श्रम तथा रोजगार कार्यालय स्थापनाको दुई सातामै सेवाग्राहीलाई सास्ती

  निरंजन साह

 856 पटक हेरिएको

जनकपुरधाम, २४ पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा श्रम स्वीकृतिका लागि सहज हुने उद्देश्यले श्रम तथा रोजगार कार्यालय स्थापना भएको दुई साता नबित्दै सेवाग्राहीहरुले सास्ती पाउन थालेका छन् ।

वैदेशिक रोजगारीमा जानेहरुलाई सहजरुपमा श्रम स्वीकृति प्रदान गर्ने उद्देश्यले प्रदेश नम्बर दुईको राजधानी जनकपुरमै गत पुस १५ गते श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो । यसले प्रदेशको राजधानीबाटै पहिलो चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने काम शुरु भएको हो । तर, सहजरुपमै सेवा पाइएला भन्दै खुशी हुनेहरु कार्यालयमा समयमै काम नहुँदा निराश भएका हुन् ।

जनकपुरको क्याम्पसचौक र मुरलीचोकको बीचमा पश्चिमतर्फ रहेको श्रम तथा रोजगार कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । आफ्नै प्रदेश राजधानीबाट छिटो एकदिन अथवा दुई दिनमै पुनः श्रम स्वीकृति पाइएला भन्ने आशा लिएर आएको तर ३÷४ दिनमा समेत काम नहुँदा सास्ती भोग्नु परेको मलेसिया वैदेशिक रोजगारमा जान कार्यालयमा पुनः श्रम स्वीकृति लिन आएका एकजनाले बताए ।

ठूलो लाइनमा लाग्नुपरेकोमा दुखेसो पोख्दै उनले भने, ‘यहाँ कार्यालय स्थापना भएपछि छिटो, सस्तो र एकदिनमै काम हुन्छ भनेर आएँ । तर तीन दिन बित्दा समेत काम भएका छैन । यसले काठमाडौं जानु र जनकपुर आउनुमा केही फरक नरहेको उनले बताए । नजिकमै कार्यालय स्थापना भएपनि छिटो, सस्तो र स्वच्छ तरिकाले काम नभएकाले काठमाडौंकै जस्तो दुःख भोग्नु परेको सेवाग्राहीहरुले गुनासो गरे ।

स्थापना भएकै दिनदेखि कार्यालयमा पुनः श्रम स्वीकृतिको काम गराउन सेवाग्राहीको भीडभाड लाग्ने गरेको छ । दैनिक अढाई सयभन्दा बढी सेवाग्राही आएपनि कार्यालयबाट एउटा मात्र काउण्टरबाट सेवा प्रदान गर्ने गरिएकाले दैनिक करिब १ सय जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने गरिएको कार्यालयका निमित्त प्रमुख मनोज यादवले बताए ।

सेवाग्राहीको तुलनामा कम्तिमा दुईवटा काउण्टर सञ्चालन गरिए मात्र सहज सेवा प्रदान गर्न सकिने निमित प्रमुख यादवको तर्क छ । ‘कार्यालय स्थापना भएकै दिनदेखि सेवाग्राहीहरुको घुइँचो लाग्ने गरेको हो । मात्र ८÷९ जना कर्मचारी छन्, त्यसैले एउटा काउण्टर मात्र सञ्चालन गरिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार