क्यान्सरका बिरामीलाई हेर्ने नजर बदल्न र आत्मबल दह्रो बनाउन मन्त्री मगरको आग्रह

  पहिलोपेज

 844 पटक हेरिएको

भक्तपुर, २८ पुस । खानेपानी मन्त्री बिना मगरले घरपरिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी छन् । भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर घर परिवारले परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले रोगसँग लड्नका लागि आत्मबल बलियो बनाउन आग्रह गरिन् । ‘‘जब आत्मबल कमजोर हुन्छ अनि हामी बिरामी पर्छौं । त्यसैले क्यान्सर भएका बिरामीहरुलाई आग्रह गर्छु कि आत्मबल दरो बनाई गाउँ समाजमा सान्त्वना दिनु होला ।’’

क्यान्सरलाई भयावहरूपमा होइन कि सामान्यीकरण गर्नुपर्ने मन्त्री मगरले आवश्यकता औंल्याइन् । गाउँ र टोलटोलमा क्यान्सरबारे चेतना जागृत गराउन पनि उनले आग्रह गरिन् । भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानीको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।

मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुनदेवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उदघाटन समेत गरेकी थिइन् । शुद्धीकरणसहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो । कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुराउने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो ।

यसैबीच, क्यान्सर पीडितहरुले मन्त्री मगरसँग भेटघाट गर्दै सरकारले योग्यता अनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने माग राखेका थिए । उनीहरूको माग सुनेपछि मन्त्री मगरले सरकारको तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार