शव नेपाल पठाएको दुई सातापछि रकम भुक्तानी

  उमेश बन्जाडे

 682 पटक हेरिएको

मलेसिया (क्वालालम्पुर), २६ पुस । केही दिनअघि मलेसियामा निधन भएका एक युवकको शवलाई नेपाल पठाएबापतको रकम बिहीवार भुक्तानी गरिएको छ । पाँच वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका ८ अरेसका नरबहादुर पुनको शव नेपाल पठाएबापत लागेको रकम सम्बन्धित निकायलाई बिहीवार भुक्तानी गरिएको हो ।

मलेसियामै कार्यरत नेपाली एवं बंगलादेशी मजदुरको आर्थिक सहयोगमा रकम संकलन भएको थियो । मृतक पुन नेपालबाट आएको कम्पनीमा सम्झौता बमोजिम तलब सुविधा नपाएपछि अवैधानिक रुपमा काम गर्दै आएका थिए । अवैधानिक रुपमै कार्यरत रहेका बेला गत डिसेम्बर २२ मा उनको अकस्मात निधन भएको थियो ।

मलेसियामा अवैधानिक मजदूरमाथि आइपर्ने समस्याप्रति रोजगारदाता कम्पनी जवाफदेही नहुने हुँदा समस्या उत्पन्न भएको थियो । मृतक पुनका आफन्त नजिकमा नहुँदा शव अलपत्र जस्तै रहने र स्थानीयले अन्यत्रै फालिदिने चेतावनी दिएपछि त्यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुको सक्रियतामा शव नेपाल पठाउँदा लाग्ने खर्च बेहोर्ने प्रतिबद्धतापछि एकजना स्थानीय नागरिकको जिम्मेवारीमा शव नेपाल पठाइएको थियो । शव दुई साताअघि नै नेपाल पठाइएको थियो । लागत रकम १ लाख ३ हजार ८ सय ४२ नेपाली रुपैयाँ बिहीवार मात्रै भुक्तानी गरिएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका सचिव अर्जुन घर्ती मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार