शान्ति समाजलाई पनि मन्त्री रविन्द्र अधिकारी बर्खास्त भएको हेर्ने रहर

  पहिलोपेज

 647 पटक हेरिएको

काठमाडौं, २६ पुस । मानवअधिकार तथा शान्ति समाजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले एक विज्ञप्ति जारी गरी डा. गोविन्द केसीसँग भएका सहमतिहरु कार्यान्वयन हुनुपर्ने पनि माग दोहोराएका छन् ।

‘‘नागरिक अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका विषयमा केन्द्रीत रही २०७५ पुस २५ गते इलाममा आमरण अनसन थालेकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ’’, विज्ञप्तिमा भनिएको छ, ‘‘डा. केसीले विगतमा पनि यिनै विषयमा केन्द्रीत रही १५ पटक सत्याग्रह गर्नुभएको र पटकपटक सरकारले सहमति पनि गरेको पृष्ठभूमिमा सरकारको छलकपट र उदासीनताका कारण डा. केसी पुनः आमरण अनसन बस्नुपर्ने परिस्थिति उत्पन्न हुनु दुःखद छ ।’’ डा. केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गरी डा. केसीको सत्याग्रहलाई शीघ्र निकास दिन पनि शान्ति समाजले सरकारसँग आग्रह गरेको छ ।

यसैगरी वाइड बडी जहाज खरिद प्रकरणमा भएको अरबौं रुपैँया अनियमितता र भ्रष्टाचारका घटनाका सन्दर्भमा घटनाको गहिराईमा पुगी मूल दोषीहरुलाई समेत कानुनी कारबाही गर्न शान्ति समाजले जोडदार आग्रह गरेको छ । संसदीय समितिमा झुठ बोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शान्ति समाजले आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार