मीहरुलाई आठौं दलको संज्ञा पनि दिएका थिए । २०६२ चैत २४ बाट शुरु भएको आन्दोलन २०६३ वैशाख ११ गतेसम्म चलेको थियो । अहिले नेपालले प्राप्त गरेका सबै राजनीतिक उपलव्धिको जग जनआन्दोलन नै हो ।

इतिहासकै कालो दिनका रुपमा २०६१ माघ १९ दर्ज हुनपुग्यो, जुन दिन राजाले जनतामा निहित रहेको अधिकार खोसेर निरंकुशता लादेका थिए । राजाले मुलुकमा ‘कू’ को घोषणा गरेलगत्तै सबै
फोनहरु ‘सिज’ गरियो । तत्कालै सबै सञ्चारमाध्यमहरुमा पुगें । कान्तिपुर पुग्दा त्यहाँ सेना तैनाथ भएर बसेको थियो । साथीहरु त्रसित थिए । उनीहरुको व्यवहार निकै फरक खालको थियो । सेनाको अगाडि डरले भयभित हुँदै काम गरिरहेका थिए । त्यसपछि म नेपाल पत्रकार महासंघको कार्यालय परिसर पुगें । त्यहाँ पनि कोही भेटिएनन् । सबैतिर सुनसान थियो । मानिसहरु बासस्थानबाट बाहिर निस्कन आँट गरिरहेका थिएनन् ।

सबै सञ्चारमाध्यममा सेना उपस्थित थियो । पत्रकार रहनुपर्ने ठाउँमा सेना उभिएर समाचारमाथि सेन्सर गरिरहेको थियो ‘यो राख्ने, त्यो नराख्ने’ भन्दै । टेलिभिजनहरुमा ‘कुन दृश्य देखाउने कुन नदेखाउने’ भन्दै तैनाथ सेनाको टोलीले पत्रकार साथीहरुमाथि जबर्जस्त आदेश बर्षाउँदै थियो । रिपोर्टस क्लब पुग्दा त्यहाँ धेरै मानिसहरु भेला भएका थिए । केही पत्रकार थिए भने
अधिकांश सरकारी गुप्तचर थिए ।

उनीहरुले ‘कू’का बारेमा मलाई बोल्न आग्रह गरे । क्लब पुग्नुअघि सञ्चारमाध्यम घुम्दा
देखिएका दृश्यहरुले मेरो आक्रोशको सीमा नाघिसकेकाले मैले त्यो फोरममा उभिएर भनिदिएँ ‘राजाले नागरिक अधिकार विरुद्धमा ‘कू’ गरे । मिडियामा सेना पठाए । यो ज्यादति हो । यहाँ दरबारका सुराकी कोही हुनुहुन्छ भने दरबारमा खबर पु¥याइदिनू राजाले गलत काम गरे ।’

तर मैले त्यहाँ बोलेका कुरा मिडियामा आउने कुनै सम्भावना नै थिएन । किनकि सबै सञ्चारमाध्यमको डेस्कमा सेना बसेर समाचार सेन्सर गरिरहेको हुन्थ्यो । मैले बोलेका कुरालाई प्रकाशन वा प्रसारण गर्न दिने कुरै भएन ।

१९ गते त्यत्तिकै बित्यो । महासंघका सभापति तारानाथ दाहाललाई सम्पर्क गर्न खोजिरहेको थिएँ । तर उहाँसँग सम्पर्क हुन सकिरहेको थिएन । २० गते पनि सम्पर्क हुन सकेन । मिडिया, पत्रकारमात्र होइन सबैतिर त्रास थियो । मानिस एकै ठाउँ भेला भएर बस्न डराउँथे । बाहिर चारैतिर सेनाको बटालियन घुमेरहेको हुन्थ्यो । २१ गते बल्ल–तल्ल उपलब्ध भएका केही साथीहरु जम्मा भएर छलफल ग¥यौं र तत्कालीन शाही कदमलाई नागरिक अधिकारविरुद्धको ‘कू’ भन्ने शब्द राखेर वक्तव्य निकाल्यौं । हाम्रो वक्तब्यलाई बीबीसीले पूर्णरुपमा प्रकाशन प्रसारण ग¥यो । त्यतिबेलासम्म राजनीतिक दलहरुले पनि नागरिक अधिकारविरुद्धको ‘कू’ शब्द प्रयोग गर्ने आँट गरिरहेका थिएनन् । बरु, नेपाल बार एसोसिएसनले हाम्रो वक्तव्यको समर्थन गर्दै सोही आशयमा रहेर शाही ‘कू विरुद्ध धारणा सार्वजनिक गर्यो ।

त्यसपछि क्रमशः विभिन्न राजनीतिक दलहरुले विरोध वक्तव्य जारी गर्न थाले । २२ गतेको कुरा हो, म महासंघमा थिएँ । भारतीय टेलिभिजन च्यानलले एयरपोर्टबाट सिधा आएर मसँग कुरा गरे । उनीहरुसँग पनि मैले राजाले मूर्खतापूर्ण काम गरेको भनेर कडा प्रतिक्रिया दिएँ, जुन त्यतिबेलाको समयमा कल्पनासम्म पनि गर्न सकिँदैन थियो । त्यो समयमा त्यति बोल्नु पनि राजालाई ठूलै गाली गरेको ठहरिन्थ्यो, ठूलै जोखिम उठाएको थिएँ मैले त्यस्तो प्रतिक्रिया दिएर ।

त्यसैदिन बेलुका म खाना खाएर सुत्न लागेको थिएँ । केही मान्छे आएर ‘विष्णु दाइ’ भनेर बोलाए । रातको १० बजेको थियो । मैले रेस्पोन्स गरें, कोठामै बोलाएँ । उनीहरु आए । केही मिनेट नबस्दै माथिबाट आदेश भएकाले मलाई गिरफ्तार गर्न आएको कुरा बताए । छोरो त्यतिबेला एसएलसीको तयारी गर्दै थियो । होस्टलबाट एकरात बस्न शुक्रबार घर आएको थियो । मैले यिनीहरु मलाई नलिई फर्किँदैनन् भन्ने प्रष्ट भएपछि छोरा र श्रीमतीलाई सम्झाएँ, ‘तिमीहरु नआत्तिई बस्नू । मलाई केही
हुँदैन ।’

मैले उनीहरुसँग एकपटक भनिहेरें ‘मलाई आज परिवारसँग बस्न देऊ, भोलि गिरफ्तार गर । म भागेर कतै जाने मान्छे होइन । दिउँसो पत्रकार महासंघमा बस्छु । साँझ घरमा आउँछु । जहाँबाट जतिबेला लगेपनि भैगो’ भने । तर उनीहरुले मलाई लिएरै आउनू भन्ने आदेश भएकाले छाड्न मिल्दैन भनेर अड्डी कसे । अनि म कपडा लाएर उनीहरुसँग जान तयार भएँ । दुई प्यारा मानिसहरुलाई अभिभावकविहीन बनाएर ।

उनीहरुले तल ओर्लनेबित्तिकै मेरो आँखामा कपडाले बाँधे । कतै नदेखिनेगरी अनि कारमा हाले । म बीचमा बसें । उनीहरु सांकेतिक भाषामा कुरा गर्थे । सञ्चार सेट एकदम सक्रिय थियो जताजतै । त्यसपछि मलाई करिब ६ घण्टा गाडीमा घुमाए । कताकता लगे ? पत्तै भएन । मध्यरातमा सेनाको ब्यारेकमा लगेछन् । अलिअलि देखें आँखाको चेपबाट । त्यसपछि आर्मीको कम्बल ओछ्याएको ठाउँमा लगेर बस्न भनें । राति अबेर भइसकेको थियो । यहीं सुत्न भने तर निद्रा लागेन ।

भोलिपल्ट २३ गते बिहान मलाई भुइँतलामा ओराल्यो र एउटा हलजस्तो ठाउँमा बस्न भन्यो । त्यहाँ मबाहेक अरु कोही पनि थिएन । १० बजेतिर एकजना सैनिक आएर मेरो बारेमा सोधुपुछ गरिसकेपछि ‘हजुरलाई राम्रोसँग राख्नू’ भन्ने आदेश छ भनेर निस्किए । केही छिनपछि अर्को सैनिक आएर कुनातर्फ फर्कन आग्रह गर्दै पट्टी खोलिदिए । तल हेर्दा आलु, पहेंलो दाल, भात, अचार भएको एउटै थाल थियो । मलाई अपमान गरेझैं लाग्यो अनि मैले यस्तो खाना त म खाँदिन भनिदिएँ । ती जवानले तत्कालै त्यो खाना उठाएर फिर्ता लिएर गए । अनि त्यहाँ कोही पनि पसेनन् ।

दिउँसो त्यस्तै १२–१ बजेतिर सेनाका क्याप्टेन आएर कड्किएर भने– तपाईंले त महाराजका कदमका विरुद्धमा वक्तव्य निकाल्नुभएछ । यो त आपत्तिजनक व्यवहार भयो नि । मैले पनि उनलाई भनिदिएँ– मैले त आफ्नो पेशाको स्वतन्त्रता र त्यसको रक्षाको पो चर्चा गरेको थिएँ । यो कुरा कसलाई आपत्तिजनक लाग्यो ? कसलाई लागेन ? थाहा भएन । मेरो भनाई नसकिँदै उनले कड्किँदै मलाई बाहिर आउनोस् । धेरै बहस गर्ने होइन भनेर आँगनमा निकाले । उनको मुखबाट रक्सीको बासी भद्दा गन्ध आइरहेको थियो ।

त्यसपछि फेरि मेरो आँखामा पट्टी बाँधियो अलि पर नीलो भ्यान उभिएको धमिलो दृश्य देखें, सोचें अन्तै लगेर जेलमा राख्ने भएछन् । भ्यानमा चढें । भ्यान त्यहीं वरिपरि तीन फन्को घुमाए । शायद मैले राति बसेको ठाउँ थाहा पाउन नसकँु भन्ने उनीहरुको प्रयास थियो होला । तर एकजना प्रहरीले त्यही दिन अपरान्ह कुरा खुस्काइहाले । मलाई भद्रकाली ब्यारेकमा राखिएको रहेछ । बिहान मन्दिरमा बेस्सरी घण्टी बजेको थियो तर मैले त्यति अन्दाज गर्न सकेको थिएन ।

मलाई सिंहदरबार वडा प्रहरी कार्यालयको एउटा सिंगो हिरासतमा लगेर राखियो । त्यहाँ पुग्दा अर्को कोठामा बीस–तीस जना विद्यार्थीहरुलाई एउटै कोठामा कोचेर राखिएको थियो । माघको जाडो लुगाफाटो केही थिएन । त्यसपछि करिब ६ दिनसम्म त्यही राखियो । परिवारलाई म कहाँ छु भन्ने कुरा अत्तोपत्तो थाहा थिएन । बाहिर के भएछ भने, बरिष्ठ अधिवक्ता शम्भु थापाको पहलमा बार एशोसिएसनले नै मेरो रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको रहेछ । थापा बारको अध्यक्ष हुनुहुन्थ्यो । त्यही बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघको
स्पेशल मिसन आयो । उनीहरुले सेनाप्रमुख, सभामुख, सञ्चारमन्त्री, गृहमन्त्री लगायतकासँग भेट गरेर मेरा बारेमा कुरा गरेछन् । त्यसबेला मेरा कारणले राज्य संयन्त्रहरुमा ठूलै तनाव भएछ । त्यसपछि छैठौं दिन मलाई परिवारसँग भेट गर्न दिइयो । बाइस दिनपछि मलाई थुनामुक्त गरियो ।

महासंघको महाधिवेशन आइरहेको थियो । मलाई महासंघको नेतृत्व गर्न देशभरिका साथीहरुबाट ठूलै दवाव थियो । अनेक दृश्य अदृश्य छलछाम र अवरोधहरु सिर्जना गरियो मलाई सभापति पदमा निर्वाचन लड्न नदिन । तर मैले सभापतिमा उमेदवारी दिएँ अनि उल्लेख्य मत पाएर जितें पनि । त्यसपछि विभिन्न दलका नेता, महासंघका पदाधिकारी, पत्रकार साथीहरु, पेशागत संगठनका पदाधिकारीहरुसँग निरन्तर छलफल गरी शाही ‘कू’ विरुद्ध सशक्त आन्दोलनमा जाने निर्णय गरियो । त्यसपछि हरेक दिन प्रेसको जुलुस निस्कन थाल्यो । फोनहरु खुल्न थाले, एसएमएस गरेकै भरमा जिल्ला जिल्लामा आन्दोलनहरु भए । अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक पत्रकार महासंघ बलियो गरी स्थापित भयो । त्यो आन्दोलनको उपलब्धि थियो ।

आन्दोलन सशक्त बनाउन राजनीतिक दलहरु पनि भेट्यौं र सबै पार्टीको जुलुस निकाल्नुपर्छ भन्यौं । त्यसै क्रममा हामीले सात दलका नेतालाई अगाडि बसाएर स्रोता बनाएर पनि बानेश्वरमा विरोध सभा ग¥यौं । त्यो कार्यक्रम गर्दा वानेश्वर क्षेत्र पूरै भरिएको थियो । पछि अन्य दल र माओवादी बीचमा पनि छलफल भयो । पार्टीहरुलाई जोड्ने काममा हाम्रो प्रदर्शनले ठूलो काम ग¥यो । १९ दिने जनआन्दोलनमा पनि हामीले उत्तिकै सशक्त प्रदर्शन ग¥यौं ।

त्यतिबेला हामी सबैको माग, शान्ति स्थापना र हिंसाको अन्त्य नै थियो । अनाहकमा मानिस मारिनु हुँदैन भन्ने नै थियो । माओवादी आफ्नो एजेण्डा स्थापित गर्नका लागि हिंसामा उत्रिएको थियो । समाजका बौद्धिक वर्गलाई माओवादीले आक्रमण गरेको थियो । अर्कोतिर, राजा सञ्चार बन्द गर्न खोज्थें, राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाएको थियो । जानेर, नजानेर त्यतिबेला दुईवटा शक्तिले देशलाई बन्दीगृहजस्तो बनाएका थिए ।

जनताका अधिकार स्थापित गर्न भएको २०६२÷०६३ को आन्दोलनले ती सबै आकांक्षा पूरा पनि गरायो । शान्ति बहालीको एजेण्डा पूरा त भयो । तर धर्मनिरपेक्षता भन्ने कुरा मैले जनआन्दोलनका बेला कहींकतै पनि सुनेको थिइन । यो कहाँबाट कसरी अचानक आयो ? केही पनि थाहा छैन । गणतन्त्र पनि त्यो बेला टाढाको कुरा थियो । १२ बुँदे सम्झौतामा पनि ‘निरंकुश राजतन्त्रका विरुद्धमा’ भन्ने उल्लेख थियो, त्यो भनेको निरंकुशता हट्यो भने राजतन्त्र पनि स्वीकार्य छ भन्न खोजेको कुरा न हो ।

जनआन्दोलनपछिका वर्ष
त्यसपछिका वर्षहरु हाम्रा राजनीतिक दलहरुका असक्षमता, अदूरदर्शिता, अकर्मण्यताका कारण हामी अरुका एजेण्डा पूरा गर्ने भरौटे हुन पुग्यौं । जस्तै, धर्म निरपेक्षताको एजेण्डा छलछाम गरेर पछि आएको हो । किन ल्याएको ? जुन देशले वर्षौंदेखि इस्लाम धर्म मान्ने बन्धुहरुलाई सरकारी खर्चबाट मक्कामदिना पठाउँछ, सामाजिक रुपमा यति सहिष्णु मुलुकमा धर्म निरपेक्षताको के आवश्यकता थियो ? यो नेपालीलाई नै प्रयोग गरेर भएको अन्तर्राष्ट्रिय षड्यन्त्र हो तर एक न एक दिन यसको पर्दाफास अवश्य होला ।

दश वर्षमा हाम्रो सामाजिक एकता धेरै खल्बलिएको पाएको छु । त्यसमा मुख्य कारक विदेशी एजेण्डा नै हुन् र त्यो हुनुका कारण हाम्रा दलका नेताहरु हुन् । जनआन्दोलनको सफलतापछि पनि नेपालमा निकै ठूलो काटमारको श्रृङ्खला मच्चाउने पक्षमा थिए तर, त्यसो गर्न सकेनन् । २०६३ मै पनि मधेश आन्दोलन हामीले देख्यौं । संविधान जारी भएपछि पनि मधेशमा हिंसा भड्काउन खोजियो । तर, हिंसा भड्काउने उनीहरुको उद्देश्य पूरा हुन सकेन । किनभने, नेपाली समाजमा कोही पनि अर्काको विरुद्ध खुकुरी उध्याउन तयार हुँदैन । मधेश र पहाडमा फाटो ल्याउने प्रयास गरिएको थियो, त्यो पनि भएन ।

(कुराकानीमा आधारित । निष्ठुरी नेपाल पत्रकार महासंघका पूर्वसभापति हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार